+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

एसईई पुनर्परीक्षा : भत्तामा मात्रै ३ करोड बढीको बोझ

परीक्षा मिति तोक्न बोर्ड बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १७ गते १०:२०

१७ चैत, काठमाडौं । प्रदेश २ मा स्थगित भएको एसईई परीक्षा यही चैत महिनाभित्रै सञ्चालन गर्ने तयारी गरिएको छ । त्यसका लागि नयाँ प्रश्नपत्र छपाई, भत्ता र प्रशासनिक खर्च दोहोरिने भएकाले सरकारलाई करोडौंको आर्थिक भार थपिने भएको छ ।

विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा लगातार दुई दिन आउट भएपछि केन्द्र सरकारले प्रदेश २ को परीक्षा रद्द गरेको थियो । प्रश्नपत्र आउट प्रकरणको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले छानविनसमेत गरिरहेको छ ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले रद्द भएका विषयहरुको पुनः परीक्षा चैत महिनाभित्रै सञ्चालन गर्ने लक्ष्य रहेको बताए । प्रदेश २ मा स्थगित परीक्षा चैत महिनाभित्रै सञ्चालन भएमा अरु प्रदेशहरुसँगै एकैपटक नतिजा निकाल्न सहज हुने बोर्डको विश्वास छ ।

परीक्षा नियन्त्रक अधिकारीले अनलाइनखबरसँग भने, ‘धेरै टाढा नलगेमा एकरुपता गर्न सजिलो हुन्थ्यो भन्ने हो, तर हेरौं बोर्डको बैठकले कस्तो निर्णय गर्छ ।’ प्रदेश २ को एसईई परीक्षाको विषयमा निर्णय गर्न आइतबार साँझ पाँच बजेपछि बोर्डको बैठक बोलाइएको अधिकारीले जानकारी दिए ।

प्रदेश २ मा प्राविधिक विषयसमेत गर्दा आठ दिन परीक्षा सञ्चालन गर्नुपर्ने अधिकारीले बताए ।

कति हुन्छ भत्ता ?

प्रदेश २ मा २६२ परीक्षा केन्द्र र त्यत्तिकै संख्यामा केन्द्राध्यक्ष छन् । ३४५ सहायक केन्द्राध्यक्ष, ३ हजार ४३६ निरीक्षक, ५ हजार ८६ परीक्षा सहायक छन्, १ हजार २८१ कार्यालय सहयोगी छन् । २६२ ओटै परीक्षा केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी खटाइएको छ ।

बोर्डका अनुसार केन्द्राध्यक्षले जनही दैनिक ८ सय, सहायक केन्द्राध्यक्षले ५ सय, निरीक्षकले ३५०, परीक्षा सहायकले ३ सय र कार्यालय सहयोगीले १५० रूपैयाँका दरले भत्ता पाउँछन् । यसैगरी हरेक परीक्षा केन्द्रमा खटिएका सुरक्षाकर्मीलाई दैनिक १५० रूपैयाँको दरले भत्ता दिइन्छ ।

यो हिसाबले केन्द्राध्यक्षको आठ दिनको भत्तामा मात्रै १६ लाख ७६ हजार ८ सय रूपैयाँ खर्च हुन्छ । प्रश्नपत्र निर्माण, छपाइ र ढुवानी बाहेक आठ दिनको हिसाब गर्दा करिब ३ करोड ११ लाख ३७ हजार २ सय रुपैयाँ बिभिन्न कर्मचारी र प्रहरीको भत्तामा खर्च हुन्छ ।

‘परीक्षा स्थगित हुनुभन्दा अगाडि दुई वटा परीक्षामा खटिएका यी जनशक्तिका लागि ७० लाखभन्दा बढी खर्च भइसकेको छ,’ परीक्षा बोर्डका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘अब पुनः पाँच विषयको नयाँ परीक्षा सञ्चालनका लागि पनि भत्ता उपलब्ध गराउनु पर्ने भएकाले खर्चको ग्राफ ह्वात्तै बढ्छ ।’

प्रश्नपत्र निर्माण र छपाइमा पनि खर्च

प्रदेश २ मा ७० हजार ५ सय परीक्षार्थी छन् । बोर्डले जनक शिक्षा सामाग्री केन्द्रको छापाखानामा एउटाको ३ रुपैयाँ ५५ पैसाको दरले प्रश्नपत्र छापेको थियो । यसैगरी उत्तरपुस्तिका ७ रुपैयाँ ५० पैसाको दरले छापिएको थियो ।

कापि पुरानै काम लागे पनि परीक्षा रद्द भएकाले प्रश्नपत्र खेर गएका छन् । त्यसैले अब नयाँ प्रश्नपत्र बनाउनु पर्ने भएको छ । बिभिन्न विषय विज्ञहरुबाट प्रश्नहरु संकलन गरेर अन्तिम प्रश्नपत्र तयार पारिन्छ । प्रश्नपत्रको खेस्रा तयार पार्ने विषय विज्ञहरुलाई पनि सरकारले भत्ता उपलब्ध गराउँछ । बिभिन्न विज्ञहरुले तयार पारेको नमूना प्रश्नपत्रबाट प्रश्नहरु संकलन गरेर बोर्डले अन्तिम प्रश्नपत्र तयार पारेर छाप्छ ।

त्यसैले नयाँ प्रश्नपत्र निर्माण, प्रश्नपत्र छपाइ र छापाखानामा छपाइको प्रवन्धमा पनि थप खर्च हुने भएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको घेरामा प्रश्नपत्र छापिन्छ । प्रश्नपत्र छपाइको सुरक्षा व्यवस्थापन निकै संवेदनशील र झन्झटिलो हुने जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?