Comments Add Comment

पोखरामा पुस्तक साट्दै पुस्तक दिवस मनाइयो

१० बैशाख, पोखरा । पोखरेली साहित्य पाठकहरु मंगलबार विहानै न्यूरोडस्थित हिमालयन रिडर्स कर्नरमा जम्मा भए । कसैको हातमा घरैदेखि लिएर आएका पुस्तक थिए त कसैले पसलबाटै किन्दै थिए । पालैपालो नाम टिपाए र टोकन अंक लिए ।

सम्पूर्ण टोकन एक ठाउँमा जम्मा भएपछि गोलाप्रथाबाट सुरु भयो । कार्यक्रमको नियम थियो, ‘गोला प्रथाबाट एउटा नम्बर थुत्ने । जसको अंक पर्छ । उसले आफूले फेरि गोलाप्रथा गर्नुपर्ने र आएको अंकलाई पुस्तक उपहार दिने ।’

सन्दर्भ थियो – विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पारेर र्‍यान्डम रिडर्स सोसाइटीले गरेको पुस्तक साटासाट कार्यक्रम । युनेस्कोले सन् १९९५ देखि हरेक वर्ष अप्रिल २३ तारिखमा विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाउने घोषणा गरेको थियो । पोखरामा ६ वर्षदेखि सोसाइटीले पुस्तक साटासाट गरेर दिवस मनाउँदै आएको छ ।

र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले पठन संस्कृति बढाउन तथा आफूलाई मन परेका कृति अन्य साथीलाई पढ्नका लागि हौसला दिन पनि पुस्तक उपहार कार्यक्रम आयोजना गरेको बताए । संस्थाका पूर्वअध्यक्ष गनेस पौडेलले एउटाले पढेको राम्रो किताबबारे अर्कोलाई पनि जानकारी दिन जरुरी रहेकाले कार्यक्रम आयोजना गरिएको सुनाए ।

मंगलबार पोखरामा पुस्तक उपहार दिने कार्यक्रममा हालै सार्वजनिक भएको उपन्यास फातसुङ वर्चश्व रह्यो । कार्यक्रममा उपस्थित ५ जनाले फातसुङ उपहार दिएका थिए ।

फातसुङपछि सबैभन्दा बढी उपहार दिइनेमा रमेश सायनको छुटेका अनुहार रह्यो । उक्त कृति ३ जनाले उपहार दिएका थिए । त्यसबाहेक मैदारो, पाठशाला, पैतालालगायतका कृति बढी उपहारमा दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment