२३ वैशाख, काठमाडौं । पाकिस्तान महिला क्रिकेट टिमले दक्षिण अफ्रिका महिला क्रिकेट टिमलाई उसैको भूमिमा पहिलो पटक पराजित गरेको छ ।
पाकिस्तानले दक्षिण अफ्रिकालाई एकदिवसीय अन्तर्राष्ट्रिय महिला क्रिकेटमा ८ विकेटले पराजित गरेको हो । पाकिस्तानले दक्षिण अफ्रकालाई पराजित गर्ने क्रममा रेकर्ड पनि कायम गरेको छ । पहिलो पटक पाकिस्तानले दक्षिण अफ्रिकालाई उसैको भूमिमा पराजित गरेको हो भने एकदिवसीय क्रिकेटमा सबैभन्दा बढी बल अन्तरमा जित हात पारेको हो ।
६४ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले १४.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । पाकिस्तानका लागि जाभेरिया खानले अविजित ३४ रनको योगदान दिइन् । त्यस्तै, कप्तान विस्माह मारोफले अविजित १२ रन बनाइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २२.५ ओभरमा सबै विकेटको क्षतिमा ६३ रन मात्रै बनाएको थियो । यो महिला एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा दोस्रो कम स्कोर हो ।
दक्षिण अफ्रिकाका लागि दुई जना खेलाडीले मात्रै दोहोरो अंक बटुले । चलोइ ट्रियोनले २१ र मिकनन डु परिजले १८ रन बनाएकी थिइन् ।
दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानकी सना मिरले उत्कृष्ट बलिङ गरिन् । उनले ६ ओभर बलिङ गर्दै एक ओभर मेडन सहित ११ रन खर्चिएर ४ विकेट लिइन् ।
तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय महिला क्रिकेट सिरिजमा पाकिस्तानले १-० ले लिड गरेको छ ।
प्रतिक्रिया 4