Comments Add Comment

प्रभावकारी बन्दै २० किलो अनुदान चामल

२५ वैशाख, हुम्ला । साविक कर्णालीलगायतका हिमाली जिल्लामा सरकारले दिँदै आएको जन्म र मृत्यु भएका प्रतिघरपरिवारलाई २० किलो चामल हुम्लामा प्रभावकारी बन्दै गएको छ ।

गत साउनदेखि वैशाख १५ गतेसम्म जन्ममा २५० लाई २० किलोका दरले ५० क्विन्टल चामल वितरण गरेको नेपाल खाद्य संस्थान, हुम्ला शाखाका प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।

मृत्यु भएका १०३ लाई २० किलोका दरले २० क्विन्टल ६० किलो चामाल वितरण भएको खाद्य संस्थान शाखा कार्यालय हुम्लाले जानकारी दिएको छ ।

यो सेवा लिनका लागि नेपाल खाद्य संस्थान हुम्लाले छ महिनाको अवधि राखेर जन्मको हकमा बच्चा अस्पतालमा जन्मेको जन्मको प्रतिवेदन तथा बच्चाको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडापालिकाको सिफारिश र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडापालिकाको सिफारिश र सेवा लिन आउने सेवाग्रहीको नागरिकता लिएर सेवा प्रवाह गर्दै आएको छ । सिमकोट आसपसाका गाउँमा ढुवानी रु ५०० दिएको छ भने अन्य टाढाका गाउँका बासिन्दालाई रु एक हजार ढुवानीका लागि रकम दिने गरेको नेपाल खाद्य संस्थान, हुम्लाले जानकारी दिएको छ ।

सरकारले कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा २० किलो चामल निःशुल्क दिने गरेपछि हुम्लाका बासिन्दालाई सहज भएको नेपाल खाद्य संस्थान कार्यालय हुम्लाले बताएको छ । २० किलो चामल उपलब्ध हुँदा गरीब घरका मृतकका परिवारलाई केही हदसम्म भए पनि राहत भएको र जन्ममा सुत्केरी महिलाको खाद्य सुरक्षामा सहयोग पुगेको सिमकोट गाउँपालिका–२ का नवराज भण्डारीले बताए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा कर्णालीका नागरिकको जन्म र मृत्यु संस्कारमा २० किलो चामल दिने घोषणा गरेका थिए । कर्णाली र हिमाली जिल्लालाई होच्याएर कार्यक्रम ल्याइएको भन्दै यसको विरोध भएको थियो ।

आफूलाई बुझ्ने ठान्नेमध्येका थोरैले सरकारको सकरात्मक सम्बोधन भएको प्रतिक्रिया दिए तर धेरैले कर्णालीवासीलाई जन्म र मृत्युको २० किलो चामलसँग दाँजेर अपमान गरेको रोषपूर्ण अभिव्यक्ति प्रकट गरे । यद्यपि पछिल्लो समयमा तत्कालीन सरकारले सम्बोधन गरेको जन्म र मृत्यु संस्कारमा गरिँदै आएको चामल वितरण कार्य भने प्रभावकारी बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment