
२३ वैशाख, भोजपुर । भोजपुरबाट एक सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
रामप्रसाद राई गाउँपालिका-३ भुल्के घर भइ हाल भोजपुर नगरपालिका भोटेपसल बस्ने ३० वर्षीया कल्पना राईको शिशु जन्मिपछि घण्टौसम्म रक्तश्राव नरोकिएपछि जिल्ला अस्पताल भोजपुरले थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरेको थियो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमको आमा सुरक्षा कार्यक्रम अन्तरगत कल्पनाको ‘एयर लिफ्ट’बाट उद्दार गरिएको हो ।
कल्पनालाई नेपाली सेनाको हेलिकोप्टरबाट विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका लागि लगिएको श्रीमान किशोर राईले बताए । ‘निकै आत्तिएको थिएँ । अब चाहीँ ठाउँमा पुग्ने भएँ । मेरी श्रीमती बाँच्ने भइन् सरकार मेरो लागि भगवान नै भएको छ,’ उनले भने ।
राईको सोमबार विहान साढे ३ बजे घरमै डेलिभरी भएको थियो । सालनाल झरेपछि अचेत अवस्थामा रहेको र उल्टी हुन थालेपछि उनलाई अस्पताल लगिएको थियो ।
उपचारमा संलग्न डाक्टर पवित्रा श्रेष्ठका अनुसार गर्भाअवस्थामा उनले नियमित स्वास्थ्य जाँच नगराएकाले यो समस्या देखिएको हो । ‘अहिले पनि अस्पतालमा उपचार गर्न मान्नु भएन, हामीले जबरजस्ती नै अर्धचेत बनाएर उपचार गर्यौं तर रक्तश्राव रोकिएन झन जोखिम बढेर गयो,’ डा श्रेष्ठले भनिन् । शिशुको स्वास्थ्य अवस्था भने राम्रो छ ।
कल्पनाको यो शिशुको जन्मसहित ४ सन्तान भए । यसअघि तेस्रो सन्तानको पनि जन्मिने वित्तिकै मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया 4