Comments Add Comment

चक्रपथको ‘डेडिकेटेड लेन’मा ठूला विद्युतीय बस चलाउन ४ वटा लगानी प्रस्ताव

Photo Credit : फाइल फाेटाे

८ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथमा बस र्‍यापिड ट्रान्जिट (बीआरटी) निर्माण र सञ्चालनका लागि चार लगानी प्रस्ताव आएको छ ।  चक्रपथको २७ दशमलब ३ किमीमा बीआरटी निर्माण र सञ्चालन गर्न चार विकासकर्ताले इच्छा देखाएको लगानी बोर्डले जनाएको छ ।

गत चैत १५ र १६ मा सम्पन्न लगानी सम्मेलनमा बोर्डले १४९.५० मिलियन अमेरिकी डलर (१६ अर्ब ५४ करोड) को लागत लाग्ने बीआरटी परियोजना ‘शो केस’ गरिएको थियो ।

सम्मेलन पश्चात २० अप्रिल (७ बैशाख) अर्थात शनिबारसम्म विभिन्न परियोजनामा प्राप्त लगानी प्रस्ताव बोर्डले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

तर, बोर्डले लगानी प्रस्तावकर्ताको परिचय भने खुलाएको छैन । बोर्डको बिहीबार बसेको ३७औं बैठकले लगानी प्रस्तावका लागि एक महिना (२० मे) सम्म समय थप गरेकाले लगानी प्रस्तावकको नाम नखुलाइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले जानकारी दिए ।

‘ईच्छुक लगानीकर्तालाई लगानी प्रस्ताव पेश गर्न एक महिना समय थप गरेका छौं, प्रस्ताव आउने क्रम जारी नै रहेकाले हालसम्म प्राप्त प्रस्तावकको नाम सार्वजनिक नगर्ने निर्णय गरेका हौं’, उनले भने । बोर्डका अनुसार बीआरटी परियोजनामा ईच्छुकले आउँदो २० मे सम्म लगानी प्रस्ताव पेश गर्न सक्नेछन् ।

लगानी सम्मेलनमा प्रस्तुत गरिएका बीआरटीसहितका २६ वटा परियोजनामा ४३ वटा आवेदन परेको उनले बताए । यसबाहेक आह्वान नगरिएका अन्य पाँच सहित कूल ३१ परियोजनामा हालसम्म ४८ वटा आवेदन परेको बोर्डले जनाएको छ ।

यीमध्ये २७ परियोजनामा प्राप्त लगानी प्रस्तावबारे तीन महिना भित्र टुंगो लगाउने बोर्डको तयारी छ । आर्थिक वर्ष ०७१/७२ कै बजेटमा काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित गर्न धेरै यात्रु क्षमताको बस र्‍यापिड ट्रान्जिट (बीआरटी) को योजना समावेश गरिएको भएपनि अघि बढेको थिएन ।

उपत्यकाको सडक पूर्वाधारले यात्रुको चाप थेग्न नसकेपछि सरकारले धेरै यात्रु क्षमताका ठूला बस सञ्चालनमा जोड दिँदै आएको छ । तर, चक्रपथमा साझा यातायात र केही निजी कम्पनीले थोरै मात्रामा ठूला बस सञ्चालन गरे पनि बीआरटी मोडेलमा भने अहिलेसम्म सञ्चालन भएको छैन । अब वैदेशिक लगानी भित्र्याएरै यो परियोजना अघि बढाउने सरकारको योजना छ ।

यस्तो छ परिकल्पना

चक्रपथमा दुईवटा ‘डेडिकेटेड लेन’ बीआरटीको हुनेछ । साढे ७ देखि ८ मिटरको लेन यसका लागि छुट्याउने योजना छ । १६० यात्रु क्षमताका ७० देखि ७५ वटा लामो आकारको विद्युतीय बस यो लेनमा गुड्नेछन् ।

बीआरटी परियोजना अन्तर्गत २६ देखि ३० वटा चढ्ने(ओर्लने स्टेसन हुनेछन् । यात्रुको सहजताका लागि स्टेशनमा बस आउने–जाने समयतालिकासहित आवश्यक सूचना प्रवाहित हुनेगरी डिजिटल डिस्प्ले राखिनेछ ।

एउटा स्टेशन पाँच मिटर चौडाइको हुनेछ र ६९३ आना क्षेत्रफलमा बीआरटी टर्मिनल बन्नेछ । विद्युतीय बस चार्ज गर्न ३० वटा आधुनिक चार्जिङ स्टेशन बनाउने योजना छ ।

दैनिक २० घण्टा सञ्चालन गर्ने लक्ष्य राखिएको बीआरटी परियोजा सार्वजनिक(नीजि साझेदारी (बूट) मोडेलमा निर्माण गरिनेछ ।
इच्छा देखाएको निर्माण कम्पनीले अब योजना, डिजाइन, निर्माण, वित्तीय व्यवस्थापन, सञ्चालन र मर्मतको काम गर्नुपर्नेछ ।

४ महिनाभित्र सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) सकेर ६ देखि ८ महिनाभित्र विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) र वित्तीय व्यवस्थापन गरिसक्नुपर्नेछ ।

उक्त कम्पनीले २ वर्ष निर्माण सक्नुपर्नेछ । निर्माण कम्पनीले ३० वर्ष सञ्चालन गरेर सरकारलाई हस्तान्तरण गर्ने छ भने निर्माण अवधिमा परियोजनाका लागि आवश्यक सहायताले सरकारले गर्नेछ ।

के हो बीआरटी ?

विकसित देशमा सहरी यातायात व्यवस्थित गर्न धेरै यात्रु बोक्ने ठूला र लामा बस सञ्चालन गर्नेगरी ल्याइएको अवधारण हो( बर्स यापिड ट्रान्जिट (बीआरटी) ।

यसका लागि छुट्दै बस(वे अथवा ट्रान्जिट(वे को व्यवस्था गरिन्छ र त्यो लेनमा धेरै यात्रु क्षमताका ठूला बस गुडाइन्छ । क्षमता बढाएर सार्वजनिक यातायातलाई व्यवस्थित र दिर्घकालीन बनाउन यसको अवधारणा ल्याइएको पाइन्छ ।

छुट्टै डेडिकेटेड लेनमा सञ्चालन हुने भएकाले यसमा यात्रा गर्दा ट्राफिक जामको समस्या भोग्नु पर्दैन । सन् १९७४ मा पहिलो पटक ब्राजिलको क्युरिटीबामा बीआरटी सञ्चालनमा आएको थियो ।

सहरी यातायात व्यवस्थित गर्न यो अवधारणालाई धेरै देशले रुचाएका छन् । ल्याटिन अमेरिकी देश, युरोप, कोलम्बिया, मेक्सिको, चीन, इरान लगायतका देशले पनि अपनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment