
१७ वैशाख, विराटनगर । दुई बर्षअघि बाढीले भत्काएको पुल नबन्दा मोरङको बेलबारीका वासिन्दालाई आवतजावतमा समस्या भएको छ ।
२०७४ साउन २८ गते लोहन्द्रा खोलामा आएको बाढीले बेलवारी नगरपालिका ६ स्थित १ सय ७७ मिटर लामो पुल भत्काएको थियो । तर हालसम्म पुल नबन्दा बेलबारीको वडा नं १, २, ३ र ५ का वासिन्दा तीन घण्टासम्म हिँडेर कानेपोखरीसम्म पुगेर खोला तर्नुपर्ने बाध्यता छ ।
पुल निर्माण नहुँदा एम्बुलेन्सलगायतका साधन पनि पूर्वपश्चिम राजमार्ग प्रयोग गरी विराटनगर पुग्नुपर्ने बाध्यता रहेको स्थानीय राम कामतले बताए ।
हिउँदमा गाडीले खोला तर्न सक्ने भए पनि वर्षायाममा समस्या छ । ‘बर्खायाममा सिमानको गाउँसंगको आउजाउ पनि बन्द हुन्छ, केही आपत प¥यो भने, खोलापारीको गाउँ पुग्ने कम्तीमा तिन घण्टा लाग्छ’ उनले भने ।
पुल नहुदा बर्खाको बेलामा विद्यार्थी स्कुल जान पनि समस्या छ । बेलबारी ३ का रुद्र बुढाथोकीले सरकारी निकायले पुल निर्माणप्रति बेवास्ता गर्दा १ घण्टामा पुग्न सकिने विराटनगर पुग्न अहिले तीन घण्टासम्म लाने बताए ।
बुढाथोकीले भने, ‘खोलाले पुल भत्काएको यतिका समय भइसक्यो, पुल नहुँदा खोलापारीको गाउँ र वारीको गाउँको सम्बन्धबिच्छेद भएको छ ।’
सुनसरी–मोरङ सिचाई आयोजनाले पुल निर्माणको लागि हालै विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ । आयोजनाको प्रमुख हरेराम श्रेष्ठले पुल निर्माणको लागि लागत अनुमान पनि तयार भइसकेको भन्दै दुई वर्षभित्र पुल निर्माण सक्ने दावी गरे ।
‘पुलको निर्माण प्रक्रिया अघि बढाउन डीपीआरसहितको प्रतिवेदन सिञ्चाई विभागमा पठाएका छौं, पास भएर आएलगतै काम शुरु हुन्छ’ उनले भने ।
प्रतिक्रिया 4