Comments Add Comment

आहा ऐंसेलु ! कति रसिलो

यतिबेला पहाडका डाँडा-खर्क पहेंलपुर छन्, ऐंसेलुले । मझौला काँडेदार बुट्यान (झाडी)मा फल्ने यो फल कस्तो हुन्छ ? धेरैले जवाफ दिन सक्छन् । किनभने यो सर्वपि्रय फल हो, सित्तैमा पाइने । हुन त अहिले ऐंसेलु अहिले बिक्री पनि गर्न थालिएको छ । साथै ऐंसेलुको जुसदेखि वाइनसम्म बनाउन थालिएको छ ।

खासगरी पहाडी भीर-पाखामा जताततै पाइन्छ, ऐंसेलु । यो चैत्र-वैंशाख-जेठ महिनामा फल्छ । ऐंसेलु रसिलो, गुलियो हुन्छ । सेता फुलबाट चिचिला लाग्ने र फल पाक्दै जाँदा यो पहेंलो हुन्छ । मुख्य सिजनमा ऐंसेलु लटरम्म फल्छ ।

ऐंसेलुको खास विशेषता भनेको, यसलाई रोप्नु, स्यहार्नु, काटछाँट गर्नुपर्दैन । आफै उमि्रन्छ, फल्छ । त्यो पनि बषौं, बर्षसम्म । ऐंसेलु हत्तपत्त मासिने वनस्पति पनि होइन । यो ज्याद्रो र दीगो हुन्छ । जुनसुकै मौसममा पनि हराभरा हुने ।

अहिले बजारमा थरीथरीका फल पाइन्छ । नेपाली माटोमा नफल्ने र नेपाली जिब्रोमा खासै अभ्यस्त नभएका फलफूल पनि उपलब्ध छ । यसैगरी आयतित फलफूलको व्यवसायिक खेती गरिदैछ । हामीले नसुनेका र नजानेका फलहरु अहिले बजारमा छ्यापछ्याप्ती छ ।

तर, बजारमा उपलब्ध सबै फलको शुद्धतामाथि निर्धक्क हुन सकिदैन । अहिले फल फलाउन, भण्डारण गर्न, आकर्षक देखाउन कतिपय किटनासकदेखि अखाद्य तत्व मिसाउने गरिएको छ । ऐंसेलु भने ढुक्कले खाए हुन्छ । ऐंसेलुका लागि न किटनासक औषधी प्रयोग गर्नुपर्छ, न कुनै रसायन । यो पूर्ण जैविक फल हो ।

यसैगरी अहिले बजारमा वेमौसमी फलफूल बढी देखिन्छ । वेमौसमी खेती गरेर उत्पादन गरिएको वा भण्डारण गरेर वेमौसममा निकालिएको । यस्ता फलफूल भन्दा मौसमी फलफूल बढी उपयोगी र स्वस्थ्यवर्द्धक हुन्छ । यस हिसाबले पनि ऐंसेलु जस्तो निश्चित मौसममा पाइने फल खानु लाभदायक छ ।

कहाँ पाइन्छ ?

ऐंसेलु नेपालको पहाडी भेग लगायत अन्यत्र पनि पाइन्छ । जस्तो, भारत, पाकिस्तान, चीन । यसलाई ‘गोल्डेन हिमालयन रासबेरी’ भनेर चिनिन्छ । कतिपय भेगमा चाहि यसलाई ‘रासबेरी’ नामले पनि चिनिन्छ ।

के पाइन्छ ऐंसेलुमा ?

ऐंसेलु स्वादिलो र रसिलो फल मात्र होइन । यसमा भिटामिन-सि, फिनोल, फ्लेवोनोइड जस्ता सुक्ष्म पोषक तत्व हुन्छ ।

ऐंसेलुको जरामा औषधिय गुण हुन्छ । ज्वरो आउँदा, झाडापखला लाग्दा, ग्याष्ट्रिक हुँदा ऐंसेलुको जरा सेवन गर्नु फाइदाजक हुन्छ । पेटको समस्या, टाउको दुखाई आदिको उपचारमा ऐंसेलुको जरा उपयोगी हुन्छ ।

यसैगरी ऐंसेलुको जराको पेस्ट बनाएर लगाउँदा शरीरका बाहिरी घाउहरु निको हुन्छ । पेस्टिक अल्सरको उपचारमा समेत ऐंसेलुको पात प्रयोग गरिन्छ ।

ऐंसेलु बेचेर आम्दानी

केही समययता नेपालमा ऐंसेलुको वाइन पनि बनाउन थालिएको छ । यसरी वाइनका लागि ऐंसेलुको खपत हुने भएपछि तेह्रथुमका कतिपय भेगका किसानले यसबाट राम्रै्र आयआर्जन लिइरहेको पाइन्छ । केही समयअघि प्रकासित एक समाचार अनुसार त्यहाँका किसानहरुले जंगलमा फल्ने ऐंसेलु बिक्री गरेर एक सिजनमा ७० लाख रुपैयाँ आम्दानी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment