Comments Add Comment

कुलमानको दैनिकी : खाने टुङ्गो छैन, घुम्ने फुर्सद छैन

काठमाडौं । कुलमान घिसिङले सारा मुलुक झलमल्ल बनाएका छन् । यसका लागि उनले घामको उज्यालो त्यागेका छन् । अर्थात उनको ज्यानमा घामको न्यानो पर्दैन । किनभने, दिनभर उनी कार्यलय/कार्यक्षेत्रमा खटिएका हुन्छन् । घाम ताप्ने फुर्सद हुँदैन । यही कारण उनको शरीरमा ‘भिटामिन डी’को कमी छ ।

अनलाइखबरको भेटमा कुलमानले सुनाएका थिए, ‘कहिलेकाहीँ चिकित्सकले भिटामिन डीको औषधी सेवन गर्नुपर्छ भन्छन् । अरु त खास समस्या छैन ।’

कुलमानको दैनिकी कसरी बित्छ ? खाने–पिउने तालिका के छ ? कुनबेला उठ्छन्, कुनबेला सुत्छन् ? धपेडी र दबावबीच गुज्रने दैनिकीबीच आफूलाई कसरी ‘फिट एन्ड फाइन’ राख्छन् ?

अनलाइनखबरसँगको कुराकानीमा कुलमान भन्छन्, ‘कामको चापले गर्दा धेरैजसो समय कार्यलयमा बित्छ । घुम्ने, रमाइलो गर्ने, भोज भतेरमा जाने फुर्सद बिरलै मिल्छ ।’

कतिसम्म भने, साँझ पाँच बजेपछि पनि उनी कार्यलयमा बसेर काम गर्छन् । घडीको काँटाले रातको १० बजेको संकेत गर्छ, तैपनि उनलाई हतार हुँदैन । जबसम्म आफ्नो कार्य सम्पादन चुस्त ढंगले हुँदैन, उनलाई चैनको निद्रा पर्दैन । उनको यही दृढता, कार्यक्षमता र शक्तिले आज देश झलमल्ल भएको छ ।

दिनचर्या

कुलमान घिसिङ राति घर पुग्ने टुंगो हुँदैन । कहिले कार्यकक्षमै १० बज्छ । घर पुग्दा प्रायः सुनसान हुन्छ । सबै सुतिसकेका हुन्छन् । चिसो गाँस टिप्छन् । यस्तो, उस्तो खाने भन्ने छैन । घरको भान्सामा जे पाकेको छ, त्यही खाने हो ।

दिनभरको कामको धपेडी, थकानसँगै उनी ओछ्यानमा घुस्रन्छन् । गहिरो निद्रा पर्छ ।

बिहान निद्राले छाड्दा पाँच बजेको हुन्छ । एक लिटर मनतातो पानी पिउँछन्, बाथरुम जान्छन्, फ्रेस हुन्छन् । शरीर हल्का भएपछि व्यायाम गर्छन् । केही आसनको योगाभ्यास गर्छन् । विगतमा उनी यस्ता आसन राम्ररी गर्थे, अहिले फुर्सद मिलेको छैन । त्यसपछि सामान्य हिसाबले शरीर तन्काउने, खुम्च्याउने, मर्काउने गर्छन् ।

मौका मिलेमा र जाँगर चलेमा घर नजिकको बौद्ध स्तुपामा फन्को लगाउँछन् ।

घर फर्केपछि नुहाउँछन् । त्यसपछि कालो चिया पिउँदै दिनभरको सेड्युल तयार गर्छन् । त्यसपछि हल्का नास्ता लिन्छन् र घरबाट बाहिरिन्छन् ।

कार्यालयमा पाइला टेकेपछि उनको स्मृतिबाट घर–परिवार, आफन्त सबै हराउँछन् । उनी आफूलाई समेत भुल्छन् । दिनभर काममै दत्तचित्त भएर खटिन्छन् । बाँकी रहेको काम रातभर बसेर भए पनि सिध्याउँछन् । उनको यही कामप्रति इमान्दारी, लगनशीलता र जुझारुपनले त हो नि देश झलमल्ल भएको ।

खानपान

कुलमान घिसिङलाई खानपानमा उस्तो रुची छैन । मीठो मसिनो खाने सौख छैन । उनको जिब्रो लोभी पनि छैन ।

घरमा नास्ता खाएर निस्केका उनी दिउँसोका खाना कहाँ खान्छन्, कतिबेला खान्छन् ? टुंगो हुँदैन । जतिबेला जे भेट्छन्, खाइदिन्छन् । ‘टेबलमा जे आउँछ, त्यही खाइन्छ’ उनी भन्छन्, ‘नाइनास्ती गरिँदैन ।’

दिउँसोको खाना दाल, भात, तरकारी, अचार नै हो । त्यसो त घरमा बिहानै नास्ता गरेर आएका छन् भने मःम, चाउमिनले पनि पेट भरिन्छ । उनले अनलाइनखबरसँग भने, ‘खानपानमा म रसिक मान्छे होइन, अलि उदासीन छु ।’

राति घर पुगेपछि खाने पनि, त्यही दाल भात नै हो ।

उनमा मदिरापानप्रति पनि उस्तो आशक्ति छैन । पिउँदै नपिउने भने होइन । यसो बेलामौकामा साथीभाइ, आफन्तसँग पिउने हो । त्यो पनि नियन्त्रित मात्रामा । घरमा बेलाबखत पारिवारिक जमघट हुन्छ । यस्तोबेला उनलाई केही पकाउन जाँगर चल्छ । तर, उनमा पाककलाको राम्रो ज्ञान चाहिँ छैन ।

पहिरन

कुलमान अक्सर औपचारिक पहिरनमै हुन्छन् । अर्थात कोट, पाइन्ट ।

उनलाई पहिरनप्रति उस्तो आशक्ति छैन । धेरै असजिलो र झकिझकाउ भएर हिँड्न रुची लाग्दैन । बिहान घरबाट जुन लुगा लगाएर निस्कन्छन्, दिनभर त्यही लुगामा हुन्छन् ।

उनको कार्यालयको ह्याङगरमा टाई भने झुन्डिएको हुन्छ । बेलाबखत टाई पनि लगाउनुपर्ने अवस्था आउँछ । त्यसबाहेक उनले अतिरिक्त लुगाफाटो जगेडा गरेका छैनन् । एकसरो आङ ढाक्न पाए पुग्छ । न उनी घडी लगाउन रुचाउँछन्, न सिक्री झुन्ड्याउन ।

सादा जीवन, उच्च विचार छ घिसिङको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment