Comments Add Comment

दशौँ वर्षसम्म परकम्पन आउन सक्छन् : विज्ञ

१३ वैशाख, चितवन । १३ वैशाख, चितवन । महाभूकम्प गएका क्षेत्रमा दशाैं वर्षसम्म परकम्पन आइरहने विज्ञले बताएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गरेका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो ।

उनका अनुसार जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ । भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको भन्दै उनले यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने बताए । ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्पन आइरहने पौडेलले बताए । जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको सङ्केत परकम्पनले दिने उनले बताए ।

सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्पन मात्र जाने उनले बताए । जमीनमुनिको शक्ति भूकम्पीय तरङ्गले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उनको भनाइ छ ।

विसं १९९० मा पूर्वी नेपालको चैनपुर केन्द्रविन्दु भइ महाभूकम्प जाँदा १० हजार ७०० ले ज्यान गुमाएको भन्दै उनले त्यसको प्रभाव भारतको दरभङ्गासम्म पुगेको बताए ।

विसं २०४५ मा धरानमा ६.४ रेक्टरको भूकम्प गएको भन्दै उनले अब भूकम्पको जोखिम पश्चिम नेपालमा रहेको बताए । पश्चिम नेपालमा ५०० वर्षभन्दा बढीदेखि ठूला भूकम्प नगएको र शक्ति सञ्चय भइरहेको उनको भनाइ छ ।

भूकम्पीय जोखिम कम गर्न सरकारले जनतालाई सचेत गराउनुपर्ने पौडेल बताए । भूकम्पले नभएर संरचनाले क्षति पुर्‍याउने भएकाले बलिया संरचना बनाउन र भूकम्प आउँदा आपतकालीन व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । चार वर्षअघि गोरखाको बारपाकमा केन्द्रविन्दु हुने गरी गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको थियो ।

चार वर्षमा १६ विद्यालय मात्र पुनर्निर्माण

चार वर्षअघि गएको भूकम्पका कारण भत्किएका १५९ विद्यालयमध्ये १६ विद्यालय मात्र पुनर्निर्माण भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना एकाइ (शिक्षा) चितवनले दिएको जानकारीअनुसार भूकम्पबाट भत्किएका संरचनाको पुनर्निर्माणको काम हालसम्म १० प्रतिशत मात्रै भएको हो ।

कार्यालयका प्रमुख भक्तराज सेन्चुरीका अनुसार हालसम्म पुनर्निर्माण गर्नुपर्ने १५९ विद्यालयमध्ये १६ विद्यालयका ४४ कक्षाकोठा मात्रै निर्माण भएका छन् । निर्माण सम्पन्न भएका विद्यालय अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षका रहेका छन् । चालू आर्थिक वर्षमा ३६ विद्यालयका ११५ कक्षाकोठा निर्माणको काम भइरहेको छ ।

कार्यालयका इञ्जिनीयर सरोज श्रेष्ठका अनुसार चालू आर्थिक वर्षका लागि विनियोजित १८ करोड आठ लाख एक हजार ४२५ मध्ये हालसम्म १० करोड ५० हजार खर्च भएको छ । भूकम्प प्रभावित जिल्लामा चितवन कम प्रभावित जिल्लाको रुपमा पर्ने हुँदा शिक्षाको कार्यक्रममा पर्याप्त बजेट नआउँदा कामको प्रगति कम देखिएको उहाँले बताए ।

कार्यालय प्रमुख सेन्चुरीका अनुसार १५९ विद्यालयमध्ये कतिपय विद्यालय मर्मतसम्भारमा मात्रै परेका छन् । त्यस्ता विद्यालयको पनि काम भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment