Comments Add Comment

प्रदेश २ लाई बदनाम गर्न एसईई प्रश्नपत्र ‘आउट’ गरियो : मुख्यमन्त्री राउत

‘प्रश्नपत्र बाहिरिनुमा केन्द्र सरकार जिम्मेवार’

१५ चैत, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाको जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने बताएका छन् । उनले लगातार प्रश्नपत्र आउट गराएर प्रदेश २ को बदनाम गर्न खोजिएको दाबीसमेत गरे ।

प्रदेश २ मा लगातार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक भएपछि मुख्यमन्त्री राउतले त्यसमा केन्द्र सरकार नै जिम्मेवार रहेको बताएका हुन् ।

प्रदेश २ को परीक्षा प्रदेश सरकारले नभएर केन्द्र सरकारका निकायले नै गरेकाले उनीहरू नै जिम्मेवार हुने मुख्यमन्त्री राउतको भनाइ छ ।

अनलाईनखबरसँग संक्षिप्त कुराकानी गर्दै मुख्य मन्त्री राउतले एसईईको प्रश्नपत्र आउट हुनु प्रदेशका लागि अति नै दुःखदायी घटना भएकाले यसबारे छानबिन गरेर दोषीमाथि कारबाही गर्न केन्द्र सरकारसँग माग गरे ।

‘छानबिनको नाममा समय गुजार्ने प्रचलन छ’, उनले भने, ‘परीक्षाको प्रश्नपत्र आउट प्रकरण गम्भीर भएकाले छिटोभन्दा छिटो कारबाही हुनुपर्छ ।’

संघ सरकारका निकायहरु प्रदेश २ लाई बदनाम गराउन लागि परेको आरोपसमेत राउतले लगाए । ‘संघीयतालाई नरुचाउनेहरुले षडयन्त्र गरेका हुन् । शिक्षाप्रतिको रुचि बढ्दै गएको अवस्थामा प्रदेशलाई बदनाम गराउने प्रयास भइरहेको छ’, राउतले असन्तुष्ट व्यक्त गर्दै भने ।

प्रदेश सरकारले प्राविधिक शिक्षाको हब बनाउने नीति लिएकाले त्यसलाई विफल बनाउने योजनाअनुरुप यस्ता गतिविधि भइरहेको दाबी मुख्यमन्त्री राउतले गरे ।

लगातार प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।  विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएकाले विद्यार्थीको प्रतिक्रिया स्वभाविक भएको राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment