Comments Add Comment

एम्बुलेन्सका लागि महानगर र नेपाल एम्बुलेन्स सेवाबीच सम्झौता

१६ वैशाख, काठमाडौं । अस्पताल पूर्वको आकस्मिक स्वास्थ्य सेवाको अभावमा हुने मृत्युजन्य क्षति कम गराउन काठमाडौं महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँग सहकार्य थालेको छ ।

आइतबार काठमाडौंको राष्ट्रिय सभा महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जित आचार्यले संयुक्त व्यवस्थापनमा एम्बुलेन्स सेवा -अस्पताल पूर्व आकस्मिक स्वास्थ्य सेवा) सञ्चालन तथा व्यवस्थापनका लागि सम्झौता-पत्रमा हस्ताक्षर गरेपछि सहकार्य थालनी भएको हो ।

सम्झौतापछि काठमाडौंमा भएका ६ वटा एम्बुलेन्समा महानगरका प्रमुख र उपप्रमुखले ‘महानगरको सहकार्यमा सञ्चालित एम्बुलेन्स सेवा’ लेखिएको स्टिकर टाँसेर सहकार्य शुभारम्भ गरिएको थियो ।

सहमति पत्रमा हस्ताक्षर एवं सहकार्य शुरुवात्का अवसरमा बोल्दै मेयर शाक्यले बैशाख १५ गते महानगरबासीका लागि ऐतिहासिक दिन भएको प्रतिक्रिया दिए ।

‘यो हरेक नागरिकको जीवनसँग जोडिएको छ । एम्बुलेन्स चढ्ने चाहना कसैको हुँदैन तर नचढी पनि हुँदैन । मानव जीवन रक्षाका लागि महानगरले थालेको यो काम हरेक महानगरबासीका लागि महत्वपूर्ण छ,’ मेयर शाक्यले भने ।
मेयर शाक्यले सहरी सुव्यवस्था कायम गराउन थालेका कामका बिषयमा पनि जानकारी गराए ।

उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले एम्बुलेन्स सेवाबाट करदाताले तिरेको करमा न्याय भएको टिप्पणी गरिन् । जनतालाई आवश्यक परेको सेवा व्यवस्थापन गर्न सक्नु नै जनप्रतिनिधिको योग्यता भएको भनाइ थियो ।

कार्यक्रममा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एवं महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले एम्बुलेन्स सेवामा महानगरको सहकार्यलाई अहिलेसम्मकै उत्कृष्ट कार्यक्रमका रुपमा चर्चा गरे ।

‘अरु पनि काम भए तर यो जत्तिको मानव सुरक्षामा काम हुने अरु काम छैनन्,’ कोइरालाले भने ।

कार्यक्रममा पाटन स्वास्थ्य प्रतिष्ठानका उपकुलपति डा. भरतकुमार यादवले एम्बुलेन्सको दिगो सञ्चालनमा जोड दिए ।

‘एम्बुलेन्स सेवा व्यवसायिक होइन तर यसलाई व्यवसाय बनाएको पनि भेटिएको छ । त्यसप्रकारका बिकृति न्युनीकरण गर्न महानगर र एम्बुलेन्स सेवाबीचको सहकार्य नमूना बन्छ’ उनले भने ।

२०६८ बैशाख १ गतेदेखि काठमाडौंमा शुरुवात् गरिएको यो सेवा अहिले चितवन, पोखरा र बुटवलमा पनि सञ्चालनमा छ । यसमा सेवा लिन १०२ नं. मा फोन गर्नुपर्छ । यसप्रकारको सहकार्यबाट अब बिरामीले एम्बुलेन्स आएपछि दक्ष जनशक्ति र प्रारम्भिक स्वास्थ्य उपचारका लागि औषधि र उपकरण प्राप्त गर्नेछन् ।

यसका लागि आकस्मिक सेवाका आवश्यक प्रबिधि, औषधि तथा उपकरणसहितको एम्बुलेन्समा आकस्मिक सेवामा तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मी परिचालन हुनेछन् । जनशक्ति र उपकरणसहित एम्बुलेन्स बिरामीकोमा पुग्नासाथ उपचार शुरु हुनेछ । यसो भएपछि अहिले घर र अस्पतालका बीचमा उपचारका अभावमा मृत्यु वरण गरिरहेका बिरामीको संख्यामा कमी आउनेछ ।

सम्झौताबमोजिम ७० वर्ष पूरा भएका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई यो सेवा निःशुल्क उपलब्ध हुनेछ । त्यस्तै वडा कार्यालयको सिफारिसमा बिपन्न, गरिब र बेसहारा व्यक्तिहरुलाई पनि निःशुल्क सेवा दिइनेछ । यो सम्झौता आगामी ५ वर्षका लागि गरिएको हो ।

सेवा सञ्चालन गर्न महानगरले एम्बुलेन्स सेवालाई मासिक प्रति एम्बुलेन्स एक लाख बीस हजार रुपैयाँ अर्थात् १० वटालाई १२ लाख रुपैयाँ उपलब्ध गराउने छ । यसका लागि महानगरको चैत्र २१ गतेको कार्यपालिका बैठकले निर्णय गरेको थियो ।

त्यस्तै चैत्र २४ गते सम्पन्न नगरसभाले एम्बुलेन्स सञ्चालनका लागि बजेट र सहकार्यलगायत बिषयमा निर्णय गरेको थियो ।  संयुक्त व्यवस्थापनमा सञ्चालित एम्बुलेन्सको दायाँ बायाँ भागमा “काठमाडौं महानगरपालिकाको सहकार्यमा सञ्चालित एम्बुलेन्स सेवा” लेखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment