Comments Add Comment

पूर्वअर्थमन्त्रीलाई अर्थमन्त्रीको घोचपेच : जीडीपी त थाहा होला नि ?

Photo Credit : रासस

२५ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा सामान्यतया निकै शान्त देखिन्छन् । तर, बुधबार एक कार्यक्रममा उनको एक पूर्वअर्थमन्त्रीसँग घोचपेच चल्यो ।
प्रतिनिधिसभाको अर्थसमिति बैठकमा पूर्वअर्थमन्त्री तथा कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीसँग अर्थमन्त्रीको घोचपेच चलेको हो ।

अर्थसमितिले दुई टोली बनाएर सातवटै प्रदेशमा गएर आगामी बजेटको विषयमा सुझाव लिएको थियो । प्रारम्भिक प्रतिवेदन तयार पारेर बुधबार छलफल गर्न अर्थमन्त्री डा. खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल लगायतलाई समितिले बोलाएको थियो ।

सांसदहरु बोलिसकेपछि आयोगका उपाध्यक्ष बोले । धेरै विषयवस्तुहरु बजेटसम्बन्धी भएका कारण जवाफ दिने जिम्मेवारी अर्थमन्त्रीको भागमा थियो । अर्थमन्त्रीले शुरुमा समितिलाई धन्यवाद दिदै भाषण शुरु गरे ।

केही सांसदहरुले आगामी बजेटमा डीपीआर तयार नगरिएका आयोजनाहरुमा बजेट विनियोजन गर्न नहुने बताएका थिए । त्यसमा सहमत देखिएका अर्थमन्त्री खतिवडाले समितिले निर्देशन दिए आफूलाई आपत्ति नभएको बताए ।

लगत्तै पूर्वअर्थमन्त्री कार्कीले भने, ‘अर्थमन्त्रीज्यू आफूलाई सहज हुने कुरामा निर्देशन दिनुस् नभन्नु न, पहिले दिएका निर्देशन पालना गर्नुहोस् ।’

पूर्वअर्थमन्त्री कार्कीको यो भनाइले भने खतिवडालाई चिढ्यायो । उनले व्यंग्यात्मक जवाफ फर्काउँदै भने, ‘यहाँ पनि अर्थमन्त्री हुँदा मान्नु नै भएको थियो होला, झन् हामीले त नमान्ने कुरै हुँदैन ।’ त्यसपछि केहीबेर अघि कार्कीले भनेको एक प्रसंगले अर्थमन्त्रीले सम्झिए ।

‘ए साँच्चि, मन्त्रीज्यूले अघि अर्थतन्त्रको गति भन्दै हुनुहुन्थ्यो गति नाप्ने चाहिँ जीडीपी हो । यति त थाहा होला नि ? मैले बताइदिएँ । गति नाप्ने कुरा जानकारी दिन मन लाग्यो ।’
यति भनेर फिस्स हाँस्दै अर्थमन्त्रीले कुरा अर्कैतिर मोडे । पूर्वअर्थमन्त्री कार्कीले उनलाई ‘म तपाईसँग बस्नु पर्ने छ’ मात्रै भने ।

कार्कीले त्यसअघि भनेका थिए, ‘विज्ञ अर्थमन्त्री हुनुहुन्छ, मुख्य कुरा जनताले के पाउने त्यो महत्वपूर्ण कुरा हो । अर्थतन्त्रको गतिका बारेमा स्पष्ट भएर काम गर्नुपर्‍यो ।’

पूर्वअर्थमन्त्री कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै पहुँचका आधारमा योजना पर्न नहुनेमा जोड दिएका थिए । प्रधानमन्त्री ओलीले योजना आयोगमा बुझाएको आफ्नो निर्वाचन क्षेत्रका ६८ आयोजनातर्फ उनको संकेत थियो । उनले मुलुकमा १६५ निर्वाचन क्षेत्र रहेको ख्याल गर्न सरकारलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment