Comments Add Comment

कक्षा १२ को परीक्षा सुरु, ३४ हजार ४९० जनशक्ति परिचालन

१५ वैशाख, काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । साधारण तथा प्राविधिक विषय समूहतर्फको परीक्षा आइतबार बिहान ७ बजेबाट देशभर सुरु भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ४ लाख २८ हजार ५२ विद्यार्थी सहभागी भइरहेका छन् । यो साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको कूल संख्या हो ।

वैशाख २६ गतेसम्म चल्ने परीक्षाका लागि देशभर १ हजार १०७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षामा काठमाडौंबाट सबैभन्दा धेरै र मनाङबाट सबैभन्दा कम विद्यार्थी सहभागी छन् । बोर्डका अनुसार काठमाडौंबाट ६२ हजार ५८८ परीक्षार्थी सहभागी भइरहेका छन् भने मनाङमा मात्रै ५९ विद्यार्थीले परीक्षा फर्म भरेका छन् ।

परीक्षा केन्द्रमा सिसी क्यामरा

गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्न पत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा त्यस्तो त्रुटी नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसी क्यामरा जडान गरेको छ । बोर्डले केन्द्र नजिकै सिसीटिभीसहितको सुरक्षा घेराभित्र रहेको कक्षबाट प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत बोक्न निषेध गरेको छ ।

परीक्षामा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयबाहेक अन्यलाई मोबाइल फोन लैजान निषेध गरिएको छ । परीक्षामा प्रश्नपत्रमा समस्या आए वा प्रश्नपत्र गलत भए तत्काल केन्द्राध्यक्षसँग सूचना पुग्ने गरी ‘बल्क एसएमएस’को व्यवस्था गरेको छ भने कुनै त्रुटि देखिए बोर्डको मुख्यालयमा रहेको विज्ञ समूहले त्रुटि सच्याएर बोर्डलाई जानकारी गराउँदै यसबारे सबै केन्द्रमा जानकारी गराउने व्यवस्था गरेको छ ।

परीक्षामा एक हजार १०७ केन्द्राध्यक्ष, एक हजार ४८९ सहायक केन्द्राध्यक्ष, १५ हजार १०७ निरीक्षक, एक हजार ४८९ कर्मचारी, दुई हजार २१४ कार्यालय सहयोगी र १३ हजार १८४ सुरक्षाकर्मीसहित ३४ हजार ४९० जनशक्ति परिचालन गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment