Comments Add Comment

रत्ननगरमा होमस्टेसहितको साँस्कृतिक ग्राम निर्माण सुरु

२५, चैत, चितवन । चितवनको रत्ननगर नगरपालिकाले ‘होम स्टे’ सहितको साँस्कृतिक ग्राम निर्माणको थालनी गरिएको छ ।

पर्यापर्यटनको विकास गरी स्थानीयको आयआर्जन वृद्धि गर्ने उद्देश्यले इको पार्क, होम स्टे र साँस्कृतिक ग्राम निर्माण सुरु गरिएको नगरपालिकाका मेयर नारायण वनले बताए ।

रत्ननगर नगरपालिका वडा नं ९ मा निर्माण गर्न लागिएको साँस्कृतिक ग्रामलाई होमस्टेको रूपमा विकास गरी चितवनकै एक प्रमुख पर्यटकीय केन्द्रका रुपमा विकास गरिने मेयर बनले जानकारी दिए ।

साँस्कृतिक ग्रामका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । सांस्कृतिक ग्रामको सोमवार सोमबार मेयर वनले सिलान्यास गरे । नगरभित्र रहेका विभिन्न जातजातिको साँस्कृतिक घर त्यहाँ निर्माण हुनेछ । ‘नगरका हरेक जातिलाई सम्वोधन र सम्मान गर्ने प्रयासको थालनी भएको छ’ उनले भने, ‘यसले समग्र चितवनको पर्यटन प्रवद्धन र विकासमा अर्को इट्टा थप्ने छ ।’

ग्राममा चालु आर्थिक वर्षमा पाँच जातिको घर बन्ने छ । आगामी वर्ष पाँच वटा घर थप गरिने छ । जहाँ थारु, चेपाङ, कुमाल, तामाङ, मगर आदि जातिको पहिचान, संस्कृति झल्कने गरी घर निर्माण हुनेछन् । पछि अरु पनि थप्दै जाने योजना नगरपालिकाको छ ।

ग्रामबाट प्राप्त हुने आम्दानी स्थानीयकै आयआर्जनमा लगाइने मेयर बनले वताए । सौराहाका पर्यटकहरुलाई थप रमाइलो गर्नका लागि साँस्कृतिक ग्राममा ल्याइने छ । यसले पर्यटकको बसाई बढाउने विश्वास नगरपालिकाले लिएको मेयर बनले बताए ।

रत्ननगर ९ का वडाध्यक्ष रोशन आचार्यले पर्यावरण मैत्री पर्यटन पार्कसँगै सांस्कृतिक ग्रामले स्थानीयको आयआर्जनमा विकास भई नगरकै पहिचान दिलाउने विश्वास व्यक्त गरे ।

नगरपालिकाले स्थानीय टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिसँग सहकार्य गरेर काम गरिरहेको छ । कुल सात विगाहा क्षेत्रफल रहेकोमा ४ विगाहामा पिकनिक स्पट बन्ने छ ।

साँस्कृतिक ग्राममा आकर्षक वगैचा, भ्यु टावर, रेस्टुरेन्ट लगायत रहने वडाध्यक्ष आचार्यले वताए । साँस्कृतिक ग्राम स्थललाई यसअघि इको टुरिजम पार्कको रुपमा विस्तार गर्ने योजना अनुरूप काम भएको थियो । त्यहाँ तीन वर्ष अगाडिदेखि नगरपालिकाले आफ्नै वजेटमा पार्क निर्माण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment