Comments Add Comment

प्रदेश ३ मा स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्न विधेयक पेश

२६ चैत, हेटौंडा । प्रदेश ३ मा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनको लागि सरकारले प्रदेश सभामा विधेयक पेश गरेको छ ।

जिल्लामा रहेको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न सामाजिक विकासमन्त्री युवराज दुलालले मंगलबारको प्रदेश सभाको बैठकमा विधेयक पेश गरेका हुन् । ‘स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानको व्यवस्था गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्न र आम नागरिकलाई सर्बसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि’ विज्ञान प्रतिष्ठान आवश्यक भएको विधेयकको प्रस्तावनामा उल्लेख छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा २ करोड रकम विनियोजन गरेको थियो । १२० शैय्या क्षमताको हेटौंडा अस्पताललाई नै स्तरोन्नती गरेर प्रतिष्ठान सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।

७० शैय्या बिस्तारका लागि संघीय सरकारले २८ करोड १६ लाख रुपैयाँ रकम बराबरको ठेक्का लगाएर अस्पतालको भौतिक निर्माणको काम सुरु भएको छ ।

निर्माण पश्चात हुने १९० बेडमा प्रदेश सरकारले थप एक सय शैय्या क्षमताका लागि भवन निर्माण गरी मेडिकल कलेजसहितको कम्तिमा तीन सय क्षमताको स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने सोच प्रदेश सरकारको रहेको छ ।

विधेयकमा प्रतिष्ठानले स्वास्थ्य विज्ञानसम्बन्धी विभिन्न विषय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने उद्देश्यले आवश्यकताअनुसार शैक्षिक संस्थाको स्थापना गर्न सक्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित ऐनबमोजिम आरक्षण वा छात्रवृत्तिमा अध्ययन गरेको विद्यार्थीले प्रतिष्ठानले प्रदेश भित्रको पीछडिएको वा दुर्गम क्षेत्रमा तोकेको अवधिभर काम गर्नुपर्ने उल्लेख छ ।

खटाइने पीछडिएको वा दुर्गम क्षेत्रको सम्बन्धमा छात्रवृत्ति दिनुभन्दा अगावै उल्लेख गरेर मात्र छात्रवृत्ति दिनुपर्ने विधेयकमा प्रस्ताव गरिएको छ ।

मंगलबार बसेको प्रदेश सभाको बैठकमा उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयको तर्फबाट सामाजिक विकासमन्त्री दुलालले प्रादेशिक व्यापार व्यवसाय सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयकसमेत प्रस्तुत गरेका छन् ।

बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तर्फबाट मन्त्री दावा दोर्जे लामाले प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रादेशिक कृषि व्यवसाय प्रबर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक सभामा प्रस्तुत गरेका छन् ।

सभामा प्रस्तुत प्रादेशिक व्यापार व्यवसाय, प्रदेश बीउ बिजन र प्रादेशिक कृषि व्यवसाय सम्बन्धी तिनवटा विधेयक माथि २५ सांसदहरुले सैद्धान्तिक छलफल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment