Comments Add Comment

पशुलाई निशुल्क स्वास्थ्य शिविर !

२१ चैत, पोखरा । ६२ औं राष्ट्रिय सहकारी दिवसमा ठाउँठाउँमा कार्यक्रम भए । सडकभरी सहकारीकर्मीले र्‍याली, झाँकी देखाए । तर मिजुरे मिलन कफी सहकारी संस्थाले भने सहकारी दिवस फरक तरिकाले मनायो ।

मादी गाउँपालिका ८ मा औषधीका पोकापुन्तुरा बोकेर संस्था लाग्यो, स्वास्थ्य शिविर गर्न । शिविर मान्छेको होइन, पशुचौपायाका लागि थियो । नौलो घुम्ती नेपालसँग समन्वय गरेर शिविर चलाएको संस्थाले मादी ८ पाखुरीकोट र रबैडाँडाका हजारभन्दा बढी पशुचौपायाको निशुल्क चेकजाँच गर्‍यो ।

शिविरमा मादी गाउँपालिका पशु स्वास्थ्य शाखाको प्राविधिक तथा गुड नेवर्स इन्टरनेसनको आर्थिक सहयोग थियो । शिविरमा पशुचौपायाका गोबर, मलमुत्र, पशुस्वास्थ्य चेकजाँच गरिएको मादी गाउपालिकाका पशु सेवा प्रमुख सूर्य सुवेदीले जानकारी दिए ।

‘ग्रामीण भेगका कृषकका लागि यस्ता कार्यक्रमले पशुपालनमा आत्मनिर्भर बनाउन सहयोग गर्छ,’ उनले भने । स्वास्थ्य शिविरबाट लाभान्वित स्थानीयले पशुपालनबारे नजानेका धेरै कुरा सिक्न पाएको प्रतिक्रिया दिए । उनीहरुले सरकारी तथा गैरसरकारी संस्थाबाट सहयोग आए आफहरु व्यावसायिक रुपमै पशुपालनमा इच्छुक रहेको सुनाए ।

शिविरमा पशु बिमा अभिमूखिकरण तालिम, निशुल्क औषधी वितरणसमेत गरिएको सुवेदीले बताए । शिविरकै अवसरमा स्थानीय कृषकले उन्नत तथा व्यावसायिक पशुपालन र उनीहरुको हेरचाहबारे जानकारीसमेत लिए । शिविरमा ९० घरधुरीका ९ सय ५९ बाख्रा, १सय ८ भैसी, ३२ गोरु, २० भेडा र १७ गाईको स्वास्थ्य जाँच गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment