Comments Add Comment

आईपीएलमा आज क्रिस गेल भर्सेस डेभिड वार्नर

२५ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र किंग्स इलाभेन पञ्जाबबीच प्रतिस्पर्धा हुदैछ ।

पञ्जाबको घरेलु मैदानमा हुने खेलमा दुबै टिम जितको खोजीमा हुनेछन् । हैदरावाद विजयी भएमा शीर्ष स्थानमा पुग्नेछ भने पञ्जाब विजयी भएमा दोस्रो स्थानमा पुग्नेछ ।

अहिले तेस्रो स्थानमा रहेको हैदराबादको पाँच खेलमध्ये तीन खेलमा जित र दुई खेलमा हारसहित ६ अंक छ । छैटौं स्थानमा रहेको पञ्जाबको पनि समान ६ अंक छ ।

यी दुई टिमबीच प्रतिस्पर्धामा क्रिकेटको युनिभर्सल बोस भनेर चिनिने क्रिस गेल र विश्वचर्चित खेलाडी डेभिड वार्नर आमनेसामने हुँदैछन् । दुबै खेलाडी उच्च लयमा रहेका छन् ।

डेभिड वार्नर (हैदराबाद)

अष्ट्रेलियाका क्रिकेटर डेभिड वार्नर जारी आईपीएलमा उच्च फर्ममा देखिएका छन् । यसअघिका संस्करणमा पनि हैदराबादलाई आईपीएलको उपाधि जिताई सकेका वार्नर २०१८ को आईपीएल भने खेलेनन् ।

पाँच खेलको समाप्तिसम्म वार्नर सर्वाधिक रन बनाउने खेलाडी को शीर्ष स्थानमा रहेका छन् । उनले जारी आईपीएलमा ५ खेलबाट २७९ रन बनाएका छन् । उनले एक खेलमा शतक प्रहार गरेका छन् भने दुई खेलमा अर्धशतक बनाएका छन् ।

उनले आफ्नो पहिलो खेलमा नै कोलकत्ता नाइट राइडर्सविरुद्ध ८५ रन बनाएका थिए । त्यस्तै, राजस्थान रोयल्सविरुद्ध दोस्रो पटक जारी आईपीएलमा अर्धशतक बनाएका वार्नरले आफ्नो तेस्रो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध भने शतक नै प्रहार गरेका थिए ।

१५८.५१ को स्ट्राइकर रेटमा ब्याटिङ गरेका वार्नर पञ्जाबका लागि पनि घातक हुन सक्छन् । उनी आफ्नो ब्याटिङमा मात्रै खुवी देखाउँदैनन् । उनले कप्तानकै सरह भूमिका पनि निभाउने गरेका छन् । उनी अघिल्ला संस्करणका कप्तान नै थिए ।

क्रिस गेल (पञ्जाब)

क्रिकेटका युनिभर्सल बोस भनेर चिनिने क्रिस गेल एक तुफान हुन् । जसलाई रोक्न जो कसैलाई हम्मे–हम्मे पर्छ । कतिपय बलर उनी क्रिजमा आउन साथ बलिङ नै गर्न डराउँछन् ।

हैदराबादविरुद्धको खेलमा पनि क्रिस गेल आफ्नो प्रदर्शन उत्कृष्ट गर्ने लक्ष्यमा छन् ।

तर जारी आईपीएलमा उनले पुरानो लय समात्न सकिरहेका छैनन् । चार खेल खेलेका गेलले १४४ रन बनाएका छन् । उनले एक अर्धशतक बनाएका छन् ।

क्रिस गेलले आफ्नो पहिलो खेलमा राजस्थान रोयल्सविरुद्ध ७९ रन बनाएका थिए । उनकै उत्कृष्ट ब्याटिङमा पञ्जाबले यो खेल १४ रनले जित हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment