Comments Add Comment

महानगरले ठेक्का नगरी थप ब्रुमर किन्ने, २८४ स्मार्ट शौचालय पनि बनाउने

२६ वैशाख, काठमाडौं । काठमाडौं महानगरको ३२ औं कार्यपालिका बैठक ठेक्का नगरी सोझै ब्रुमर किन्ने निर्णय गरेको छ । यसअघि ल्याइएका ५ वटा इटालियन ब्रुमर आपूर्तिकर्तासँग सोझै खरिद गर्ने गरी दुई ब्रुमर किन्ने निर्णय भएको हो । जुन निर्णय सार्वेजनिक खरिद ऐन विपरित छ ।

संघीय सार्वजनिक खरिद ऐनले विभागीय सचिवले कुनै पनि ठेक्काको सम्झौता रकममा २५ प्रतिशतसम्म थप रकमको भरियसन गर्न सक्ने प्रावधान छ । तर, काठमाडौं महानगरपालिकाले सोभन्दा बढी रकम खर्चिने गरी सोझौ खरिदको निर्णय गरेको हो ।

अब पुरानै ब्रुमरको मूल्यमा नयाँ दुई ब्रुमर काठमाडौं आउने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । यसअघि आपूर्तिकर्तासँग भएको सम्झौतामा नै थप दुई वटा ब्रुमर यही मूल्यमा किन्न सकिने गरी सम्झौता भएकाले यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

यस्तै सार्वजनिक शौचालय र यात्रु प्रतिक्षालय निर्माण, सञ्चालन तथा व्यवस्थापनका काम अब प्रमुख बिद्यासुन्दर शाक्य आफैंले हेर्नेलगायत निर्णय पनि पनि भएको छ ।

महानगरले यसअघि उपमेयर हरिप्रभा खड्गी संयोजकत्वको एक समिति बनाएर स्मार्ट सार्वजनिक शौचालय बनाउन उपयुक्त ठाउँको पहिचान गर्ने, स्थान अनुसारको डिजाइन एकिन गर्ने, प्रस्तावहरुको विश्लेषण गर्ने, उपयुक्त स्थान र डिजाइनमा तयार भएको प्रस्ताबबमोजिम निर्माण तथा सञ्चालन गर्न निर्णय गराउने समितिलाई जिम्मेवारी दिएको थियो ।

समितिले अहिलेसम्म गरेका कामको बिषयमा जानकारी गराउँदै बैठकमा उपप्रमुख श्रेष्ठ खड्गीले महानगरभित्र २८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने प्रारम्भिक अध्ययनमा देखिएको बताइन् । तर शौचालय चलाएर न्युनतम आवश्यकता पूरा गर्न, सबैको समान सहभागिता आवश्यक पर्ने बताइन् ।

समितिका सदस्य एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले व्यापार हुने ठाउँमा शौचालय चलाउनेको हानाथाप भएको तर कम व्यापार हुने ठाउँमा लगानी नभएको बताए । त्यस्तै समितिका सदस्य एवं यात्रु प्रतिक्षालय कार्यदलका संयोजक न्हुच्छेकाजी महर्जनले साझा मत निर्माण गर्न सकिएन भने काम अधुरो हुने बताए ।

बैठकले फोहोर व्यवस्थापनका लागि बिक्री हुने कम्पोष्ट बिनमा ७० प्रतिशत अनुदान दिएर बिक्री गर्ने निर्णय पनि गरेको छ । मानव सेवा आश्रमलाई सडकमा रहेका असहायको व्यवस्थापनमा प्रयोग गर्ने गरी सवारी साधन खरिद गर्न सहयोग गर्ने निर्णय पनि भएको छ ।

त्यस्तै अमेरिकाको कोलोराडो राज्यमा रहेको बोल्डर नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न सहमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment