Comments Add Comment

दिल्ली र हैदरावाद क्वालिफायरका लागि भिड्दै, सन्दीपको सम्भावना कति ?

२५ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको इलिमिनेटर राउण्डमा आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ ।

आज राति ७ बजेर ४५ मिनेटमा आईपीएलको प्लेअफअन्तर्गत यो खेल हुन लागेको हो । दुबै टिम जित हात पार्दै दोस्रो क्वालिफायरमा प्रवेश गर्न आतुर छन् ।

दिल्लीले जारी आईपीएलको लिग चरणमा १४ खेलबाट ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर तेस्रो स्थान कब्जा गरेको थियो । यता, हैदरावादलाई भने यो पटक भाग्यले साथ दियो । मुम्बईले कोलकत्ता नाइट राइडर्सलाई पराजित गरेसँगै हैदरावाद प्लेअफमा पुगेको हो । यदी कोलकत्ताले जितेको भए हैदरावाद आउट हुने थियो ।

हैदरावादले १४ खेलमध्ये ६ खेलमा जित र ८ खेलमा हार ब्यहोर्दै १२ अंक बनाएको थियो । १२ नै अंक बनाएको कोलकत्ता र किंग्स इलाभेन पञ्जाब भने नेट रनरेटमा पछि पर्दै आईपीएलबाट बाहिरिएका हुन् ।

हैदरावाद र दिल्ली दुबैले लिग चरणको खेलमा नतिजा बाँडेका थिए । दिल्लीले होम गेममा हैदरावादसँग ५ विकेटले पराजय भोगेको थियो । तर अवे खेलमा भने दिल्लीले हैदरावादलाई ३९ रनले पराजित गरेको थियो ।

सन्दीपको सम्भावना कति ?

दिल्ली र हैदरावादको भिडन्तअघि नेपाली क्रिकेट समर्थकहरुको ध्यान भने सन्दीप लामिछानेले मौका पाउँछन् कि पाउँदैनन् भन्नेमा छ । कमजोर प्रदर्शनका कारण सन्दीप पछिल्ला दुई खेलमा बेन्चमा राखिएका छन् ।

अहिलेसम्म ६ खेलबाट ८ विकेट लिएका सन्दीपले पछिल्लो पटक रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध खेलका थिए । जुन खेलमा महंगो बलिङ गरे र कुनै विकेट लिन सकेनन् । त्यसपछि दिल्लीले उनलाई प्लेइङ सेटमा राखेको छैन ।

हैदरावादविरुद्धको खेलमा पनि सन्दीपले खेल्न पाउने मौका निकै कम रहेको बताइन्छ । किनभने पछिल्लो समयमा दुई भारतीय स्पिनर अमित मिश्र, अक्षर पटेलले उत्कृष्ट बलिङ गरिरहेका छन् । चार विदेशी खेलाडीको कोटामा पर्न सन्दीपले किमो पाउल, ट्रेन्ट बोल्ट, कोलिन मुन्रो, कोलिन इन्ग्राम, सेफर्न रुथरफोर्ड र किमो पाउलमध्ये दुई जनालाई पन्छाउनुपर्ने हुन्छ । प्रमुख बलर कंगिसो रबाडा र अलराउन्डर क्रिस मोरिस भने म्याचमा उपलब्ध छैनन् ।

दिल्लीले रबाडाको स्थानमा ट्रेन्ट बोल्टलाई खेलाउने पक्का जस्तै छ । ब्याटिङ पनि गर्न सक्ने भएकाले किमो पाउलले मौका पाउन सक्छन् । इन्ग्रामले पनि हरेक म्याचमा खेल्दै आएका छन् । यस्तै सेफर्न रुथरफोर्डलाई पनि प्लेइङ ११ मा राखिने सम्भावना छ । त्यसैले सन्दीप यसपाली पनि बेन्चमै बस्नुपर्ने हुन सक्छ ।

यदि आजको म्याचमा दिल्ली हार्‍यो भने उसको यो आईपीएल यात्रा समाप्त हुनेछ । जितेको खण्डमा चेन्नई सुपरकिङ्ससँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment