Comments Add Comment

जापानमा जन्मियो विश्वकै सानो बच्चा, वजन स्याउको गेडा जत्तिकै

काठमाडौं । जापानमा विश्वकै अहिलेसम्मको सानो तथा कम तौलको बालकको जन्म भएको छ । गत अक्टोबर महिनामा जन्मिएको भएपनि यो बच्चा बल्ल अस्पतालबाट बाहिर निकालिँदै छ र यसको बारेमा खबर सार्वजनिक गरिएको छ ।

अक्टोबर महिनामा जन्मिएको उक्त बच्चाको वजन केवल स्याउको गेडाजत्तिकै अर्थात् २ सय ५८ ग्राम थियो ।

त्यो बच्चाको नाम रुसुके सेकिया राखिएको छ । आकस्मिक शल्यक्रिया गरी गर्भको २४ हप्तामै बच्चालाई जन्माइएको थियो । तोशिको नामकी गर्भवती महिलामा उच्च रक्तचापको समस्या देखिएपछि २४ हप्ता ५ दिनका दिन उक्त उनको शल्यक्रिया गरी अक्टोबर १ तारेखमा बच्चा बाहिर निकालिएको थियो । त्यसबेला बच्चाको लम्बाई जम्मा २२ सेन्टिमिटर मात्र थियो ।

बच्चा जन्मिएसँगै अस्पतालले उक्त शिशुलाई अति सघन कक्षमा राखेर उपचार सुरु गरे । बच्चालाई ट्युबको सहाराले दूध पिलाइयो । आमाको दूध खुवाउनका लागि कपासको प्रयोग पनि गरिन्थ्यो कुनै बेला ।

यो साता महिनाको बीचमा बच्चाको वजन १३ गुणाले बढेको छ र अहिले बच्चाको तौल ३ किलो भैसकेको छ ।

स्मरण रहोस् यसअघि जापानमै विश्वको सबैभन्दा कम वजनको बालक जन्मिएको थियो जसको वजन जम्मा २ सय ६८ ग्राम थियो । टोकियोमा जन्मिएको त्यो बच्चा भन्दा रुसुकेको वजन जन्मको समयमा १० ग्राम कम भएका कारण उसले दुनियाकै कम तौलको बालकको रेकर्ड कायम गरेको छ ।

अस्पतालबाट बच्चा लिएर घर जाने क्रममा आयोजित पत्रकार सम्मेलनमा रुसुकेकी आमा तोशिकोले जन्मको समयमा छोरा निकै सानो भएको र छुँदा पनि भाँचिन्छ कि जस्तो डर लाग्ने गरेको बताइन् । अहिले भने आफूले बच्चालाई दूध चुसाउने र नुहाइदिने गर्न थालेको र छोरालाई ठूलो भएको देख्दा खुसी लागेको उनले बताइन् ।

विश्वमा सबैभन्दा कम वजन सहित जन्मिएको बालिकाको कीर्तिमान चाहिँ जर्मनीको नाममा रहेको छ । जर्मनीमा सन् २०१५ मा २ सय ५२ ग्राम वजन भएकी बालिकाको जन्म भएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment