Comments Add Comment

हर्दियाका हावाहुरी पीडितले राहत पाएनन्

२० चैत, वीरगञ्ज । बाराको सुवर्ण गाउँपालिका वडा नं ४ हर्दियामा आइतबार साँझ आएको हावाहुरीबाट प्रभावितहरुले अझैसम्म राहत पाएका छैनन् । घाइते भएकाहरुले राहत तथा उपचार नपाएको गुनासो गरेका हुन् ।

स्थानीय तेतरीदेवीको खुट्टा भाँचिएको छ । कलैयामा उपचारपछि घर फर्किएकी उानले भनिन्, ‘गोडा भाँचिएको छ, घर ढलेको छ, अलिकति भएको पैसा पनि उपचारमा सकियो ।’

हर्दियामा यादव, राम र मुसहर समुदायको बसोबास छ । राहत सामाग्री प्रयाप्त नहुँदा सुत्केरी महिलाले समेत चाउचाउ र पानी खाएर बसिरहेका छन् । ‘बास बस्ने ठाउँ छैन, बालबालिकाको बिचल्ली भएको छ । रातमा लामखुट्टेले टोक्छ’ जोखनी देवी भन्छिन्, ‘ऐलानी जमिनमा बनाएको घर पनि भत्कियो, अब कहाँ बस्ने ?’

राहत सामाग्री एकदमै कम पुगेको छ । वडा अध्यक्ष धर्मेन्द्र यादवले नेपाल राष्ट्रिय प्रावि हर्दियामा ताल्चा लगाएर राहत सामग्री राखिएको स्थानीयबासीको गुनासो छ ।

वडा अध्यक्ष यादवले भने यकीन तथ्याङ्क र प्रयाप्त राहत सामाग्री नहुँदा विवाद हुने भएकाले हतारमा राहत वितरण नगरेको बताए । ‘चारैतिर गाउँ घुमेर यकीन विवरण संकलन गरेको छु । १ सय ७४ घर पूर्ण रुपमा क्षतिग्रस्त छ । ७० घरधुरीमा आंशिक क्षति पुगेको छ’ उनले भने ‘आएको सामाग्री एकै ठाउँमा जम्मा गरेर राखेका छौं । एक घण्टाभित्र वितरण गर्छौं ।’

स्थानीय प्रशासनको तथ्याङ्कअनुसार हर्दियामा हावाहुरीका कारण प्रसाद यादवको मृत्यु भएको ९४ घरधुरी पूर्ण क्षति पुर्‍याएको छ । १ सय ७६ घरधुरी प्रभावित छन् ।

स्थलगत अवलोकनका लागि पुगेका सामाजिक अभियन्ता प्रकाश थारुले हर्दियाको अवस्था दयनीय रहेको बताए । ‘केही मानिसहरु घाइते पनि छन्, अरु ठाउँमा मेस चलेको भए पनि यहाँका पीडितहरुले खाना समेत खान पाएको छैन भन्दैछन्’ उनले भने, ‘केही राहत सामग्री आएको पनि स्थानीय विद्यालयमा थन्क्याएर राखिएको छ । विद्यालयमा ताल्चा लगाइएको छ ।’

विभिन्न संघ संस्थाले दिएको केही थान त्रिपाल, चाउचाउ, विस्कुटकै भरमा बसेका छन् स्थानीयबासी ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीले भने हर्दियामा राहत नपुगेकोबारे जानकारी नभएको बताए । ‘हाम्रो रेकर्डमा इन्जिनियरिङ एशोसिएशन पर्सा र रेडक्रसले राहत दिएको देखिएको छ’ उनले भने, ‘यदि नपुगेको भए आवश्यक सामाग्री पठाउने बन्दोबस्त मिलाउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment