Comments Add Comment

विदेशमा समस्या पर्‍यो ? माग्नुस् नेपालकै श्रम मन्त्रालयको ‘कल सेन्टर’मा सहयोग

स्वदेशका र विदेसिएका कामदारको गुनासो सुन्न सिंहदरबारमै हेल्प सेन्टर

१८ चैत, काठमाडौं । सरकारले वैदेशिक रोजगारसहित श्रम सम्बन्धी सबै गुनासो सुन्न आज सोमबारबाट सहायता कक्ष (कल सेन्टर) सञ्चालनमा ल्याउँदैछ । यसअघि स्थापना भएका हेल्प डेस्क प्रभावकारी नभएपछि सिंहदरबारभित्रै आधुनिक प्रविधिसहितको सहायता केन्द्र सञ्चालनमा आउन लागेको हो ।

सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै कामका लागि विदशिने र विदेशिन चाहने नोपाली समस्याको सुनुवाई गर्न डेस्क स्थापना भएको हो । यो सहायता कक्षमा फोनबाट मात्रै नभएर फेसबुक, भाइबर, इमो, ह्वाट्सएप लगायतबाट पनि उजुरी दर्ता गर्न सकिनेछ ।

वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा, वैदेशिक रोजगार बोर्ड लगायत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायहरूका सेवा एवम् कार्यक्रमहरू जानकारी लिन, सुझाव दिन वा गुनासो गर्न यसको प्रयोग गर्न सकिने छ ।

सिधै फोन वा इमेल, भाइवर, इमो, मेसेन्जर आदि सामाजिक सञ्जालमार्फत् सिधै सम्पर्क गर्ने सकिने गरी मन्त्रालयमा कल सेन्टरको व्यवस्था गरिएको हो ।

११४१ नम्बरमा डायल गरी जोकसैले कल सेन्टरको उपयोग गर्न सक्नेछन् । प्रयोगकताहरूका लागि यो नम्बरमा डायल गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ भने एनसेल प्रयोगकर्ताहरूलाइ समेत निशुल्क हुने गरी व्यवस्था गरिँदैछ ।

विदशेमा रहेका कामदारले +९७७१५९७०००८ नम्बरको भाइवर, इमो, मेसेन्जरमा सम्पर्क गर्न सक्नेछन् ।

श्रम मन्त्री गोकर्ण बिष्टले प्रभावकारी रुपमा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने निश्कर्ष निकाल्दै मन्त्रालय रहेको भवनमै सहयोग केन्द्र राख्न लागेका हुन् । पछिल्लो समयमा विदेश जाने क्रममा र विदेशमा रोजगारीकै क्रममा अनेक कारण दुःख भोग्ने र अलपत्र पर्ने नेपालीको संख्या बढ्दो छ ।

सहायता केन्द्र स्थापना भएपछि विदेशमा समस्या भोगेकाहरुले सरकारसमक्ष सीधै टेलिफोन वा आधुनिक म्यासजिङ एपमार्फत आफ्ना गुनासा र उजुरी दर्ता दर्ता गर्न सक्नेछन् । यसैका आधारमा सरकारले आवश्यक सहयोगका लागि पहल तथा उद्धारका लागि प्रक्रिया अघि बढाउनेछ ।

सरकारले यसअघि वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारीमा गएकाहरुले समस्या सुन्न छुट्टै डेस्क स्थापना गरेको पनि त्यो प्रभावकारी रुपमा सञ्चालन भएन । कामदारको सहयोगका लागि स्थापना भएको उजुरी सुन्ने धेरै संयन्त्र अहिले निस्त्रिmय छन् ।

यस्ता उजुरी र कामदारको समस्यालाई कल सेन्टरले तुरुन्तै अनलाइनमा दर्ता गरेर सम्बन्धित दूतावास, नियोग, विभाग तथा सरकारी निकायमा जानकारी गराएर समाधानका लागि पहल गर्नेछ ।

म्यानपावर र दलालहरुले नक्कली भिसामा लगेर छोड्नेदेखि आश्वासनभन्दा फरक र जोखिमयुक्त प्रकृतिको काममा लगाएका कारण धेरै नेपालीहरु विदेशमा समस्यामा पर्ने गरेका छन् । काम छोड्ने, काम गर्न नसक्ने लगायत रोजगारदाताले यातना दिएका कारण कारण अलपत्र पर्नेहरु पनि उल्लेख्य छन् ।

विदेशबाट नेपालीको गुनासो अभिलेखीकरण गरेर आवश्यक उद्धार प्रक्रिया थालिहाल्ने योजना बनाइएको छ । यसैगरी सो डेस्कलाई नेपालमा विदेशिने क्रममा युवाहरुले भोग्नु परेका समस्यको पनि सुनुवाई गरिनेछ । अहिले पनि थुप्रै नेपालीले विदशेबाट श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागको र त्यहाँका अधिकारीका मोबाइलमा उद्धारको आग्रह गर्दै फोन गर्ने गरेका छन् । तर, त्यसको सुनुवाई भने राम्रोसँग हुन सकेको छैन ।

श्रम स्वीकृतिका लागि पेश गरिने कागजातहरु झुटा हुने समस्याले वैदेशिक रोजगारीमा जानेहरु राम्रो काम र तलव सुविधा नपाएर मर्कामा परिरहेका छन् ।

विदेशी भूमिमा विभिन्न पीडा खेप्नुपर्ने, स्वदेश र्फकन कठिन हुने, कतिपय अवस्थामा जेल-सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनुपर्नेसम्मका समस्या पनि नेपाली कामदारले भोगिरहेका छन् । यसैगरी पि|m भिसा कामदारसँग भनिएपनि मनलाग्दी शुल्क उठाउने समस्या पनि चर्को छ ।

यस्ता समस्यामा पर्नेहरुलाई अब सरकारी तबरबाट सहयोग दिने गरी सहायता केन्द्र  स्थापना गर्न लागिएको मन्त्रालय बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment