Comments Add Comment

वडाध्यक्षहरुको गुनासो : भ्रष्टाचार कर्मचारीले गर्छन्, बदनाम हामी भयौं

११ चैत, सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांकले देखाउँछ कि स्थानीय तहमा भ्रष्टाचार बढ्दो छ । तर, सप्तरी सदरमुकाम राजविराजमा भेला भएका जिल्लाका वडा अध्यक्षहरुले भ्रष्टाचार कर्मचारीहरुले गर्ने भन्दै पन्छिएका छन् ।

वडाध्यक्षहरुलाई चेकमा हस्ताक्षर गर्ने अधिकार नभएको र सामान खरीद र योजनामा समेत सचिवहरुकै संलग्नता रहेकाले आफूहरुमाथि भ्रष्टाचारको आरोप लगाउनु न्यायसंगत नभएको बताए ।

‘भ्रष्टाचार गर्ने निकाय पहिला संघीय सरकार, दोस्रोमा प्रदेश सरकार र तेस्रोमा स्थानीय सरकार हो’ अधिकांश वडाध्यक्षको दाबी छ, ‘हामीलाई जनताको कामबाटै फुर्सद छैन । हामीले भ्रष्टाचार गरेका छैनौं ।’

अख्तियारको इटहरी कार्यालयले आयोजना गरेको अन्तरक्रियामा सप्तरीका १६३ वटै वडाका अध्यक्षलाई बोलाइएको थियो । अधिकांशले कर्मचारीले भ्रष्टाचार गर्ने गरेको तर, बदनाम आफूहरु भएको बताए । तिरहुत गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रमानन्द चौधरीले स्थानीय तहमा बजेट चलाउनेहरुले भ्रष्टाचार गरिरहेको बताए ।

राजगढ गाउँपालिका २ का अध्यक्ष गणेशप्रसाद सिंहले गाउँपालिकाले समयमा योजना नपार्ने गरेको र पारे पनि समयमा बजेट नदिँदा आफूहरुलाई काम गर्न समस्या भइरहेको सुनाए ।

सीडीओकै अगाडि घुसको कुरा

वडाध्यक्षहरुले सबैभन्दा बढी जिल्ला प्रशासन कार्यालयमा भ्रष्टाचार हुने गरेको सुनाए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसमेत सहभागी रहेको कार्यक्रममा बोल्दै वडाध्यक्षहरुले आफूहरुले नागरिकता बनाउनका लागि सिफारिस गरिदिए पनि जिल्ला प्रशासन कार्यालयमा घुस विना नागरिकता नबन्ने गरेको बताएका हुन् ।

अग्निसाइर कृष्णासावरण गाउँपालिका ४ का अध्यक्ष तेजनारायण यादवले संघीय सरकार, प्रदेश सरकारपछि जिल्ला प्रशासन कार्यालयमै अनियमितता हुने गरेको आरोप लगाए ।

डाक्नेश्वरी नगरपालिका ९ का अध्यक्ष कर्णदेव चौधरीले हरेक सरकारी निकायमा भ्रष्टाचार भइरहेको बताए । छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष दीपेन्द्र यादवले जनप्रतिनिधि र कर्मचारीबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्नेमा हालसम्म त्यस्तो देखिन नसकेको बताए ।

भ्रष्टाचार कर्मचारीहरुले नै गर्ने गरेको दावी गर्दै उनले भ्रष्टाचार नगर्ने कर्मचारी कार्यालयमा आए विकासीय कामहरु अघि बढ्ने बताए ।

सीडीओ भन्छन्– काम नगरेको गुनासो धेरै आयो

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले भने कतिपय वडाध्यक्षहरु दल विशेषको काम मात्र गरिरहेको सुनाए ।

‘आफूलाई भोट नदिएका कारण काम नगरिदिएको’ भन्दै गुनासो लिएर धेरै सर्वसाधारण आफूकहाँ आउने गरेको भन्दै सबै जनताको काम गर्न वडाध्यक्षहरुसँग आग्रह गरे ।

नागरिकता वितरणमा सप्तरी जिल्ला धेरै बदनाम भएको भन्दै उनले गैरनेपालीलाई नागरिकता दिएको सवालमा बारम्बार उजुरी आउने गरेको बताए । उनले भने, ‘म आएको १० महिनाभित्र ६ वटा नक्कली नागरिकताका मुद्दा चलेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment