Comments Add Comment

बाफलमा युवकको हत्या प्रकरण : मानसिक सन्तुलन गुमेका व्यक्ति पक्राउ, प्रहरी अलमलमा

२५ चैत, काठमाडौं । एक साताअघि काठमाडौंको बाफलमा भएको युवकको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तर, ज्यान गुमाउने र पक्राउ पर्ने दुवैको हालसम्म सनाखत भएको छैन ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार तराई मुलको जस्तो देखिने मृतक युवकसँग बस्ने व्यक्ति पक्राउ परेका हुन् । दुवै जना बाफलस्थित स्युच्टार पुलमुनि बसेर मागी खान्थे ।

दुवैको घर परिवारबारे प्रहरी कुनै खबर पाउन सकेको छैन । घटनास्थल आसपास बस्ने व्यक्तिलाई पनि उनीहरुको हुलियामा थाहा थियो ।

घटनालगत्तै प्रहरीले फरेन्सिक विज्ञानका चिकित्सक र अनुसन्धानमा सहयोगी कुकरलाई घटनास्थलमा लगिएको थियो । त्यसक्रममा चिकित्सकसहित प्रहरीको टोलीले उनको घाँटीमा सिसा प्रहार गरेर हत्या भएको आशंका गरेको थियो ।

प्रहरीले घटनास्थलबाट अपराधमा प्रयोग भएको सिसा पनि बरामद गरेको थियो । हाल शवको पोष्टमार्टमपछि रिपोर्ट आउने प्रक्रियामा छ ।

अभियुक्त भन्छन्-उसैले हानेको हो

पक्राउ परेका युवकले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । यद्यपि, उनले आफैंले उनको मृत्यु भएको देखेको भने बताएका छन् ।

‘उसले आफैंले सिसाले हानेको हो’, अभियुक्तको बयानलाई उदृत गर्दै अनुसन्धान अधिकारी भन्छन्, ‘मैले पनि त्यो देखेको हुँ ।’ तर, मानसिक रुपमा ठीक नभएकाले प्रहरी उनको बयानलाई आधार मान्न सक्दैन ।

‘मानसिक सन्तुलन गुमेको व्यक्तिको बयान अदालतले पनि मान्दैन’, अनुसन्धान अधिकारी भन्छन्, ‘के गर्ने अन्यौलमा छौं । विज्ञसँग परामर्श गर्छौं ।’

स्थानीयले भने उनीहरु दुईबीच वेलावेला झगडा हुने गरेको प्रहरीलाई बताएका थिए । घटनास्थल नजिकै प्रहरी बिट पनि छ । जहाँका अधिकारीले उनीहरुबीच केहीअघि भएको झगडा पनि देखेका थिए ।

कुकुरको संकेत

अनुसन्धानका लागि प्रहरीले ल्याएको विज्ञ कुकुरले पनि घटनाको सम्बन्धमा कुनै सुराक दिन सकेको थिएन । स्रोतका अनुसार घटनास्थलमा सबुत सुघाँएर छाडिएको कुुकर दौडिँदै सोल्टी दोबाटोसम्म पुगे पनि त्यहाँबाट अघि बढ्न सकेको थिएन ।

त्यो क्षेत्रमा अत्यधिक भीड हुने कारण कुकुरले अभियुक्तको बाटो पहिचान गर्न नसकेको हो । यद्यपि, प्रहरीले अन्य विभिन्न विधिबाट अनुसन्धान जारी राखेको प्रहरीको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment