Comments Add Comment

च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेड कि बार्सिलोना ?

दाबेदार टिमको परीक्षा

काठमाडौं । च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा बुधबार राति स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड साथै नेदरल्याण्ड्सको क्लब आयाक्स र इटालियन क्लब युभेन्टसबीच खेल हुँदै छ ।

राति पौने १ बजे हुने खेलमा म्यानचेस्टर युनाइटेड र बार्सिलोना म्यानचेस्टरको मैदान वर्ल्ड ट्राफोर्ड र आयाक्स र युभेन्टसबीचको खेल आयाक्सको मैदान जोहान क्रुफ मैदानमा हुनेछ ।

दाबेदार टिमको परीक्षा

अन्तिम समयमा कुनै योजना नबद्लिएमा म्यानचेस्टर युनाइटेड र बार्सिलोना दुवै टिम ४–३–३ को फर्मेसनमा खेल्ने तयारीमा छन् ।

म्यानचेस्टर युनाइटेडका महत्वपूर्ण खेलाडी मार्कस रासफोर्ड बार्सिलोनासँगको खेलमा ठीक हुने विश्वासमा प्रशिक्षक ओले गुनार सोल्सार रहेका छन् । गोलिगाँठामा लागेको चोटका कारण उनले प्रिमियर लिगमा पछिल्लो खेल गुमाएका थिए । बुधबार बिहानको अभ्यासमा भने उनी सामेल छन् ।

युनाइटेडले अन्तिम १६ को खेलमा पीएसजीसँग पहिलो लेग २–० ले हारेर पनि दोस्रो लेगमा ३–१ ले जितेर क्वार्टरफाइनल पक्का गरेको थियो । बार्सिलोनाले लियोनसँग पहिलो लेग बराबरी खेलेर दोस्रो लेगमा ५–१ ले जित्दै क्वार्टरफाइनल पक्का गरेको थियो ।

युनाइटेडका प्रशिक्षक सोल्सारले च्याम्पियन्स लिग क्वार्टरफाइनल खेलमा बार्सिलोनासँग सजग रहन आफ्ना खेलाडीलाई निर्देशन दिएका छन् ।

क्वार्टरफाइनल अन्तर्गत बुधबार राति हुने पहिलो लेगको खेलमा आफूहरु डिबक्स नजिक फउल नगर्न सजग रहनुपर्ने उनले बताएका हुन् । डिबक्स नजिक फ्री किक पाएमा मेस्सी घातक हुन सक्ने भन्दै उनले सबैलाई सजग गराएका हुन् । मेस्सीले यो सिजन सबैमा गरेर ४० खेलमा ४३ गोल गरेका छन् । जसमा च्याम्पियन्स लिगमा ८ गोल रहेको छ ।

‘हामीमा आत्मविश्वास राम्रो छ । पीएसजीलाई हामीले जसरी हरायौँ त्यसले पनि बल पुर्‍याएको छ । खेलाडीहरुले नराम्रो फउल नगर्नेमा सजग रहेका छन् । ट्याकल नगरी कसरी बल रोक्न सकिन्छ भन्ने अभ्यास राम्ररी नै भएको छ’ उनले भनेका छन् ।

ला लिगाको पछिल्लो खेलमा एथ्लेटिको मड्रिडलाई हराएर बलियो मनस्थितिमा रहेको बार्सिलोनाका लागि उसमान डेम्बेले फिट नहुनु समस्या देखिएको छ । अभ्यासमा सामेल भए पनि उनी पूर्ण रुपमा फिट भइसकेका छैनन् ।

केही तथ्य

२०११ को च्याम्पियन्स लिग फाइनलमा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हराएपछि, यीनिहरुबीच भेट भएको थिएन । युरोपियन प्रतिस्पर्धामा घरेलु मैदानमा म्यानचेस्टर युनाइटेड बार्सिलोनासँग अहिलेसम्म पराजित भएको छैन । उसले दुई खेल जितेको छ भने दुई खेल बराबरी गरेको छ ।

युनाइटेडका रोमुलु लुकाकुले पीएसजीसँगको अन्तिम १६ को खेलमा तीन प्रहारमा दुई गोल गरेका थिए । यसैले बार्सिलोनाविरुद्ध काउन्टर अट्याकमा उनको भूमिका महत्वपूर्ण हुनेछ ।

बार्सिलोना च्याम्पियन्स लिग क्वार्टरफाइनलमा १७ औँ पटक पुगेको हो । जसमा प्रिमियर लिग विपक्षीसँगको नतिजा सुखद नै देखिन्छ । २०१२ को सेमीफाइनलमा चेल्सीले बार्सिलोनालाई हराएपछि च्याम्पियन्स लिग नकआउटमा स्पेनिस टिमसँगको ११ खेलमा प्रिमियर लिग टिम १० पटक बाहिरिएको छ ।

साथै बार्सिलोनाका लियोनल मेस्सीले प्रिमियर लिग टिमसँगको च्याम्पियन्स लिगका ३० खेलमा २२ गोल गरेका छन् । जुन अरु खेलाडीले गरेको भन्दा धेरै हो । तर बार्सिलोनाको पछिल्लो ११ च्याम्पियन्स लिग क्वार्टरफाइनलमा मेस्सीले गोल गर्न सकेका छन् । जसमा उनको ४९ प्रहार खेर गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment