५ कात्तिक, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले देशको अर्थतन्त्रमा गुणस्तरीय सुधार र उचित परिमाणात्मक वृद्धि हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विकासको नयाँ दिशाबारे चर्चा गरेका हुन्।
‘हामीले दृढताका साथ उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्नुपर्छ र राम्रो जीवनका लागि जनताका निरन्तर बढ्दै गएका आवश्यकताहरू पूरा गर्नुपर्छ,’ राष्ट्रपति सीले भने।
उनले स्थायित्व कायम राख्दै समग्र सामाजिक प्रगतिलाई अगाडि बढाउने बताए।
सरकारी समाचार एजेन्सीका अनुसार सिले सशस्त्र बलहरूमा चिनियाँ कम्युनिस्ट पार्टीको पूर्ण नेतृत्व हुनुपर्ने कुरामा जोड दिए। उनले सेनाको राजनीतिक निर्माणलाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे।
चिनियाँ नेताले सेनामा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले विज्ञान, प्रविधि, प्रतिभा र कानुनी शासनको माध्यमबाट सेनालाई बलियो बनाउनुपर्ने बताए।
यो सम्बोधन लङ मार्चको ९० औं वार्षिकोत्सवका अवसरमा भएको हो। लङ मार्च सन् १९३४ र १९३५ मा माओत्सेतुङको नेतृत्वमा रहेको रेड आर्मीले विरोधी सेनाबाट बचनका लागि गरेको एक ऐतिहासिक यात्रा थियो।
प्रतिक्रिया 4