Comments Add Comment

संसदमा प्रधानमन्त्री : भात खानेभन्दा माथि जानुपर्‍यो नि !

सडकमा कोही देखिन्छ भने नजिकको प्रहरीमा खबर पाऊँ !

२४ वैशाख, काठमाडौं । आफ्ना आलोचकप्रति असहिष्णु देखिने प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानै बानी हो । यही क्रममा मंगलबार प्रतिनिधिसभामा उनले आफ्नो त्यही शैलीलाई पछ्याए । प्रधानमन्त्रीले रोष्टममा उभिएर जसलाई जवाफ दिइरहेका थिए, उनीहरु विपक्षी पार्टीका कार्यकर्ता वा फेसबुक प्रयोगकर्ता नभएर सर्वोच्च संसदका माननीयहरु थिए ।

यद्यपि संसदमा प्रधानमन्त्रीको प्रस्तुती राजनीतिक दलको प्रशिक्षण कार्यक्रम वा आमसभा जस्तै प्रतीत भयो । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सांसदका कतिपय प्रश्नलाई ‘कुण्ठाग्रस्त’ र ‘निम्छरो’ मात्रै बताएनन्, ‘भात खानेभन्दा माथि उठेर सोच्न’ समेत सांसदहरुलाई आग्रह गरे ।

बोल्दैजाँदा प्रधानमन्त्रीले शिक्षा, स्वास्थ्य सबै निशुल्क भइसकेको र सडकमा गरिबहरु देखिन छाडेकोसम्म भन्न भ्याए ।

प्रधानमन्त्रीले संसदमा व्यक्त गरेका भनाइको सारांश यस्तो थियो–

भात खाने लक्षभन्दा अलिकति माथि जानुपर्‍यो नि !

यो मानसिकता कस्तो हो, मलाई अचम्म लाग्छ, भात खाने कुरा गरौं न भात खाने ! कहाँ बाटो बनाउने कुरा गरेको ? भात खाने कुरा गरौं न, कहाँ रेल बनाउने कुरा गरेको ? भात खाने कुरा गरौं न भात खाने ! कहाँ पानीजहाजका कुरा गर्ने ? अचम्म लाग्छ सुन्दाखेरि पनि ।

हामी नेपालीहरुले आज पनि भातमात्रै खाने लक्ष राख्ने, भोलि पनि भातै मात्र खाने लक्ष राख्ने ? भात खाने लक्षभन्दा अलिकति माथि जानुप¥यो नि !

भात खाने सम्बन्धमा मैले भनेको छु, अब नेपालमा निरपेक्ष गरीवी एक÷दुई वर्षभन्दा उता जाँदैन । किनभने हामीले मौलिक हकसम्बन्धी त्यो संविधानमै प्रवन्ध गरेका छौं र त्यो कानुनहरु निर्माण गरेका छौं । मैले डिक्लियर गरेको छु, सरकार छ यस देशमा । कोही भोकै पर्दैन, कोही भोकले मर्दैन ।

जनतालाई आवास दिने । आवासविहीन कोही हुँदैन हामीले भनेका छौं । आवासको प्रवन्ध हामी गर्छौं । छोराछोरी पढाउनका लागि आधारभूत तहको शिक्षा निःशुल्क, किताब कलमसहित । र, खाजाको व्यवस्थासमेत आवश्यक पर्नेलाई । त्यो गरेका छौं ।

स्वास्थ्यको वीमा प्रवन्ध बच्चादेखि बुढेसकालसम्मका लागि गरेका छौं । अनेक सामाजिक जीवनमै रुपान्तरण ल्याउने खालका कामहरु गरेका छौं । र, तल्लो वर्गलाई लाभ हुने थुप्रो कार्यक्रम ल्याएका छौं । अब निरपेक्ष गरीवीको रेखामुनि भन्ने कति जनसंख्या कहिलेसम्म रहन सक्छ ? यो सक्दैन । अब खान लाउन नपाउने, बस्न नपाउने नेपालमा कोही पनि हुँदैन ।

हामीले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग भनेका छौं । अनि भात खान पाएको छैन, पूर्वपञ्चिम रेलमार्ग भनेर….। भातको पनि प्रबन्ध गर्छौं, पूर्वपश्चिम रेलको पनि प्रवन्ध गर्छौं ।

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग यो सपना होइन, जसलाई हामी सपना भनिराख्या छौं । यसको त कतिपय ठाउँमा एलाइनमेन्ट बनेर खनिराखेका छौं बाटो । यो अगाडि बढ्छ ।

सडकमा कोही देखिन्छ भने नजिकको प्रहरीमा खबर पाऊँ !

मैले भनेको छु– सडकमा कोही देखिन्छ भने नजिकको प्रहरीमा खबर पाऊँ । पहिलेजस्तो सडकमा मान्छे जिंग्रिङ्ग कपाल भएको, मैलो भएको, घाउ सरिबरि भएको सडकका पेटीमा पसारिएको त्यो देख्न पाउनुहुन्न नेपालमा । त्यसको प्रवन्ध सरकारले गर्छ । त्यसको अन्त्य भयो मैले भन्या छु । यो युगान्तकारी परिवर्तन होइन ?

त्यसकारण साना कुरामा ध्यान दिने, ठूलामा नदिने, ठूलामा ध्यान दिने सानामा नदिने असन्तुलन होइन । हामी ठूला योजना सँगसँगै चलाउँछौं । साना कुरामा पनि ध्यान दिन्छौं । सडकमा अलपत्र बेसहाराको पनि उद्धार गर्छौं । उसको पनि प्रवन्ध गर्छौं । अशक्त, अपाङ्ग कोही छ, त्यसको पनि प्रवन्ध गर्छौं । र, ठूला आयोजनाहरुतर्फ पनि जान्छौं, जो विकासका निम्ति, भोलिका निम्ति विकासका आधारहरु हुने गर्छन् । सप्पै कुराहरुमा सन्तुलित ढंगले सरकार अगाडि बढ्छ ।

कोशीमा यसअघि किन स्टिमर चलेन ?

अब जलमार्गको पनि कुरा गर्छौं । एउटा स्टिमरको आफैंले विकास गरेजस्तो भनेर ! हैन, स्टिम इञ्जिनको विकास जेम्स वाटले गरेका थिए, त्यो हामीलाई थाहा छ । तर, किन स्टिरमर अगाडि चलेन ? किन स्टिमर बनाएर कोशीमा हालेन कसैले ? स्टिमर किन अहिले बनाएर कोशीमा हाल्यो ? एउटा मानसिक परिवर्तन, विकास तर्फको अवधारणा ।

नागरिक–नागरिकमा विकासको अवधारणा आएर, आफैं स्टिमर बनाए । त्यो सरकारी हैन, अहिले कोशीमा जुन चलिराख्या छ, आविश्कार मात्रै होइन कि बनाएको र चलाएको पनि अहिलेको सरकारले होइन । तर, नागरिकमा स्टिमर बनाउने र कोशीमा चलाउने सोच कसरी आयो ? ५ घण्टा हिँड्नुपर्ने ठाउँमा अहिले २० मीनेटमा पुगिन्छ । यो परिवर्तन कसरी आयो ? यो एउटा मानसिकतामा परिवर्तन हो ।

मेरो सम्पत्ति छैन, कसैले लोन दिँदैन !

खर्च र राजस्वको लक्ष हासिल नभएको भन्ने साथीहरुको टिप्पणी छ, त्यो उपयुक्त छैन । हाम्रो नीति कार्यक्रमले एउटा कुरा स्वीकारेको छ कि हामीले काममा तीव्रता दिन सकेका छैनौं । समयमा आयोजनाहरु पूरा हुन सकेका छैनन् । मेलम्चीलाई विदा गरियो कि के हो भन्नुभो, विदा गरेको हैन, भाग्यो । उसको आर्थिक अवस्था डामाडोल भो कम्पनीको, त्यसकारण भाग्यो । तर, मेलम्ची आगामी आर्थिक वर्षभित्र पूरा गर्ने हामीले बनाउँदैछौं । र, आगामी आर्थिक वर्षभित्र मेलम्ची आउँछ काठमाडौंमा ।

पुँजीगत खर्च, विकास खर्च वृद्धि गर्न जरुरी छ । अहिले पनि त्यो वृद्धि आवश्यक स्तरमा पुग्या छैन । त्यो अपेक्षित स्तरमा पुग्या छैन । हाम्रो क्षमता पनि न्यून छ । खर्च गर्ने क्षमता अर्थात काम गर्ने क्षमता । प्रविधिको हिसाबले, खरीद ऐनका कारणले यी कुराहरु नीति कार्यक्रमले सही कुरालाई सही ढंगले भनिएको छ ।

४ प्रतिशत गरीवी यसपल्ट हटेको छ । ४६४ अर्ब राष्ट्रिय आय यस वर्ष भयो । आन्तरिक आयमा वृद्धि भएको छ । राष्ट्रिय बचत यसपल्ट २७ प्रतिशत भएको छ । आन्तरिक ऋण उठाएर सरकार चलाउनुपरेन । अर्थतन्त्र सबल हुने दिशातर्फ गएका यी लक्षणहरु हुन् ।

ऋण त लिने नै हो । ऋण लिएर विकास गर्ने हो । सबैभन्दा बढी ऋण अमेरिकाको छ । अमेरिका जति ऋणले थिचिएको देश कुनै पनि छैन होला । र, अमेरिका जति धनी पनि अर्को कुनै छैन । त्यसकारण ऋण लिएर गरिब हुन्छ भन्ने होइन ।

फोब्र्स बुकमा धनी भनेर निस्किएकाहरुको लोन धेरै हुन्छ । मलाई लोन छैन, किनभने सम्पत्ति भए पो लोन हुन्छ ! कसैले दिँदै दिँदैन लोन ! जसको सम्पत्ति छ, उसैले कारोबार गर्छ । उसैले लोन लिन्छ । उसैको ऋण हुन्छ । हामी काम गर्न चाहन्छौं भने ऋण पनि लिनुपर्ने हुन्छ । ऋण लिएर पनि काम गर्नुपर्ने हुन्छ ।

यसपल्ट मेरो सरकार मिल्यो !

एकदमै सामान्य कुरामा सबैभन्दा बढी ध्यान, सबैभन्दा बढी बल त्यहाँ लगाएको देखिन्छ, जहाँ खन्यो पहाड, निक्ल्यो मुसो भनेजस्तो । यो पहाड खनेर मुसो पनि ननिक्लिने विषयहरुमा बढ्ता धयान र जोड के–के न पाएजस्तो गरेर उधुमै मच्चाएको पनि मैले अलिकति अनुभव गरें ।

सम्माननीय राष्ट्रपतिज्यूले मेरो सरकार भन्नुभो । अचम्म लाग्यो । यो दुनियाँचरिको प्राक्टिस हो । पोहोर थिएन, भन्नुभो । पोहोर थिएन, अर्को वर्ष अरु हामीले अभ्यास गर्दैछौं । हाम्रा अभ्यासहरु कतिपय अहिले पनि मिलेका छैनन् । ती अभ्यासहरुलाई हामीले अझ मिलाउँदै जानुपर्छ । यसपल्ट यो मेरो सरकार भन्ने मिल्यो, अर्कोपल्ट अरु धेरै मिलाउनुपर्छ ।

सरकारले यस्तो पनि सोच्न भ्याउँदो रहेछ है !

सडकमा एयरपोर्ट । सडकमा एयरपोर्ट भनेर लेख्या छ र नीति कार्यक्रममा ? के भनेको छ भने टाढा टाढा एयरपोर्ट छ भने त्यस्ता ठाउँमा सडक लाई ३ किलोमिटर स्टेट सडक बनाएर छेउमा रुख रोपेन भने, घरहरु बनाएन भने आकस्मिकरुपमा अवतरण गर्न सकिन्छ ।

सरदार बल्लभ भाइ पटेलले भारतमा एकपटक प्लेन दुर्घटना हुनै लाग्दाखेरि नजिकै यहाँ हाईवे छ, त्यसमा लगेर अवतरण गराउ भनेर पाइलटलाई भन्नुभएको थियो र पाइलटले त्यहाँ लगेर अवतरण गराएका थिए प्लेन । बाटामा कैले कैले गराउनुपर्छ । यासेर आराफात चढेको विमान अफ्रिकाको एउटा बालुवामा अवतरण गराएको थियो । कहिले कहिले त्यस्ता कुराहरु पर्छन् । टाढा एयरपोर्ट छ भने टाढा एयरपोर्ट परेका ठाउँमा बाटो, एयरपोर्ट बनाउने होइन, सीधा बनाउने । सीधा बनाइदिएपछि प्लेन ल्याण्ड गर्छ । आकस्मिक अवतरण गर्न कठिनाई परेका बेला त्यस्तो भनियो ।

त्यो तीन किलोमिटरचाहिँ त्यसअनुसार गर्दियो र बाइपासहरु गाडीका लागि बनाइदियो भने तत्काल गाडीहरु प्लेनले अप्ठ्यारो परेर ल्याण्ड गर्न खोजेको देख्नेवित्तिकै तिनीहरु बाईपासमा जान्छन् । अनि यो कुरा एयरपोर्ट बाटोमा बनाउने आदि इत्यादि भनेर यो कुनै मजाक उडाउने विषय हो र ? सरकारले यस्तो पनि सोच्दोरहेछ है, सोच्न भ्याउँदोरहेछ है भनेर खुशी हुनुपर्ने ठाउँमा !

यो पनि पढ्नुहोस् : काठमाडौंमा साथीहरु मास्क नलगाई हिँड्छन् : प्रधानमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment