Comments Add Comment

सिके राउत: केपी ओलीसँग नरम, लालबाबुसँग गरम !

२१ चैत, काठमाडौं । सरकारसँग सम्झौता गरेर जेलबाट छुटेका सिके राउत प्रदेश २ का मुख्य मन्त्रीमाथि खनिएका छन् । तराईका केही जिल्लामा आएको भिषण हुरीबाट पीडित भएकाहरुको अवस्थालाई लिएर उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतमाथि विभिन्न आरोप लगाएका छन् ।

आफ्नो भेरिफाइड फेसबुक पेजमा लेखेको स्टाटसमा राउतले लेखेका छन्, ‘केन्द्रलाई नै सबै कुरा भन्ने भए प्रदेश सरकार केका लागि ? मुख्यमन्त्रीले विदेशीलाई ३६ व्यंञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र वाधा भएन ।

भोजभतेरमै ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन । जनतासँग छाला काढेसरी कर बढाएर उठाएको करोडौं रुपैयाँ पोखरी र मन्दिर सौन्दर्यीकरणको नाममा आफ्ना लठैत पाल्न खर्च गर्दा केन्द्र वाधा भएन । तर, अहिले भोकभोकै घरबारविहीन भएर बिचल्ली परेका बाराका हुरी पीडित जनतालाई १०-२० दिन सामूहिक रुपमा मेस सञ्चालन गरेर दालभात खुवाउन मुख्यमन्त्रीलाई के बाधा भयो ?’

सिके राउत अगाडि थप्छन्, ‘बहानाको पनि हद हुन्छ । हरेक कुरामा केन्द्रलाई दोष दिएर आफ्नो असक्षमता र भ्रष्टाचार ढाक्न खोज्ने ?’

हिमालय टीभीमा दिएको अन्तरवार्तामा सिके राउतले केपी ओली नेतृत्वको केन्द्र सरकारमाथि भने कडा टिप्पणी गरेनन् । बरु केन्द्र सरकारसँग मिलेर विपतको सामना गर्नुपर्ने बताएका छन् ।

कागजी रुपमा बिखण्डनको एजेन्डा त्यागे पनि त्यसपछि सिके राउतको प्रतिवद्धतामा अझै प्रश्न उठ्ने गरेको छ । उनले रणनीतिकरुपमा मात्रै यो एजेन्डा त्यागेको धेरैको बुझाइ छ । राउतको संगठनले पृथकतावादीहरुको अन्तर्राष्ट्रिय संगठन यूएनपीओ बाट आफ्नो नाम अहिलेसम्म फिर्ता लिएको छैन ।

साथै, अहिले पनि सिके राउतले आफ्नो स्टाटसमा मधेसीलाई ‘स्वराजी’ भन्न छाडेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment