Comments Add Comment

पिसाब फेर्न झाडी खोज्दै ‘स्मार्ट सिटी’का बासिन्दा

१२ चैत, चितवन । कोट पाइन्टमा सजिएका एक ‘भलादमी’ भरतपुरको चौविसकोठी चोक नजिक निकै हतारमा देखिए । उनलाई असाध्यै पिसावले च्यापेको रहेछ । दायाँ–बायाँ पल्याकपुलुक हेरे । भरतपुर एयरपोर्टको छेउ नजिक लगाइएको तारबारसहितको झाडीमा घुसेर उनले आनन्दले पिसाब फेरे । वरपरका मान्छेले याद गर्लान् की भनेर पाइन्टको चेन लगाउँदै घोसे मुन्टो लगाउँदै फर्किए ।

भरतपुरको चौविसकोठीमा सेनाको घोडा–तबेलाको झाडी र एयरपोर्टको झाडीतिर पिसाव फेर्ने मानिसहरुको ओहोरदोहोरले ट्रयाक नै बनेको छ । चौविसकोठीमा डिउटीमा रहेका प्रहरी समेत झाडीतिर फर्किएर पिसाव फेर्ने गर्दछन् ।

अहिले सेनाले आफ्नो कारतिरको झाडी हटाएपछि खुला शौच गर्नेहरुले समस्या भोग्दै आएका छन् । चौविसकोठीबाट नै सिंगो पश्चिम चितवन जाने गाडीहरु छुट्ने गर्दछन् । प्रायः यात्रुहरु हतारहतार दौडिरहेको, भौतारिरहेको, गाडी खोजिरहेको देख्न सकिन्छ । विषेशगरी दिउँसो ४–५ बजेतिर मानिसहरुको अधिक चाप यहाँ देखिन्छ ।

चौविसकोठी नजिकै क्षेत्री समाजले बनाएको सानो शौचालय छ । शौचालयबाट सवारी लाग्ने ठाउँको दूरी करीव ४ सय मिटर छ । चौतारो नजिक रहेको शौचालयको बारेमा धेरै मानिसहरु जानकार देखिदैनन् । महानगरले चौविसकोठीमा बेलाबखतमा पुरानो र जीर्ण घुम्ती शौचालयको गाडी लगेर खडा गर्ने गरेको छ । तर पछिल्ला दिनमा त्यो शौचालय पनि त्यस क्षेत्रमा देखिएको छैन ।

भरतपुर महानगरको मुख्य बजार क्षेत्र व्यवस्थित शौचालय नहुँदा देशका विभिन्न ठाउँबाट आउने–जाने र यात्रा गर्नेहरुलाई मात्रै सास्ती भएको छैन, यहाँका स्थानीयहरुलाई समेत निकै समस्या हुँदै आएको छ । चितवनलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको वर्षौं बित्यो । तर, शौचालयको अवस्था भने ज्यूकाँ त्यूँ छ ।

भरतपुर, नगरपालिका, उपमहानगर हुँदै महानगरपालिका भएपनि सार्वजनिक शौचालय भने थपिएका छैनन् । भरतपुरको हामिकचोक, मालपोतचोक, नारायणगढको लायन्सचोक, विशालचोक, शहीदचोकमा सार्वजनिक शौचालय छैनन् । पुल्चोक, पोखरा बसपार्क, चौविसकोठी र केन्द्रीय बस टर्मिनलमा शौचालय भएपनि कहाँ छन् भनेर खोज्नुपर्ने अवस्था छ । धेरैलाई जानकारी छैन र भएपनि प्रयाप्त छैनन् ।

शहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सवारी साधनकै छेल पारेर खुलारूपमै दिसापिसाब गर्नुपर्ने वाध्यता छ । कतिपयलाई भने दिसापिसाब गर्नकै लागि होटलमा पसेर चिया–नास्ता खाइदिनुपर्ने बाध्यता छ । भरतपुर महानगरपालिकामा १२ वटा सार्वजनिक शौचालय रहेको भरतपुर महानगरपालिका वातावरण शाखा प्रमुख इञ्जिनियर विराट घिमिरे बताउँछन् ।

 प्राथमिकतामा छैन सार्वजनिक शौचालय

भरतपुरलाई स्मार्ट सिटी बनाउने भनेर महानगरपालिकाले भन्दै आएको छ । महानगरले मोडल स्मार्ट मेट्रो सिटी बनाउने नाराअघि सार्दै आएको छ । तर, स्मार्ट सिटीमा नै सार्वजनिक शौचालय नहुँदा नागरिकहरुले हैरानी पाएका छन् । चालु आर्थिक वर्षको कार्यक्रममा कही पनि महानगरले सार्वजनिक शौचालय बनाउने योजना ल्याएको देखिँदैन ।

सार्वजनिक शौचालय बनाउन मुख्य सडक तथा चोकमा जग्गा नपाएको रेडिमेड जवाफ महानगरपालिको फर्काउने गरेको छ । सार्वजनिक जग्गा महानगरले कसले उपलब्ध गराइदिने हो र यो गुनासो कसलाई सुनाउने हो भन्ने पत्तो छैन ।

महानगरको वातावरण शाखाका इञ्जिनियर विराट घिमिरे सार्वजनिक शौचालय बनाउने ठाउँको अभाव भएको बताए । ‘सडकको दायाँबायाँ ५० मिटर क्षेत्र सडकको पर्छ, त्यसपछिको क्षेत्र व्यक्तिको हुन्छ,’ इन्जिनियर घिमिरेले भने, ‘जग्गा पाए सार्वजनिक–निजी– साझेदारी मोडेलमा शौचालय बनाउने योजना छ ।’

जग्गा प्राप्त भएमा बजेटको अभाव नहुने उनको भनाई छ । घुम्ती शौचालय पनि प्रयोगमा ल्याउन समस्या भएको इञ्जिनियर घिमिरेले बताए । दुर्गन्ध हुने भन्दै स्थानीयले राख्न दिँदैनन् ।

भरतपुर महानगरकी मेयर रेनु दाहालले नारायणी पुलदेखि हामिकचोकसम्म सार्वजनिक शौचालय निर्माणका लागि जग्गा खोजेपनि नपाएको अनलाइनखबरसँग बताइन् । अब महानगरले स्मार्ट शौचालयको अवधारणा ल्याउने मेयर दाहालको दावी छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जिल्लामा सार्वजनिक शौचालयको अभाव रहेको भन्दै जग्गा प्राप्तिका लागि आवश्यक समन्वय गर्न प्रशासन तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment