Comments Add Comment

म्यानचेस्टर सिटी र लिभरपुलको लुकामारी, उपाधि अन्तिम खेलबाट टुंगो लाग्ने

Photo Credit : प्रिमियर लिग

२४ वैशाख, काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीलाई पराजित गर्दै उपाधि नजिक पुगेको छ ।

सोमबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । योसँगै अब उपाधि भिडन्त झनै रोचक बनेको छ ।
म्यानचेस्टर सिटीको जितमा निर्णायक गोल भिसेन्ट कम्पनीले गरे । उनकै गोलको कारण सिटी उपाधि नजिक पुगेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको सिटीले दोस्रो हाफमा भने गोल गर्न सफल भयो । खेलको ७०औं मिनेटमा भिसेन्टले गोल गरेका थिए । बाँकी समयमा गोल हुन नसकेपछि सिटी १-० गोलको कठिन जित निकाल्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

यो खेलमा म्यानचेस्टर सिटीले हार या बराबरी खेलेको भए उपाधि यात्रामा कठिन हुने थियो । अब उपाधिको छिनोफानो अन्तिम खेलबाट हुने छ ।

३७ खेलबाट ९५ अंक जोडेको म्यानचेस्टर सिटी लिगको शीर्ष स्थानमा उक्लिदा यसअघि शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानमा झरेको छ । लिभरपुलको पनि समान ३७ खेलबाट ९४ अंक छ ।

लिगको अन्तिम खेलमा म्यानचेस्टर सिटीले बि्रग्टनसँग प्रतिस्पर्धा गर्नेछ । यता, लिभरपुलले घरेलु भने उल्भ्ससँग खेल्नेछ । अब म्यानचेस्टर सिटीले उपाधिका लागि जित्नैपर्ने हुन्छ ।

तर लिभरपुलको पनि उपाधि जित्ने सम्भावना भने कायमै रहेको छ । म्यानचेस्टर सिटीले बराबरी खेलको अवस्थामा या पराजित भएमा र यता आफ्नो खेलमा लिभरपुलले जित हात पारेमा उपाधि आफ्नो पोल्टामा पार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment