Comments Add Comment

रञ्जुको एकल चित्रकला : विकृति विसंगतिमाथि प्रहार

२० चैत, काठमाडौं । जतिबेला राजविराजकी रञ्जु यादव कक्षा नौमा अध्ययनरत थिइन्, दाइजो नल्याएकै कारण गाउँमा एक महिलालाई परिवारका सदस्यहरुलाई कुटपिट गरेर हत्या गरेको थाहा पाइन् । विद्यालयबाट फर्किरहेको बेला देखेको त्यो दृश्यले उनलाई निकै छोयो ।

त्यसबेला उनी दाइजो प्रथाविरुद्ध केही गर्न सक्ने अवस्थामा थिइनन् । जब उनले उच्च शिक्षा अध्ययनसँगै मिथिला पेन्टिङमा करियर बनाउन थालिन्, बाल्यकालमा देखेको त्यो घटनालाई क्यानभासमा उतार्न थालिन् । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी चित्रकार यादवको पहिलो एकल प्रदर्शनी ‘कलर्स अफ चेन्ज’मा त्यसको प्रष्ट झलक छ ।

२१ वटा प्रदर्शनीमा यादवका २९ वटा कलाचित्र राखिएको छ । जसमा एक हो, ‘दुल्हा खरिद’ ।

जसमा तराजुको एउटा तुलामा बेहुला छन् भने अर्को तुलामा केटीका बाबुले कार मोटरसाइकल टीभी, नगद राखिरहेका छन् । त्यति गर्दा पनि तुला बेहुलातर्फ नै ढल्किएकाले नजिकै रहेकी दुलहीले बेहुलालाई माला लगाउन नपाइरहेको देखाइएको छ ।

मिथिला पेन्टिङमा तराई मधेस र मिथिला क्षेत्रको संस्कृति, परम्परा र जीवनशैलीलाई उतार्ने गरिन्छ । तर, रञ्जुले भने समाजमा व्याप्त विकृति, विसंगति र समस्यामाथि चित्रकलामार्फत प्रहार गरेकी छन् । ‘पशु बजार’ पनि त्यस्तैमध्ये एक हो ।

यसमा उनले दाइजोमा बार्गेनिङ गर्ने दुलाहहरुलाई पशु बजारमा खरिद बिक्री गरेको देखाएकी छन् ।

उनले बढ्दो भ्रुण हत्यादेखि महिला सशक्तीकरण, बैदेशिक रोजगारीका कारण महिलाहरुमा बढ्दो जिम्मेवारी लगायतका विषयबस्तुलाई पनि क्यानभासमा उतारेकी छन् । विगत ६ वर्षदेखि व्यावसायिक रुपमा मिथिला चित्रकलामा सक्रिय रञ्जु भन्छिन्, ‘हाम्रो समाज र मुलुकमा विद्यमान सामाजिक र सांस्कृतिक विकृति, विसंगति र अन्यायविरुद्ध आफ्ना कलाचित्रहरुमार्फत् मैले आफ्ना असहमति र रिस पोखेको हुँ ।’

समाजमा व्याप्त विकृति, विसंगति र समस्यामाथि आफूले बनाएको चित्रकलालाई अग्रज र नयाँ पुस्ताले पनि सकारात्मक रुपमा लिएको रञ्जुले सुनाइन् । प्रदर्शनीमा दैनिक डेढ/दुई सय मानिसहरु आउने गरेका छन् र समाजमा व्याप्त विकृति विसंगतीमाथि कोरिएका चित्रकलालाई चासोपूर्वक हेर्ने गरेका छन् । प्रदर्शनी आज सकिँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment