Comments Add Comment

बैंग्लोरले पन्जाबलाई हरायो, प्लेअफको दौड रोमान्चक

१२ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले किंग्स इलाभेन पन्जाबलाई १७ रनले हराएको छ । एबी डिभिलियर्सको अभिजित ८२ रनको सहयोगमा बैंग्लोरले पन्जाबलाई २०३ रनको लक्ष्य दिएको थियो । तर पन्जाबले ७ विकेटको क्षतिमा १८५ रन मात्रै बनाउन सक्यो ।

उमेश यादवले ३ विकेट लिए । नवदीप सैनीले २ र मार्कस स्टोयनिस र मोइन अलीले एक-एक विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०२ रन बनाएको थियो । डिभिलियर्सले ४४ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ८२ रन बनाए । उनी म्यान अफ द म्याच भए । मार्कस स्टोइनिसले ३४ बलमा ४६ रन बनाए ।

बैंगलोरका पार्थिव पटेल र कप्तान विराट कोहलीको सुरुवात राम्रो थियो । उनीहरुले पहिलो तीन ओभरमै ३० रनभन्दा बढी बनाए । यद्यपि कोहली धेरै टिकेनन् । उनी १३ रनमै आउट भए । तर पार्थिव पटेलले २४ बलमा ७ चौका र २ छक्काको मद्दतमा ४३ रन बनाए ।

२०३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको पन्जाबको सुरुवात पनि राम्रै थियो । अघिल्ला खेलमा जस्तै यसपटक पनि क्रिस गेल र केएल राहुलको जोडी जमेको थियो । तर जब क्रिस गेल पहिलो विकेटका रुपमा पतन भए पन्जाबको रनको गति सुस्त भयो । गेलले १० बलमा चार चौका र एक छक्काको मद्दतमा २३ रन बनाएर आउट भए । केएल राहुल २७ बलमा ४२ रन बनाएर आउट भए ।

त्यसपछि मध्यक्रमका ब्याट्सम्यानहरुले थोरै-थोरै रनको साझेदारी गर्दै स्कोर त बढाए तर जित दिलाउन सकेनन् । मयंक अग्रवालले ३५, डेभिड मिलरले २४ र निकोलस पुरनले ४६ रन योगदान गरे ।

विराट कोहली नेतृत्वको बैंग्लोरले बुधबार पन्जाबलाई हराएपछि प्लेअफको दौड थप रोमान्चक बनेको छ । यो बैंग्लोरको ११ औं म्याच थियो । उसले यो जितबाट प्लेअफमा पुग्ने सम्भावना जिवित मात्र राखेन, बरु पन्जाबको आगामी यात्रालाई कठिन पनि बनाइदिएको छ । पन्जाबको यो ११ औं म्याचमा छैठौं हार हो ।

यो खेलबाट बैंग्लोर ८ अंकसहित तालिकाको सातौं नम्बरमा पुगेको छ । पन्जाबको टिम १० अंकसहित पाँचौं नम्बरमा कायम छ । बैंग्लोरका लागि अझै तीन म्याच बाँकी छन् । यदि तीनवटै म्याच जितेमा उसको १४ अंक हुने छ । यसो भएमा अन्तिम चारको दौडमा उसको ‘यदि-तर’को समीकरण बल्झिने छ ।

अर्को तर्फ पन्जाबको ११ खेलबाट १० अंक छ । यदि उसले बाँकी बचेका सबै तीनवटै म्याच जितेमा प्लेअफमा पुग्ने छ । यदि एउटा मात्र म्याच हार्‍यो भने पनि ‘यदि-तर’को उल्झन पन्जाबको हकमा पनि लागु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment