Comments Add Comment

बारा-पर्सामा भएको वास्तविक क्षति कति हो ?

सरकारसँग न तथ्यांक छ, न एकीकृत योजना

१९ चैत, काठमाडौं । आइतबार राति एकैछिन आएको आँधीबाट पर्सामा खास ठूलो क्षति नभए पनि बाराका केही गाउँहरु ध्वस्त भएका छन् । अहिलेसम्म प्राप्त विवरणहरु अनुसार मुख्यतः ८ वटा वस्तीहरुमा आँधीको प्रभाव परेको छ । तर, सरकारी संयन्त्रको ढीलासुस्तीका कारण घटना भएको दुई दिन बितिसक्दा पनि गृहमन्त्रालयले वास्तविक क्षतिको विवरण अपडेट गर्न सकेको छैन ।

नेपाल सरकारको मौसम पूर्वानुमान गर्ने संयन्त्र प्रभावकारी नहुनु पहिलो दुर्दशा हो भने समयमै उद्धार र राहत नपुग्नु अर्को समस्या हो । घटना भएको दुई दिनसम्म पीडितहरु खुल्ला आकाश मुनि बस्नुले नेपाल सरकारको प्रशासनिक क्षमता कस्तो छ भन्ने स्पष्ट पारेको छ ।

आइतबार राति आएको आँधी ०७२ सालको भूकम्पमा जसरी ठूलो पैमानामा आएको नभएर ८ वटा गाउँमा मात्रै केन्दि्रत थियो । ती गाउँका करिब १५ सय परिवारहरु घरबारविहीन भएको नेपाल रेडक्रस सोसाइटीको प्रारम्भिक अनुमान छ । तर, सरकारी संयन्त्रहरु त्यति परिवारलाई अस्थाई बासको प्रवन्ध गर्न दुई दिनसम्म चुकेका छन् । नेता कार्यकर्ताहरु प्रकोप स्थलको भ्रमणमै बढी केन्दि्रत भएका छन् ।

सुरक्षाकर्मीहरुले उद्धारमा उदाहरणीय काम गरेका छन् । सोमबारसम्म घाइतेको उद्धारमा केन्दि्रत रहेका सुरक्षाकर्मीहरुले मंगलबारदेखि अस्थायी बसोबासको प्रवन्ध गर्न खोजिरहेको देखिए पनि उद्धार र व्यवस्थान प्रभावकारी देखिएको छैन ।

गाउँमा वडा तहसम्म स्थानीय तहहरु नभएका होइनन्, तर सम्पूर्ण मानवीय तथा भौतिक क्षतिको विवरण गृहमन्त्रालयले अहिलेसम्म एकीकृत रुपमा प्रस्तुत गर्न सकेको छैन ।

कहाँ-कहाँ, कति भयो क्षति ?

यसैवीच अनलाइनखबरले बारा जिल्लाका केही गाउँपालिकाका कर्मचारी एवं जनप्रतिनिधिलाई सोधेर क्षतिको अवस्थाबारे विवरण लिने प्रयास गरेको छ । यसक्रममा गाउँपालिकाहरुले मृतकको संख्याबाहेक अन्य तथ्यांक यकिन रुपमा दिन सकेनन्, अनुमानित विवरण मात्रै सुनाए ।

आँधीबाट बाराको फेटा गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेको छ । फेटा गाउँपालिको वडा नं १ र कलैया नगरपालिका वडा नं १८ मा पर्ने भलुही भरवलिया गाउँमा मानवीय क्षतिसँगै बढी भौतिक क्षति भएको छ । आँधीको सबैभन्दा ठूलो चपेटा यही भलुही भरवलियामा परेको हो ।

फेटा गाउँपालिकाका कर्मचारी सुशील यादवले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सो गाउँपालिकामा मात्रै २० जनाको मृत्यु भएको छ भने करिब ४ सय घाइते भएका छन् । करिब ३ सय हेक्टरमा लगाएको अन्नबालीसमेत नष्ट भएको छ । फेटामा मात्रै पूर्णरुपमा घरबारविहीन बनेकाहरुको संख्या लगभग ४ सयको हाराहारीमा छ ।

फेटा गाउँपालिका वडानम्बर १ का वडाध्यक्ष जयप्रकाश यादवले अनलाइनखबरलाई दिएको जानकारी अनुसार वडा नम्बर १ मा पर्ने भलुही भरवलियामा ७ जनाको मृत्यु हुनुका साथै ३ सयजति घाइते बनेका छन् । कलैला नगरपालिका वडानम्बर १८ तर्फ पर्ने भरवलियाका घरहरु फेटातर्फभन्दा कम संख्यामा भत्किएको यादवले बताए ।

फेटा गाउँपालिका वडा नं ३ पुरैनियाँ गाछीटोलमा पनि क्षति पुगेको छ । त्यस्तै वडा नम्बर ६ र ७ मा पनि क्षति पुगेको गाउँपालिकाका कर्मचारीहरु बताउँछन् । वडा नम्बर ३ का वडाध्यक्ष उपेन्द्र साहले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सो वडामा तीनजनाको मृत्यु भएको छ भने करिब ३५ जना घाइते भएका छन् । ५०/६० वटा घर क्षतिग्रस्त भएका छन् । एउटा मदरसामा समेत क्षति पुगेको छ । स्कुलचाहिँ पक्की भवनमा रहेकाले जोगिएको छ ।

वडाध्यक्ष साहले दिएको जानकारी अनुसार त्यहाँ दुईवटा गोरु मरेका छन् । एक उद्यमीले सञ्चालन गरेको कुखुरा फारम भत्किँदा कुखुराहरु मरेका छन् ।

आँधीमा परेर पशु चौपायाको ठूलो क्षति भए पनि चौपायाको क्षति विवरण संकलन भइसकेको छैन ।

त्यस्तै बाराको परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरमा पनि आँधीको प्रभाव परेको छ । त्रिभुवन राजपथ अन्र्तगतको वीरगञ्ज- पथलैया सडक खण्डमा पर्ने यस ठाउँमा रोकिराखेका र सडकमा गुडी राखेका गाडीहरु पल्टिएका छन् । यहाँ बिजुलीको तारले बढी क्षति पुर्‍याएको स्थानीयको भनाइ छ । चैनपुरमा वीरगञ्ज-१८ भवानीपुर निवासी १८ बर्षीय सरोज रामको मृत्यु भएको छ ।

केही मानिसहरु घाइते भएका छन् । घरहरुमा क्षति पुगेको छ ।

बाराकै प्रसौनी गाउँपालिकाको बुनियाद र खुटवा जब्दीमा पनि केही क्षति पुगेको छ । यस गाउँपालिकामा एकजनाको मृत्यु भएको, ५ जना गम्भीर घाइते बनेको र करिब डेढसय घरहरु क्षतिग्रस्त बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराम साहले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीका अनुसार बारामा १८ सय ९५ घर प्रभावित भएको छ, जसमध्ये ९ सय ४० घर पूर्ण रुपमा क्षतिग्रस्त छन् भने ९ सय ५५ घरमा आंशिक क्षति पुगेको छ । अन्य भौतिक क्षतिको विवरण संकलन भइरहेको छ ।

यो पनि पढ्नुहोस पर्सामा हावाहुरीले ५ सय ९ घरधुरीमा क्षति

पर्साको वीरगञ्ज महानगरपालिका वडा नं २२ स्थित जगरनाथपुरमा पनि आँधीले सामान्य क्षति पुर्‍याएको छ । त्यस्तै, वडा नं १८ सुखचैनामा पनि आँधीले केही घरको छानो उडाएको छ ।

सरकारसँग न तथ्यांक छ, न एकीकृत योजना

क्षतिको वास्तविक तथ्यांक नआउँदा पीडितहरुलाई के कस्तो राहत सामाग्री चाहिएको हो र कति चाहिएको हो भन्ने स्पष्ट हुन सकेको छैन ।

दलका नेता र सामाजिक संघसंस्थाहरु फिल्डमा जाँदै आफूखुशी राहत वितरण गर्ने काम गरिरहेका छन् । स्थानीय सरकारमार्फत एकद्वारा प्रणाली अपनाउन नसक्दा राहत वितरण भद्रगोल बन्न पुगेको छ ।

प्रदेश सरकारले राहत कोषका लागि खाता नम्बरसमेत सार्वजनिक गरिसकेको छ । यसवीचमा नेकपा र नेपाली कांग्रेसका सांसदले एक/दुई दिनको तलव दिने घोषणा गरेका छन् । मंगलबार प्रचण्डले पार्टीका तर्फबाट मृतकका परिवारलाई ५ लाखका दरले राहत दिने भनेका छन् र कांग्रेस सभापति शेरबहादुर देउवाले २५ लाखको प्याकेज घोषणा गरेका छन् । सांसद र पार्टीहरुले घोषणा गरेको यो राहत रकम प्रदेश सरकारको खातामा जाने हो या केन्द्रीय कोषमा जम्मा हुने हो भन्ने पनि एकीकृत नीति बनेको छैन ।

गृह मन्त्रालयको अधुरो डाटा

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले आँधीबाट पुगेको क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको छ र यसको संयोजनको जिम्मा गृहमन्त्रालयलाई दिएको छ । तर, गृहले सोमबार नै एक विज्ञप्ति जारी गरेर क्षीतसम्बन्धी केही विवरणहरु सावर्जनक गरेको छ । गृहबाट थप क्षतिको विवरण मंगलबार साँझ ८ बजेसम्म आएको छैन ।

गृहमन्त्रालयको सोमबारको विवरण अनुसार १० पुरुष, ११ महिला र ६ जना वालवालिका गरी २७ जनाको मृत्यु भएको छ । यीमध्ये २६ जना बाराका र एकजना पर्साका बासिन्दा छन् ।

घटनामा ६६८ जना घाइते भएकोमा २८४ जना प्रारम्भिक उपचारपछि घर फर्किएको गृहमन्त्रालयले जनाएको छ । बाँकी ३७५ जनाको उपचार बारा र पर्साका विभिन्न अस्पतालमा भइरहेको र उनीहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने गृहमन्त्रालयले जनाएको छ । गम्भीर घाइते बनेका ९ जनालाई नेपाली सेनाको स्काई ट्रक तथा एमआई-१७ हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा भनाए गरिएको गृहले जानकारी दिएको छ ।

गृहमन्त्रालयले सोमबार ३ वटा ट्रकमा राहत सामाग्री बीरगञ्जतर्फ पठाएको जानकारी दिएको छ । ती ट्रकहरुमा ४६८ थान त्रिपाल र टेण्टका साथै सर्ट पाइन्ट ४१३८ गान रहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिएका छन् । सो ट्रकमा दुई रोल कपडासमेत पठाइएको सुवेदीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment