+
+

अटिजम भएकाहरु विलक्षण पनि हुन्छन्

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २० गते ११:५९
Photo Credit : PETE ELLIS/DRAWGOOD.COM

२० चैत, काठमाडौं । कैलालीकी मन्जु बस्नेतको एक छोरी, एक छोरा छन् । छोरी ११ वर्षकी भइन्, भने छोरा सात वर्षको ।

तीन वर्षसम्म छोरा अजित बोलाउँदा पनि बोल्दैनथे, हेर्दा पनि हैर्दैनथे । उनलाई लागेको थियो छोराको आँखामा समस्या छ, आँखा देख्दैन ।

मन्जुले छोराको आँखा जाँच गराइन्, तर समस्या देखिएन । अन्य परीक्षण गराउँदा अजितलाई ‘अटिजम’ भएको रिपोर्टले देखायो । मन्जु भने छोराले आँखामा समस्या रहेछ भनेर खुशी थिइन् । किनकी उनलाई अटिजमबारे थाहा थिएन ।

तर, जब उनले अटिजमबारे बुझिन्, उनी अवाक भइन् । एक्कासी मन्जुको गला अवरुद्ध बन्छ, ‘त्यसपछि त जीवन नै खत्तम भइगो नि !’

मन्जुको छेउमै थिए अजित । उनको गलामा खेलौना झुण्डाइएको थियो । उनले त्यो खेलौला चलाइरहेका थिए । मेचमा बसेका अजित छिनमै उठेर भाग्थे, मेचलाई हानिरहन्थे । उनलाई सम्हाल्न हम्मेहम्मे छ मन्जुलाई ।

पेशाले शिक्षिका रहेकी मञ्जु अजित लाई कोठामा छोडेर स्कुल जान बाध्य थिइन् । अहिले अटिजम केयर नेपालले दिने तालिम लिनका लागि काठमाडौं आएकी छन् । उनी भन्छिन्, ‘ऊ जता जान्छ, म पनि उतै जानुपर्छ । अब त स्कुल पनि छाड्नुपर्ला । मेरो जिन्दगी नै उसलाई भयो ।’

उनले छोरालाई निको पार्नका लागि धामी झाँक्री कहाँ लगिन्, पाथीभरा मन्दिर पुगिन्, तीन पटक दिल्ली लगिन्, भारतको मथुरा गएर सँगै नुहाइन् पनि । तर, सबै गरेपछि के थाहा पाइन् भने अजितको उपचार सम्भव छैन । मन्जु भन्छिन्, ‘घर समाजकै हेला हुन परेको छ । हाँस्न पनि मन लाग्दैन ।’

राजकाजी प्रजापति

अटिजमबारे शिक्षण अस्पतालमा एमफिल गरिरहेका क्लिनिकल साइकोलोजी रेजिडेन्ट राजकाजी प्रजापतिले अटिजम रोग नभएर अवस्था भएको बताउँछन् । उनले भने, ‘रोगको मात्र उपचार हुन्छ । तर, अटिजम भएकालाई उचित वातावरण प्रदान गरेर केही सुधार गर्न सकिन्छ ।’

अमेरिकाको संस्था सेन्टर फर डिजिज कन्ट्रोलको अध्ययनअनुसार जन्मेको ५९ जना शिशुमध्ये एक जनामा अटिजमको समस्या हुन्छ । विश्वको एकदेखि दुई प्रतिशत मानिसमा अटिजम भएको अनुमान गरिएको छ ।

नेपालमा अटिजमको तथ्यांक नै छैन । अटिजम केयर सेन्टरकी अध्यक्ष सुनिता मलेकु आमात्य विश्व स्वास्थ्य संगठनको रिफरेन्स लिएर नेपालमा दुईदेखि साढे दुई लाख मानिसमा अटिजम भएको हुन सक्ने बताउँछिन् ।

अटिजम जन्मजात हुने समस्या हो । स्नायु प्रणालीको विकासक्रममा हुने एक प्रकारको विकार हो । राजकाजीका अनुसार अटिजम भएमा व्यक्तिहरुमा सञ्चार, सामाजिक अन्तरक्रियामा कठिनाई हुन्छ । यस्ता व्यक्तिहरु एकोहोरो हुने र एउटै कामलाई पटक पटक गरिरहने उनी बताउँछन् ।

यस्ता व्यक्तिहरुको स्नायु प्राणाली विकासमा गडबडी हुन्छ । जस्तो कि कसैलाई अलिकति तातो पनि असाध्यै तातो लाग्ने र कतिपयलाई निकै तातो पनि अत्यन्तै कम तातो लाग्ने हुन्छ । अटिजमलाई साइकोलोजिकल डिसअर्डरमा राखिएको छ । अटिजम यस्तो समस्या हो, मस्तिष्कमा भएका काम गर्ने विभिन्न भागमा असर पुग्छ र ती भागहरुले काम गर्दैनन् ।

अटिजम भएका कति व्यक्ति अत्यन्तै चन्चले हुन्छन् भने कति व्यक्तिको हिँडाइ डुलाइमा पनि समस्या हुन्छ । उनीहरुको दैनिकीमा त समस्या हुन्छ नै ।

अटिजम लागेका हरेक व्यक्ति समाजमा फरक देखिन्छन् । तर, केही पनि गर्न सक्दैनन् भन्ने चाहिँ होइन ।

धुम्बाराहीका सम्पन्न रुपाखेती आठ वर्षका भए । सम्पन्न डेढ वर्षदेखि थेरापी गर्दैछन् । उनको सञ्चारमा समस्या छ, तर म्युजिक ट्रयाकमै गीत गाउन सक्छन् । सम्पन्नकी आमा दमन्ता रुपाखेती भन्छिन्, ‘मेरो एक मात्र छोरा हो । साढे दुई वर्षमा उसमा अटिजम भन्ने थाहा भयो । तर, उसले सानैदेखि म्युजिक सुन्ने गर्थ्यो । त्यसमै एकोहोरिन्थ्यो । विस्तारै हामीले थेरापी गराउन थाल्यौँ । अहिले हिन्दी, नेपाली, अंग्रेजी सबै गीत गाउँछ ।’ अटिजम भएकाहरु पढ्ने कक्षा पनि जान्छन् ।

अटिजम भएका व्यक्तिको क्षमता पहिचान गरी त्यहीअनुसारको वातावरण प्रदान गरेमा यस्ता व्यक्तिहरुले चमत्कार गर्न सक्ने राजकाजी बताउँछन् ।

सुनिता मलेकु आमात्य

एउटै काममा एकोहोरिने, लगाव हुने भएकाले उनीहरुमा विलक्षण प्रतिभा हुने उनको भनाइ छ । ‘कतिको चित्रकलामा, कतिको म्युजिकमा, कतिको टेक्नोलोजीमा क्षमता हुन्छ’, राजकाजीले भने, ‘अमेरिकाको कम्प्युटर निर्माण कम्पनीमा अटिजम भएका मानिसलाई खोजी-खोजी जागिर दिने पनि गरिन्छ ।’

अमेरिकाकै अर्को उदाहरण टेम्पल ग्रामिन हुन् । अटिजम भएका उनलेे इन्जिनियरिङमा ख्याति कमाएका छन् ।

उनीहरुलाई क्षमताअनुसारको पढ्ने, सिक्ने वातावरण प्रदान गर्नुपर्छ । अटिजम भएकाहरुले सामान्य स्कुलमा लेखपढ गर्न सक्दैनन् । यस्ता स्कुलमा पठाउँदा उनीहरुका समस्या थप जटिल भएर जान सक्ने राजकाजी बताउँछन् ।

थाहा कसरी पाउने ?

सामान्यतया सबै बच्चाको विकासक्रम १८ महिनासम्म एकै प्रकारले हुन्छ । अटिजम भएका व्यक्तिहरुको पनि त्यसरी नै हुने गर्छ । बच्चाले शब्द उच्चारण गर्ने औसत समय भनेको डेढ वर्ष हो । कतिपयलाई यसरी बोल्नका लागि तीन-चार वर्षसम्म पनि लाग्न सक्छ ।

यदि १८ महिनभित्र पनि कुनै बच्चा बोल्दैन भने त्यस्ता व्यक्तिको परीक्षण गर्नुपर्ने राजकाजी बताउँछ । त्यसपछि सही समस्याको पहिचान गर्नुपर्छ ।

यस्तै बोलाउँदा पनि बच्चाले नहेरेको अवस्थामा पनि शंका गर्नुपर्ने राजकाजी सुझाउँछन् ।

खासगरी आँखा जुधाएर सञ्चार हुने गर्छ । बच्चाले कान सुनिरहेको छ, तर आँखा जुधाइरहेको छैन भने सञ्चारमा कठिनाई भएको बझ्नुपर्छ । र, स्नायु प्रणालीमा समस्या छ वा छैन भन्ने कुराको निर्क्यौल गर्नुपर्छ । त्यस्तै, बच्चालाई स्कुल पठाउँदा पनि एकांकी हुन्छ, साथीहरुसँग खेल्दैन, घुलमिल हुने क्रियाकलापमा ध्यान दिँदैन भने त्यस्ता व्यक्तिमा पनि अटिजम भएको हुनसक्ने राजकाजी बताउँछ ।

यसरी गर्नुपर्छ सुरक्षा

काठमाडौंकी बेबु श्रेष्ठ ११ वर्षकी भइन् । उनीमा पनि अटिजमको समस्या छ । पहिले उनी साह्रै चन्चल थिइन् । तर, अहिले ज्ञानी भएकी छिन् । दिसा-पिसाब लागेको थाहा पाउँछिन्, तर सफा बुवा-आमाले गरिदिन्छन् । किनकी बेबुले दिसा खेलाउलिन् भन्ने डर छ अभिभावकलाई ।

बेलाबेला उनलाई केयर सेन्टर पुर्‍याइन्छ । आमा रन्जु श्रेष्ठ भन्छिन्, ‘अहिले त उसको सुरक्षा गर्न निकै सजिलो छ । तर, मिन्स भएको बेला भने अलि गाह्रो हुन्छ ।’

खासगरी अभिभावकले यससम्बन्धी तालिम लिनुपर्ने अध्यक्ष सुनिता बताउँछिन् । किनकी बाबु-आमाले नै अटिजम भएका सन्तानलाई बुझ्न जरुरी हुन्छ । सुनिताका अनुसार यसरी तालिम लिएमा अटिजम भएको व्यक्तिमा सुधार ल्याउन अभिभावक सक्षम हुन्छन् ।

यस्ता व्यक्तिहरुको परीक्षण गरी थेरापी दिन सकिन्छ । ‘अटिजम भएको व्यक्तिको कुन पक्ष राम्रो छ र कुन पक्षको थेरापी गर्ने भन्ने छुट्याउनुपर्छ’, क्लिनिकल साइकोलोजी रेजिडेन्ट राजकाजी भन्छन्, ‘कतिको हिँडाइमा दुर्वलता हुन्छ, त्यस्तालाई अकुपेस्नल थेरापी दिनुपर्छ, बोल्न नसक्नेलाई स्पिच थेरापी दिनुपर्ने हुन सक्छ ।’

यस्ता व्यक्तिहरुलाई म्युजिक, आर्ट जस्ता थेरापी पनि दिने गरिन्छ । तर, कसैमा अटिजमसँगै सुस्तमनस्थिति वा अन्य शारीरिक समस्या भएमा गाह्रो हुनसक्छ ।

किन हुन्छ अटिजम ?

विश्वमै अटिजम हुनुको खास कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । वंशाणुगत कारणले अटिजममा ठूलो भूमिका खेल्ने भनिएको छ । त्यस्तै, केही केमिकलका कारण पनि अटिजमको समस्या हुन्छ कि भनेर अनुसन्धान भइरहेको छ । गर्भवती आमाले गर्ने व्यवहार, काम, वा यस्तो अवस्थामा केही समस्या आएमा पनि सन्तानमा अटिजम हुनसक्छ ।

अटिजम केयर सेन्टरकी अध्यक्ष सुनिताले नेपालमा यसबारे जनचेतना फैलाउन र सरकारले पुनस्र्थापना केन्द्र, थेरापी लगायतको व्यवस्था गर्नुपर्ने बताउँछिन् । अटिजम केयर सेन्टरले भने परामर्श गर्ने, अभिभावकलाई तालिम दिनुका साथै अटिजम भएका बालबालिकालाई पढाउने, आफैंसँग राख्ने लगायतका काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?