Comments Add Comment

लुक्लाको विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन

Photo Credit : दुर्घटनामा समिट एयरकाे विमान र हेलिकोप्टर

२ बैशाख, काठमाडौं । सरकारले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा भएको विमान दुर्घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ ।

विमान दुर्घटनाको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा समिति नै गठन गरेको हो ।

समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डङ्गोल सदस्य र समिति सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई तोकिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला विमानस्थलमा आइतबार बिहान करिब साढे ९ बजे समिट एयरको ‘नाइन एन एएमएच’ कलसाइन विमान दुर्घटना भएको थियो ।

घटनामा समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको थियो ।  दुर्घटनामा घाइते भएका समिट एयरका पाइलट रवीन्द्र बहादुर रोकाया र हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ सामान्य उपचारपश्चात् घर फर्किसकेका छन् । सोही दुर्घटनामा मनाङ एयरका कर्मचारी लाक्पा शेर्पाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार बिहान समिट एयरको हवाई जहाज काठमाडौंतर्फ उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको ‘नाइनएन एएलसी’ कल साइन हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनालगत्तै हवाई जहाज र हेलिकोप्टर पल्टिएका थिए । त्यसपछि लागेको आगो सुरक्षाकर्मीहरुले निभाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment