Comments Add Comment

वनस्पति दिवस मनाइयो, नेपाली जडिबुटी दुरुपयोगको आशंका

२९ चैत, काठमाडौं । वनस्पतिको उपयोग र व्यापार, समृद्धिको आधार भन्ने नाराका साथ २० औं वनस्पति दिवस तथा वनस्पति विभागको ५९ औं वार्षिकोत्सव मनाइएको छ ।

काठमाडौंस्थित विभागको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमको प्रमुख अतिथि वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले रुद्राक्षको विरुवामा जल सेचन गरेर उद्घाटन गरेका हुन ।

कार्यक्रममा मन्तव्य राख्दै मन्त्री बस्नेतले नेपालको जैविक विविधता समृद्धिको महत्वपूर्ण आधार रहेको बताए । जडिबुटीको उपयोगिता र संरक्षणसम्बन्धी परम्परागत ज्ञान र आधुनिक प्रविधिलाई संयोजन गर्नुपर्नेमा उनको जोड थियो ।

वन मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले अनुसन्धान प्रयोजनका लागि निकासी भएका जडिबुटीको दुरुपयोग हुन नदिन सचेत हुनुपर्नेमा जोड दिए । अनुसन्धानको नाममा कतिपयले नेपाली जडिबुटीको गलत प्रयोग गरेको सूचना प्राप्त भएको ओलीको भनाइ थियो ।

विभागका महानिर्देशक सन्जीवकुमार राईले राष्ट्रिय हर्वोरियमलाई दक्षिण एसियाकै उत्कृष्ट अन्तराष्ट्रिय हर्वोरियम बनाउन पहल भइरहेको जानकारी दिए । कच्चा पदार्थको रुपमा निर्यात भइरहेको जडिबुटीबाट नेपालमै वस्तु उत्पादन गर्ने विषय राष्ट्रिय योजना आयोगको १५ औं पञ्चवर्षीय आयोजनामा समेट्नुपर्नेमा उनको जोड थियो ।

२०१६ सालमा स्थापना भएको विभागले वानस्पतिक स्रोतको पहिचान, सदुपयोग, संरक्षण तथा सम्बर्द्धनमा काम गर्दै आएको छ । विभागले अनुसन्धानात्मक क्रियाकलापबाट वानस्पतिक स्रोतको तथ्यांक अध्यावधिक, खेती प्रविधि विकास, औषधी विज्ञान र जडीबुटी उत्पादन तथा प्रशोधन क्षेत्रमा उल्लेखनीय योगदान पुगेको विभागका अधिकारीहरू बताउँछन् ।

विभाग अन्तर्गतको प्राकृतिक सम्पदा अनुसन्धानशालाका वैज्ञानिकहरूले तयार पारेको पर्फयुम र अत्तरको फर्मुला मन्त्री बस्नेतले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलाई हस्तारण गरेका थिए । नेपालकै जडिबुटी प्रयोग गरेर बनाइएको कोशी र जुम्ला नामको पर्फ्युम र अत्तरको नमुना समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

प्रोफेसर इमेरिटस डा. रामप्रसाद चौधरीले ‘वनस्पतिको उपयोग र व्यापार, समृद्धिको आधार’ शीर्षकमा विशेष प्रवचन प्रस्तुत गरेका थिए । विभागबाट प्रकाशित विभिन्न चार पुस्तक तथा जर्नल सार्वजनिक गरिएको थियो । फर्न एण्ड फर्नस् एलाईज (भोल्युम २) पुस्तकको डा. केशवराज राजभण्डारीले समीक्षा गरेका थिए ।

प्रा.डा. राजभण्डारीलाई वनस्पति पुरस्कार

विभागले राष्ट्रिय वनस्पति पुरस्कार प्रा.डा. संगीता राजभण्डारीलाई प्रदान गरेको छ । २०६६ सालमा स्थापित यो पुरस्कार वानस्पतिक स्रोतको संरक्षण तथा विकासका पुर्‍याएको योगदानको कदरस्वरुप राजभण्डारीलाई प्रदान गरिएको विभागले जनाएको छ । त्रिभुवन विश्वविद्यालय, वनस्पति शास्त्र केन्द्रीय विभागमा कार्यरत उनी प्राध्यापनसँगै वनस्पति सम्बन्धी अध्ययन र अनुसन्धानमा संलग्न छिन् ।

वनस्पतिको पहिचान, अन्वेषण, विकास, अध्ययन–अनुसन्धान र सदुपयोगमा लागेको भन्दै वरिष्ठ वैज्ञानिक अधिकृत, उषा तण्डुकार, कल्पना शर्मा ढकाल, पारसमणि यादव, किरण सिलवाल, सीता थापा र चन्द्रबहादुर तामाङलाई कदरपत्र प्रदान गरेको छ ।

नेपाली जडिबुटीहरूको प्रयोग गेर पर्फ्युम र अत्तरको फर्मुला विकास गरेका वरिष्ठ वैज्ञानिक अधिकृत देवीप्रसाद भण्डारी, राजेश्वर रंजितकार र लक्ष्मण राजभण्डारीलाई पनि सम्मान गरेको छ ।

यस्तै, वनस्पति विभागसँग सहकार्य गरेका डब्लुडब्लुएफका डा. शान्तराज ज्ञवाली, अनलाइनखबर डटकमका सन्त गाहा मगर, डा. जि.ए. सि. हर्कलट (युके), रोयल बोटानीक गार्डेन युकेका टोनी सिचिलिङ, टोकियो युनिभर्सिटीका डा. हिरोसी इकेदा र डब्लुडब्लुएफ नेपाललाई पनि कदरपत्र प्रदान गरेको छ ।

वनस्पति समाज नेपालका अध्यक्ष डा. मोहन शिवाकोटीले समाजका आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment