Comments Add Comment

छापामा आज : बालुवाटारको २५ रोपनी तीन परिवारको

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनले संसदमा उत्पन्न तनाव र एनसेल करबारे सर्वोच्चले गरेको आदेश आजका दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । त्यस्तै, बालुवाटार जग्गा प्रकरण, साक्षरता अभियानको उपलब्धि, व्यापार घाटालगायतका विषयलाई पनि दैनिक पत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।

कान्तिपुरले ललितानिवासको अतिक्रमित २५ रोपनी सरकारी जग्गा तीन परिवारको भएको दाबी गरेको छ । भूमाफिया भनेर किटान गरिएका शोभाकान्त ढकाल र रामकुमारी सुवेदी तथा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र उनीहरुका परिवारका नाममा झन्डै २५ रोपनी जग्गा देखिएको हो । गुरुङले आफ्नो परिवार र कम्पनीका नाममा समेत जग्गा खरीद गरेको कान्तिपुर समाचारमा उल्लेख छ ।

कान्तिपुरका अनुसार बालुवाटारको करिब सबैजसो कित्ताको खरीद बिक्रीको ट्रयाक रेकर्डमा उनीहरुको नाम जोडिएको छ ।

एनसेल करबारे सर्वोच्चले गरेको फैसलालाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ । कान्तिपुरका अनुसार सर्वोच्चले एनसेललसँग कर उठाउन रोकिदिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यसअघिको अल्पकालीन आदेशलाई निरन्तरता दिँदै रिटको अन्तिम टुं्रगो नलागुन्जेलसम्मका लागि कर उठाउन रोक लगाएको हो ।

फोरम–नयाँ शक्ति एकता भएर बनेको समाजवादी पार्टीमा सरकार छाड्ने या रहने भन्ने विषयमा बहस चलेको खबर कान्तिपुरको भित्री पृष्ठमा छ । समाचार अनुसार बाबुराम भट्टराई पक्ष तत्काल सरकारबाट बाहिरिनुपर्ने पक्षमा छ भने यादव पक्ष पर्ख र हेरको रणनीतिमा छ ।

‘ओलीको बोलीले हंगामा’ शीर्षक दिएर मुख्य समाचार लेखेको अन्नपूर्णले व्यापार घाटाबारे एक रिपोर्ट छापेको छ । रिपोर्टअनुसार, यस आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा ९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । चैतमा मात्रै १ खर्ब ३ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ ।

आयात उच्च दर वृद्धिको तुलनामा निर्यात सुस्त हुँदा व्यापार घाटा चुलिएको अन्नपूर्णको ठहर छ । अघिल्लो आर्थिक वर्षको ९ महिनासँग तुलना गर्दा २२ प्रतिशतले व्यापार घाटा बढेको भन्सार विभागले जनाएको छ ।

अन्नपूर्ण लेख्छ– अहिलेकै दरमा व्यापार घाटा वृद्धि भए यो आर्थिक वर्षको अन्त्यसम्म १४ खर्ब ३० अर्ब व्यापार घाटा हुने अनुमान छ । यो आकार चालू आर्थिक वर्षको बजेटभन्दा ठूलो हो । सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएकोमा मध्यावधि समीक्षामा गरिएको संशोधित अनुमानअनुसार ११ खर्ब ९९ अर्ब रुपैयाँ खर्च हुने छ ।

धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरमा अढाई वर्षीय बालकको घाँटी रेटी हत्या गरिएकोलाई नागरिकले मुख्य समाचार बनाएको छ । शम्भु साहका छोरा आर्यन मंगलबार गर्धन रेटिएको अवस्थामा मृत भेटिएका थिए । उनी सोमबार साँझबाट घरबाट हराएका थिए ।

चिनियाँ नागरिकसँग वैवाहिक बन्धमा बाँधिएका नेपाली चेलीले भोगेका भुक्तमान र वियोगको कथा पनि आज नागरिकले छापेको छ ।

नयाँ पत्रिकाले नेपाल वायु सेवा निगममा पाइलट नियुक्तिदेखि तालिमसम्ममा अनियमितता भएको लेखेको छ भने राजधानीमा अतिक्रमणकारी र भूमाफियाविरुद्ध सरकार कठोर बन्न लागेको खबर छ । सरकारी मुखपत्र गोरखापत्रले ‘उत्तरदायी पत्रकारिताबाट प्रेस स्वतन्त्रता सार्थक’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment