१६ वैशाख, काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश ५ मा हालै सम्पन्न भयो । प्रतियोगिताले नेपाली खेल क्षेत्रमा नयाँ रक्तसञ्चार त गरेको छ, तर व्यवस्थापकीय पक्षमा भने सन्तोष मान्ने ठाउँ छैन ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीको जमघटले एक सातासम्म यस क्षेत्रको माहोल खेलमय बनेको थियो । खासगरी बाँकेको नेपालगञ्ज र दाङको तुल्सीपुरमा छुट्टै रौनक देखिन्थ्यो । नयाँ गन्तव्यमा खेलाडी पनि रमाए । यस प्रतियोगितालाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) को छनोटका रुपमा लिइएको थियो ।
प्रतियोगितामा थुप्रै किर्तिमानी प्रदर्शन भएका छन् । विशेषगरी पौडीकी गौरिका सिंह प्रतियोगितामा छाइन् । जिम्न्यास्टिकका राजु राई, एथ्लेटिक्सकी चन्द्रकला लाम्गाडे, आशिष चौधरी, तेक्वान्दोका कमलबहादुर श्रेष्ठ, ब्याडमिन्टनका दिपेश धामी लगायतका खेलाडीको पनि निकै चर्चा भयो । ५ हजार २ सय ११ जना खेलाडीको सहभागिता रहेको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषदले निकै सफल मानेको छ ।
राखेपका सदस्य सचिव केशवकुमार बिष्टले आठौं राष्ट्रिय खेलकुद भब्यताका साथ सम्पन्न भएको बताए । उनी भन्छन्, ‘विभिन्न चुनौतीका बाबजुद हामीले प्रतियोगिता सफल बनायौं ।’
भौतिक संरचनामा प्रगति
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भौतिक संरचनाको हिसाबले केही सफल भएको मान्नुपर्छ । नेपालगञ्ज रंगशालाको निर्माण, कभर्डहल, पौडी पोखरी, जुडो हल, शुक्र भलिबल रंगशाला निर्माण, क्रिकेट मैदान, सुटिङ रेन्ज, फुटबल मैदान, एथ्लेटिक्स ट्रयाक, तेक्वान्दोको कभर्डहल, क्रिकेट मैदान लगायतमा सरकारले राम्रै लगानी गरेको थियो ।
प्रतियोगिताकै लागि भनेर सरकारले बाँकेमा ४८ करोडभन्दा बढीको भौतिक संरचना निर्माण गर्यो । त्यस्तै बाँके, बर्दिया दाङ, कपिलवस्तु र रुपन्देहीमा पनि पूर्वाधारमा लगानी गरियो । यो एउटा सकारात्मक पाटो हो । तर पनि केही विधाका खेलाडीले भने दुखै पाए । जस्तो, ह्यान्डबल, पौडी ।
यतिबेला अर्को महत्वपूर्ण प्रश्न उठ्न थालेको छ ? राष्ट्रिय खेलकुदका लागि निर्माण गरिएको भौतिक संरचनाको संरक्षण हुन्छ ? विगतमा भएका राष्ट्रिय खेलकुद प्रतियोगिताको नजिर हेर्ने हो भने चिन्ताको विषय बन्न सक्छ ।
नेपालगञ्ज उपमहानगरापालिकाका मेयर धवलशमशेर राणाले पत्रकार भेटघाट कार्यक्रममै भने, ‘अब यसको संरक्षणको चिन्ता हो ।’
राष्ट्रिय खेलकुद परिषद्को स्वमित्वमा रहे पनि जिम्मेवारी लिन तयार रहेको भन्दै मेयर राणाले थप निर्माणलाई पनि अघि बढाउनु पर्नेमा जोड दिएका थिए ।
त्यसो त, आठौं खेलकुदका लागि भनेर निर्माण गरिएको भौतिक संरचना निर्माण पूरा भइसकेको छैन । रंगशालाको निर्माण, पौडी पोखरी, शुक्र भलिबल रंगशाला, कोहलपुर क्रिकेट रंगशाला, दाङको रंगशाला लगायतका थुप्रै खेलमैदानहरु अझै निर्माण गर्न बाँकी छ ।
मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले प्रतियोगितापछि पनि कामले निरन्तरता पाउने दावी गरे । उनले भने, ‘प्रतियोगिताअघि जुन हिसाबले काम भइरहेको थियो, पछि पनि त्यही गतिमा काम हुनेछ । कुनै शंका गर्नु पर्ने ठाउँ राखिदैन ।’
पौडीमा धोका
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका अन्य खेलहरु तोकिएकै स्थानमा सम्पन्न भए । तर पौडीमा भने दुखद स्थिति भयो ।
अत्यधिक लगानी गरेर नेपालगञ्ज रंगशाला परिसरभित्र निर्माणाधीन पौडी पोखरी समयमै सम्पन्न हुन सकेन । खेल सुरु हुने अघिल्लो दिनसम्म सबैलाई कुराएर अन्तिम समयमा प्राइभेट होटलको पौडी पोखरीमा खेल गर्नुपर्यो ।
यसरी कुनै होटलको पौडी पोखरीमा प्रतिस्पर्धा गर्नुपर्दा खेलाडीहरु पनि निराश बने । लङ कोर्समा प्रतियोगिता गर्ने तयारी भए पनि निर्माण नसक्दा सर्ट कोर्सकै पौडी पोखरीमा खेल आयोजना गर्नुपर्यो ।
१४ करोड २८ लाख रुपैयाँ बढी लागतमा निर्माणाधीन अवस्थामा रहेको पौडी पोखरी तोकिएकै समयमा सकिएन । सरकारको ढिलाइको कारण यसको मार खेलाडीले भोग्नु बाध्य बन्यो ।
आयोजकको गम्भीर गल्ती
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितासम्म आईपुग्दा पनि राखेप निकै कच्चा देखिएको छ । साथै आयोजक प्रदेश ५ पनि केही कुरामा नराम्ररी चिप्लियो ।
आयोजक प्रदेश ५ को खेलकुद विकास समितिले एपीएफ क्लबले ५१ स्वर्ण ६५ रजत र ७० कास्य पदक जित्दै दोस्रो भएको घोषणा गर्यो । जबकी एपीएफ ५४ स्वर्ण ६९ रजत र ८० कास्य पदक जितेर तेस्रो भएको थियो ।
यता, दोस्रो भएको पुलिसलाई तेस्रो भएको भन्दै आयोजकले ट्रफी वितरण गरेको थियो । पुलिसले ४९ स्वर्ण ५५ रजत र ४४ कास्य पदक जितेको घोषणा गरेको थियो । तर पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ कास्य पदक जित्दै आठौंको दोस्रो स्थानमा रहन सफल भएको थियो ।
आयोजकले पुलिस र एपीएफलाई मात्रै हैन शीर्ष स्थानमा रहेको आर्मीको पदक संख्या पनि गलत प्रस्तुत गरेको थियो । आयोजकले घोषणा गरेकोमा आर्मीले १३७ स्वर्ण ७७ रजत र ६६ कास्य पदक उल्लेख थियो । तर आर्मीले १४० स्वर्ण, ८२ रजत, ६७ कास्य पदक जितेको थियो ।
यसरी गलत नतिजा प्रस्तुत गर्दै गर्दा चारैतिरबाट आवाज उठेसँगै पछि त्यसलाई सच्याइएको थियो । आयोजक र राखेपबीच समन्यव नहुँदा यस्तो लगत परिणाम प्रस्तुत भएको हो ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4