Comments Add Comment

‘कृष्ण मल्टिप्लेक्स’, तर ‘झुर’ क्वालिटीले दर्शकमाथि अन्याय भएन र ?

बिहिबार बेलुकी काठमाण्डौको कुमारी हलमा चलचित्र ‘ए मेरो हजुर ३’को प्रिमियर आयोजना भयो । भीडभाडकाविचमा पनि चलचित्र हेर्ने अवसर मिलेको थियो । चलचित्र कस्तो छ यो बिषयमा पछि चर्चा गरौला । चलचित्रको मेकिङ उच्च गरेको निर्माण टिमको काम कुमारीको पर्दामा हेर्दा खल्लो लागेन । किनकी, मप्टिप्लेक्समा अझै पनि हलको गुणस्तर नपुगेपनि यत्तीको क्वालिटीलाई खराब भन्न नमिल्ला ।

यो चलचित्र आजबाट देशभर रिलिज भएको छ । एक बिहानै चलचित्रको बिषयमा दर्शक प्रतिक्रिया वुझ्न काठमाण्डौको गोपीकृष्ण हलमा पुगेँ । चलचित्रलाई गोपीकृष्णको ‘कृष्ण’मा शो दिइएको थियो । बिहानी शोमा ‘कृष्ण’ हाउसफूल भएपछि अरु २ सानो पर्दामा पनि चलचित्र लगाइएको थियो । ११ बजेको शोमा पनि ‘कृष्ण’ चाडै भरियो ।

चलचित्र सुरु भयो । चलचित्रको सुरुवातमा देखिने नाम खासै वुझिएन । चलचित्रको सुरुवातमै नायिका सुहाना थापाको इन्ट्री हुन्छ । तर, हलमा बसेका दर्शकलाई सुहाना थापा भनेर चिन्न एकछिन समय लाग्छ, किनकी धमिलो पर्दामा दर्शकले सुहानालाई ठम्याउन तुरुन्तै सक्दैनन् । चलचित्रमा नायक अनमोल केसीको इन्ट्री होस् या उनको कन्सर्ट । मल्टिप्लेक्स मानिएको ‘कृष्ण’ हल यती साह्रो कमजोर होला भन्ने लागेको थिएन । पर्दामा देखिने दृश्य मात्र होइन, सुनिने साउन्ड पनि निकै नै फिक्का थियो । हलमा एसी अझै जडान गरिएको छैन ।

केही समय अगाडि यही हलमा ‘छक्का पन्जा ३’ चलचित्रको निर्माणटिमसँग बसेर हेरेको थिएँ । त्यो समयमा पनि हलको गुणस्तरले केही विझाएको थियो । तर, यसपटक कुमारीमा सुरुवातमा हेरेर कृष्णमा दोश्रो पटक चलचित्र हेर्दा आकाश–जमिनको अन्तर देखियो ।

२ सयदेखि साढे २ सय रुपैयाँ तिरेर दर्शक हलमा पुग्छन् । तर, हलको पर्दामा देखिने चित्र यति विचित्रको आउँछ कि, साच्चै यो दर्शकमाथिको अन्याय हो कि होइन ? दर्शकले पैसा तिरेपछि क्वालिटी पर्दामा चलचित्र हेर्न पाउनुपर्छ । यो उनीहरुको अधिकार हो । चलचित्रकर्मीले पनि अहिले उच्च प्रविधीमा चलचित्र खिच्न थालेका छन् । तर, यस्तो झुर क्वालिटीमा दर्शकले चलचित्र हेरेँ भने हललाई भन्दा निर्मातालाई नै बढी सराप्छन् ।

मल्टिप्लेक्सको नियममा जाने तर हल भने यति कमजोर बनाउनु कतीसम्मको न्यायसंगत हो ? हल संचालकज्यू, तपाइहरुले दर्शक र चलचित्रकर्मीलाई अन्याय गर्नुभएको छ ? ‘कृष्ण’को पर्दामा चलचित्र हेर्ने दर्शकमाथि ठूलो अन्याय भएको छ । कृपया हलको अवस्था र पर्दा सुधार्नुहोस् । चलचित्र नराम्रो मात्र बनेर नेपाली चलचित्र नचलेका होइनन् । यस्तो पर्दामा चलचित्र हेरेपछि दर्शकलाई नेपाली चलचित्रप्रति आकर्षण बढ्दैन । चलचित्र राम्रो बनाउनु चलचित्रकर्मीको धर्म हो, तर त्यसलाई आकर्षक हलमा उच्च क्वालिटीका साथ प्रदर्शन गर्नु हल संचालकको पनि दायित्व हो । यो दायित्वबाट अलग भएर पैसा मात्र कमाउने सोच राख्दा चलचित्र क्षेत्रलाई फाइदा गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment