Comments Add Comment

४ हजारको लोभले आमाछोरी प्रहरीको फन्दामा

१४ चैत, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट अवैध लागूऔषध गाजा ओसारपसारमा संलग्न आमाछोरीलाई पक्राउ गरेको छ । प्रहरीले बाराको महागढीमाई नगरपालिका-१० घर भइ वीरगञ्ज महानगरपालिका-१ छपकैयामा डेरा गरी बस्ने ३८ वर्षीया अञ्जुदेवी कर्ण र उनकी छोरीलाई पक्राउ गरेको हो ।

बिहीबार बिहान ८ बजे प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिलका-१९ ईनर्वा चोकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । उनीहरुको साथबाट लागूऔषध गाजाको धुलो २४ पाकेट  अर्थात ६ किलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी नायब उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्दै एसपी ढकालले भने, ‘नेपालबाट भारततर्फ शंकास्पद रुपमा जाँदै गर्दा शंकराचार्य गेट नजिकैबाट आमाछोरी पक्राउ परेका छन् । उनीहरुको साथबाट अन्दाजी ६ किलो गाजाको धुलो जस्तो पदार्थ नियन्त्रणमा लिएका छौं । उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको छ ।’

पक्राउ परेकी छोरीको भने प्रहरीले पहिचान खुलाएको छैन । जन्मदर्ता वा जन्म खुल्ने प्रमाण हेरेर मात्रै उनीमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।

गाजाको धुलो जस्तो देखिने पदार्थ उनीहरुले शरीरको बिभिन्न भागमा लुकाएर भारततर्फ लैजान लागेका थिए । उनीहरुविरुद्ध लागूऔषधविरुद्ध मुद्धा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेकी कर्णले आफू लागूऔषध कारोबारी नभएको दावी गरेकी छन् । उनले समान रक्सौल पुर्‍याएवापत ४ हजार पाउने आशामा समान लिएर गएको बताइन् । ‘एकजना जोगीको सल्लाहमा पहिलो पटक यस्तो काम गरेकी हुँ । नचिनेको व्यक्तिले आएर समान दिएर गयो, रक्सौलमा जाकिर मियाँ भन्ने व्यक्तिलाई दिनु भनेर नम्बर पनि दिएकोे थियो । यसमा के थियो भन्ने पनि मलाई थाहा थिएन,’ उनले भनिन्, ‘अरुको घरमा चुला चौकाकाम गरेर गुजारा चलाउँदै आएको थिएँ । ४ हजार दिन्छु भनेका थिए, पैसा पनि पाएको छैन् ।’

कर्णले श्रीमान नभएका कारण छोरा र छोरीसँगै वीरगञ्जमा डेरामा बस्दै आएको बताइन् । तर, शरीरका विभिन्न स्थानमा गाजा लुकाएर लगिरहेकोले अञ्जुको कुरामा विश्वास गर्ने आधार नभएकको बताए ।

पछिल्ला दिनमा लागूऔषध ओसारप्रसारमा संलग्न हुनेहरु पक्राउ पर्ने गरेको भएपनि मुख्य कारोबारी पक्राउ परेका छैनन् । प्रहरी उपरीक्षक ढकालले भने भन्न नसक्ने र नचाहाने दुवै खालका मानिसहरुका कारण मुख्य कारोबारीसम्म पुग्न कठिनाइ भएको बताए ।

‘हामीले पक्राउ गरेर ल्याउँछौं, कतिपयलाई मख्य कारोबारीको बारेमा थाहा हुन्छ तर बताउँदैनन् । कतिपयलाई उनीहरुको बारेमा जानकारी नै हुँदैन, नक्कली नाममा भेटेर काम लगाएका हुन्छन्,’ उनले भने, ‘कतिपयलाई रक्सौलमा फलानो ठाउँमा मान्छे आउँछ समान दिनु भनेको हुन्छ, कतिपयलाई फोन नम्बर मात्रै दिएको हुन्छ । चेन ग्याप हुने हुँदा मुख्य कारोबारी पक्राउ पर्न सकेका छैनन् । तर हामी आफ्नोतर्फबाट सकेको कोशिश गरिरहेका छौं ।’

नागरिक सम्पन्न हुने र लोभ लालचमा नफस्ने हो भने यस्तो समस्या नआउने तर्क उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment