+
+
Shares
एमाले बैठकमा बहसको कोण :

शंकरको लाइन : एमाले सुधार्ने, अध्यक्ष हटाउन नलाग्ने

‘आजको बैठकमा शंकर पोखरेल र विष्णु पौडेलले हिजो अध्यक्षले गर्न खोजे जसरी हललाई उत्तेजित पार्नेगरी बोलेनन् । बैठकमा चर्कोचर्को कुरा गरेको भए हल उत्तेजित हुने, तर परिणाम केही आउने हुन्थ्यो ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते २१:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले पुनर्गठनलाई वैचारिक र संगठनात्मक सुधारका रूपमा व्याख्या गर्दै ओली हटाउने प्रस्ताव नभएको स्पष्ट पारेका छन्।
  • पोखरेलले अध्यक्षसँग दूरी नरहेको, पार्टीभित्रका कमजोरी स्वीकार गरेर मात्र समाधान खोज्नुपर्ने र कार्यदलको प्रतिवेदन छलफलमै ल्याउनुपर्ने धारणा राखेका छन्।
  • बैठकमा १२६ केन्द्रीय सदस्यले मिश्रित धारणा राखे, जसमा केहीले अध्यक्ष हटाएर पुनर्गठन गर्नुपर्ने र केहीले नेतृत्व र कार्यदलका सुझाव कार्यान्वयन गर्नुपर्ने बताए।

६ असोज, काठमाडौं ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दा जुनशैली र स्वरुप देखाएका थिए त्यसले मंगलबारको बैठक केही असहज हुने धरै नेताको अनुमान थियो ।

किनकी ओलीले नेताहरूलाई अनुशासनमा बसेर कुरा राख्न मात्र निर्देशन दिएका थिएनन्, बैठकमा सबै गतिविधि अध्यक्षको निर्देशअनुसार चल्ने आदेश गरेका थिए ।

बैठकको उद्घाटनमा महासचिवलाई पनि भूमिका दिने विगतको परम्परा तोड्दै उनले विधानले दिएको अध्यक्षको अधिकार प्रयोग गरेको भन्दै एकल प्रस्तुति दिएका थिए ।

सोमबारको ओलीको शैलीमा चित्त नबुझाएका महासचिव शंकर पोखरेलले सोमबार साँझ नै गुण्डु पुगेर अध्यक्षसँग कुराकानी गरे ।

त्यही कुराकानी परिमाण स्वरुप मंगलबार एमालेको बैठकको सम्भावित दृश्य बदलियो । महासचिव शंकर पोखरेलले बैठकमा जे धारणा राखे त्यसले बहसको कोणलाई पनि बदलियो ।

पोखरेलले राखेको विचारलाई ओली पक्षका नेताहरूले पनि सहज ठानेका छन् । अध्यक्ष ओलीलाई तत्कालै हट्नुपर्छ भन्ने कोणलाई उनको धारणाले केही मत्थर पारेको नेताहरूले महसुस गरेका छन् ।

तर पार्टीको पुनर्गठन र नेतृत्व तत्कालै हस्तान्तरण गर्नुपर्छ भन्नेहरूले पनि पोखरेलको धारणालाई अन्यथा लिएका छैनन् । किनकि पोखरेलले मंगलबारको बैठकमा व्यक्ति पदमा रहने नरहने भन्दा पनि पार्टीको वैचारिक रुपान्तरण र सांगठनिक रुपान्तरणका कुरालाई सैद्धान्तिक हिसाबले राखेका थिए । उनले कार्यदलले प्रतिवेदनको स्वामित्व लिएरै यसले औंल्याएका समस्याहरूको निराकरणको कुरा गरेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार महासचिव पोखरेलले ओलीप्रति आफ्नो राजनीतिक दूरी नरहेको स्पष्ट पार्दै असहमति राख्नुको अर्थ अध्यक्षलाई नमान्नु नभएको बताएका थिए । तर, पार्टीभित्र समस्या देखिसकेपछि त्यसको व्यवहारिक सुधार हुनुपर्ने उनको जोड थियो ।

‘तपाईंलाई भ्रम परेको छ । मैले कुनै विषयमा असहमति राख्नु भनेको तपाईंलाई नमान्नु होइन,’ बैठकमा उनले राखेको भनाई उदृत गर्दै एक नेताले भने,’ ‘तपाईं र मेरो दूरी छैन । पार्टीभित्र समस्या छन्, रियलाइजेसन गरौं, अनि मात्रै समाधान हुन्छ ।’

उनले ओलीलाई आफूले नेता र अध्यक्ष मानेको भए पनि नेतृत्व सञ्चालनको तरिकामा सुधार आवश्यक रहेको बताए ।

कार्यकर्तालाई समान दृष्टिले हेर्ने, पार्टीभित्र देखिएका राजनीतिक, वैचारिक र सैद्धान्तिक समस्यालाई आत्मसात गर्ने तथा त्यसपछि मात्रै एकताको आधार निर्माण गर्नुपर्ने उनको धारणा थियो ।

पोखरेलको भनाइमा अहिलेको संकटलाई केवल बाह्य कारणले व्याख्या गरेर पुग्दैन । पार्टीभित्रका कमजोरी स्वीकार नगरी गरिने निर्णयले समस्या समाधान नगर्ने उनको तर्क थियो ।

‘रियलाइजेसनसहितको एकता’ आवश्यक रहेको भन्दै उनले प्रतिवेदनमा कमजोरी स्वीकार गर्ने तर व्यवहारमा पुरानै शैली कायम राख्ने प्रवृत्तिले परिणाम नदिने बताएका थिए ।

पोखरेलले आफू नेतृत्व परिवर्तनको पक्षमा नरहेको पनि स्पष्ट पारेका छन् । उनले पुनर्गठनको अर्थ अध्यक्ष ओलीलाई हटाउने वा विशेष महाधिवेशन बोलाउने नभएको बताए ।

उनको जोड वैचारिक र संगठनात्मक पुनर्गठनमा थियो । एमालेको इतिहासमै विभिन्न चरणमा भएको वैचारिक परिवर्तन र संगठनात्मक रूपान्तरणलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले पुनर्गठनको बहसलाई व्यक्तिको पदसँग जोडेर बुझ्न नहुने बताएका थिए ।

पोखरेलले सातौं राष्ट्रिय महाधिवेशनदेखि बहुपदीय संरचना र पार्टीको लोकतान्त्रिकरणमा ओलीकै नेतृत्वमा भएका कामको स्मरण गर्दै आफूहरू त्यस प्रक्रियामा सहभागी भएको बताएका थिए । त्यसैगरी अहिले आफूले उठाएको पुनर्गठनको विषयलाई पनि नेतृत्व परिवर्तनको प्रस्तावका रूपमा नबुझ्न आग्रह गरेका थिए ।

उनको भनाइको सार थियो,पार्टीको विचार, संगठन र कार्यशैलीमा सुधारको आवश्यकता औंल्याउनु अध्यक्षलाई हटाउने प्रयास होइन ।

उनले कार्यादलमा आफूले लेखेको प्रतिवेदनमाबाट पछि हटेको कुरा त गरेनन् । तर त्यहाँ लेखेका कुरालाई अध्यक्षले गलत अर्थमा बुझेको बताए ।

‘मैले लेखेको कुरालाई अध्यक्षले अर्कै रूपमा बुझ्नुभयो, आफूलाई हटाउन खोजेको रूपमा लिनुभयो मैले पुनर्गठन भनेको वैचारिक र सङ्घर्षको पुनर्गठन हो ‘ पोखरेलको भनाई थियो । उनले २०३७ सालमा तत्कालीन माले गरेको वैचारिक पुनर्गठनको दृष्टान्त पेश गरेका थिए । यदी त्यो वैचारिक पुनर्गठन थिएन भने झापा सङ्घर्ष गलत थियो भनेर माले नेतृत्वले किन भन्थ्यो ? भन्दै उदाहरण पनि दिएका थिए ।

उनले सातौं महाधिवेशनमा पनि पार्टीको लोकतान्त्रिकरणमा ओलीकै नेतृत्वमा काम भएको र त्यसमा पनि साथ दिएको उल्लेख गरेका थिए ।

त्यस्तै अहिले पनि समयको चाप अनुसार विचार र संगठनको पुनर्गठन गरौं भन्दा अध्यक्षले आफैंलाई हटाउन खोजेको रुपमा बुझेको भन्दै पोखरेलले त्यसमा भ्रम नराख्न अनुरोध गरेका थिए । ‘मैले केपी ओलीलाई हटाउनुपर्छ भनेर कहाँ लेखेको छु? म तपाईंलाई हटाउने कुनै अविश्वासको प्रस्ताव ल्याउँदिनँ, विशेष महाधिवेशन बोलाउने पक्षमा पनि लाग्दिनँ भन्दा पनि तपाईंले बुझ्नुभएन’ उनले भनेका थिए ।

पोखरेलले बैठकमा राखेका भनाईहरूलाई ओली पक्षका सचिव महेश बस्नेतले लगायतले महत्त्व दिंदै सार्वजनिक गरेका छन् ।

‘सँगसँगै काम गरिरहँदा अध्यक्ष कमरेडमाथि अभियोग लगाउने काम मबाट हुँदैन । पार्टीमा असमझदारी र विग्रह आउने गरी विशेष महाधिवेशनको नेतृत्व म गर्दिनँ।. अध्यक्ष कमरेडको असहमतिमा म पार्टी अध्यक्ष बन्दिनँ। पार्टी अध्यक्षसँग मेरो असहमति छँदैछैन। तपाईंलाई त्यस्तो अनुभूति छ भने भोलिदेखि नै हुनेछैन’ पोखरेलको भनाई उदृत गर्दै बस्नेतले शेयर गरेका छन् ।

पोखरेलले पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदनलाई छलफलमै नल्याई थन्क्याउन नहुने बताए । उनका अनुसार पार्टी सुधारका लागि मिहिनेत गरेर तयार भएको प्रतिवेदनलाई केन्द्रीय कमिटीले छलफल गर्नुपर्ने धारणा राखेका थिए ।

आजको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले पनि पार्टी संगठनलाई सुदृढ गर्दै लैजानुपर्ने भन्दै पुनर्गठन कार्यादलका सुझावहरू कार्यान्वयन गर्नुपर्ने धारणा राखेकाथिए ।

उनले अलिक बढी कार्यादल कसरी बन्यो र त्यसका फरक-फरक प्रतिवेदन कसरी आए भन्नेतर्फ बोलेका थिए । पार्टीको रुपान्तरणका लागि कार्यदलले सिफारिस गरेका ४० वटा सुझाव कार्यान्वयन गर्नुपर्ने आशयको धारणा राखेका थिए ।

‘आजको बैठकमा शंकर पोखरेल र विष्णु पौडेलले हिजो अध्यक्षले गर्न खोजे जसरी हललाई उत्तेजित पार्नेगरी बोलेनन्’ एक नेताले भने,’बैठकमा चर्कोचर्को कुरा गरेको भए हल उत्तेजित हुने तर परिणाम केही आउने हुन्थ्यो । त्यसैले बैठक सहज चलाउने रणनीति बनाएको देखियो ।’

आजको बैठकको सहजीकरणका लागि ओलीले महासचिव पोखरेललाई नै अघि सारेका थिए ।

केन्द्रीय सदस्यहरूको मिश्रित धारणा

मंगलबार १२६ जना केन्द्रीय सदस्यले बोलेका थिए । जसमा नेताहरूले मिश्रित धारणाहरू नै राखेका छन् कसैले अध्यक्ष हटाउनेसहित पार्टी पुनर्गठनको धारणा राखेका छन् भने कसैले अध्यक्षको मात्र दोष नहुने धारणा राखेका थिए ।

बैठकमा नेता अग्नि खरेलले कार्यदलको प्रतिवेदन अब एमाले कार्यकर्ताको तहसम्म पुगिसकेको भन्दै त्यसलाई केन्द्रीय कमिटीबाटै टुंगो लगाउनुपर्ने बताए ।

‘कार्यदलको रिपोर्ट यहाँ नल्याई सामसुम पारियो भने विवाद घट्दैन, झन् तलसम्म पुग्छ,’ खरेलको भनाइ थियो ।

केन्द्रीय सदस्य ठाकुर गैरेले ओलीलाई चुनौती दिँदै भने सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्नुहोस् भनेका थिए ।

बैठक सञ्चालनमा समेत परम्परा तोडिएको भन्दै उनले यस्तै शैलीले पार्टी चल्न नसक्ने धारणा राखेका थिए । ‘अब बैठक पनि आफैं चलाउने, स्वागत पनि आफैं गर्ने, नाम पनि आफैं बोलाउने ! यसले राम्रो गरेन’ उनले बैठकमा भनेका थिए,’ यदि यस्तो हो भने अरु पदाधिकारी किन चाहियो ? खारेज गरेर एकल अध्यक्ष बनाऊँ र अरू सबैलाई सदस्य बनाउँ ।’

उनले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन बैठकमा ल्याउन माग गरेका थिए । यो प्रतिवेदन नआइकन केन्द्रीय समितिमा थप छलफलको औचित्य नरहेको उनको धारणा थियो ।

केन्द्रीय सदस्य इन्द्र भण्डारीले कार्यकर्ता विभाजित गरेको जिम्मा सचिवालय लिने कि कार्यदलले भन्दै प्रश्न गरेका थिए । अध्यक्ष ओली रक्षा गर्दै उनले भूगोलमा रहेका सबै कमिटीहरूले निर्वाचनको समीक्षा प्रतिवेदन प्राप्त भइसकेको अवस्थामा तिनै प्रतिवेदनका आधारमा केन्द्रीय कमिटी एउटा निष्कर्षमा पुग्नु पर्ने बताएका थिए ।

‘एउटै काम दोहोर्याउँदै,कार्यदलका नाममा नेताहरु तल तल पुगेर सुझाव संकलन गर्ने कुरा नै सरासर गलत थियो,’ भण्डारीले बैठकमा भने,’ पुनर्गठन भनेको मुल नेतृत्व फेर्न भने भाष्य बनाएर कार्यकर्तालाई पक्ष र विपक्षमा विभाजित गरियो ।

बैठकमा केन्द्रीय सदस्य गीता अधिकारीले सामूहिक नेतृत्व लिने, अपजस चाहिँ अध्यक्षलाई मात्र लगाउने ? भन्दै अन्य नेताहरूलाई पनि प्रश्न गरेकी थिइन् ।

एमाले केन्द्रीय कमिटी बैठकमा उनले अध्यक्ष ओलीको बचाउ गर्दै पार्टीभित्रको आन्तरिक एकता अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै एकता कार्यकर्ताको तहमा मात्र नभई नेताहरूबीच पनि देखिनुपर्नेमा उनको जोड थियो । ‘सामाजिक सञ्जालमार्फत जिम्मेवारी सामूहिक रूपमा लिने तर अपजस एक्लो अध्यक्षमाथि थोपर्ने प्रवृत्तिले पार्टीलाई बलियो बनाउन सक्दैन’ बैठकमा उनको भनाई थियो ।

पार्टीमा मतभिन्नता स्वाभाविक भए पनि त्यसलाई पार्टीका विधि, कमिटी र संस्थागत प्रक्रियामार्फत समाधान गर्ने संस्कार विकास गर्नुपर्ने उनको धारणा थियो ।

बैठकमा सोमबारनै अध्यक्ष ओलीसँग चर्काचर्की परेका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टी चल्ने भएकाले नेतृत्व छोड्ने माग गरे । उनले विगतमा केपी ओलीलाई महान भन्दै फुटबल खेलाडी पेलेसँग तुलाना गरे पनि अहिले ओली त्यस्तो नरहेको बताए । उनले आफूले ओलीलाई दिएको पेले उपमा आजैका दिनबाट फिर्ता लिन्छु भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?