Comments Add Comment

सिटौलालाई न्यायपरिषदबाट फिर्ता बोलाउने बारको तयारी

न्यायपरिषद् सदस्यले अदालत परिसरमै मुख छाडे !

२७ वैशाख, काठमाडौं । नेपाल बार एशोसियसनले यसअघि न्यायपरिषद सदस्यमा बारको प्रतिनिधि बनाएर पठाइएका रामप्रसाद सिटौलालाई फिर्ता बोलाउने तयारी थालेको छ । बारका प्रतिनिधि सिटौलाले विहीबार कानुन दिवसका अवसरमा सर्बोच्च अदालत परिसरमै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठमाथि गालीगलौच गरेको आरोप छ ।

बारको सिफारिसमा न्यायपरिषद सदस्य बनेका सिटौलाले बारकै पत्रलाई धोती लगाइदिने बताउँदै दुव्र्यवहारमा उत्रिएकाले उनलाई फिर्ता बोलाउनेबारे छलफल भएको स्रोतले जनाएको छ । बार नेतृत्वमाथि सिटौलाको सन्दर्भमा निर्णय गर्न दबाव परेको छ ।

प्रत्यक्षदर्शीका अनुसार सिटौलाले विहीबार अदालत परिसरमा सबैका सामुन्ने बार अध्यक्ष श्रेष्ठलाई ‘तेरो पत्रलाई धोती लाइदिन्छु’ भन्दै अपशब्द प्रयोग गरेका थिए । न्यायाधीश, वकिल र पत्रकारका सामुन्ने सिटौलाले श्रेष्ठलाई तिमी र तँ जस्ता शब्दबाट गाली गरेपछि हात हालाहालको अवस्था आएको थियो । सिटौलालाई गाडीमा राखेपछि पनि उनले मुख छाडेका थिए ।

अध्यक्ष व्यक्तिलाई भन्दा पनि संस्थाको निर्णयलाई अपमान गरेको नेपाला बारका कोषाध्यक्ष रुद्र पोखरेलले बताए । सिटौलाबाट यस्तो व्यवहारको अपेक्षा नगरिएको पोखरेलको भनाइ छ । ‘उहाँले जुन हर्कत देखाउनुभयो, एउटा स्वस्थ मनस्थिति भएको मान्छेले त्यसो गर्न सक्दैन’ पोखरेलले भने ‘उहाँमाथि अब नैतिकरुपमा बारको प्रतिनिधि भएर न्यायपरिषदमा बस्ने कि नबस्ने भन्ने प्रश्न उठेको छ’ ।

नेपाल बारले न्यायपरिषदमा पठाइने सदस्यको सिफारिस तथा सम्पर्क समन्वयका बारेमा निर्देशिका बनाउनका लागि सिटौलासँग पनि छलफल गर्न बोलाइएको बारका कोषाध्यक्ष रुद्र पोखरेलले बताए ।

सिटौलालाई न्यायपरिषदमा बार एशोसियसनको प्रतिनिधि हुन् । उनी नेपाल बारप्रति उत्तरदायी हुनुपर्नेमा बारकै निर्णय र पत्रलाई धोती लाइदिन्छु भन्दै दुव्र्यवहारमा उत्रिएकाले उनका बारेमा थप छलफल आवश्यक रहेको अध्यक्ष श्रेष्ठले बताए । उनले सिटौलालाई फिर्ता बोलाउने सन्दर्भमा भने छलफल हुन बाँकी रहेको प्रतिक्रिया दिए ।

यसअघि नै न्यायाधीश नियुक्ति विवादपछि बार एशोसियनको बैशाख ९ गतेको बैठकले न्यायपरिषदका गतिविधि तथा निर्णय प्रक्रियाका सन्दर्भमा सिटौलालाई भेटघाट र छलफलका लागि बोलाउने निर्णय गरेको थियो । बारले उनलाई पठाएको पत्रमा अनुकुल समयको जानकारी पाएमा सोही अनुसार कार्य समिति बैठक आह्वान गरिने उल्लेख थियो ।

तर, अब सिटौलासँग विहीबारको अभिव्यक्तिका विषयमा पनि छलफल हुने स्रोतले बतायो ।

सिटौला भन्छन्– साथीभाइवीच शब्द तलमाथि पर्‍यो होला

यसैबीच न्यायपरिषद सदस्य सिटौलाले भने बार अध्यक्ष श्रेष्ठलाई आफूले दुव्र्यवहार नगरेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै सिटौलाले साथीभाइबीच कुराकानी हुँदा शब्दहरु तलमाथि परेको हुनसक्ने बताए । तर, त्यहाँ के भयो भन्ने अहिले आफूलाई नै थाहा नभएको उनले प्रतिक्रिया दिए ।

बारसँग आफ्नो असहमति हुँदैमा न्यायपरिषद सदस्यमा रहन नैतिक प्रश्न नआउने भन्दै सिटौलाले कानुनले भने अनुसार आफू अघि बढ्ने बताए । ‘बारले फिर्ता बोलाउने निर्णय गरेछ भने त्यो उसको कुरा हो, तर म कानुन हेर्छु’ सिटौलाले भने ।

न्यायपरिषद सदस्य सिटौला नेपाली कांग्रेस निकट हुन् । अहिले नेपाल बारको मूल नेतृत्वमा नेकपा समर्थकले जितेका छन् । नेकपा समर्थकहरु अब न्याय परिषदमा सत्तापक्ष निकट सदस्यलाई पठाउन चाहन्छन् । तर, यहीबेला सिटौलाले जथाभावी बोलेपछि उनी आफैं फसेका छन् ।

संविधानमा न्यायपरिषद सदस्यलाई फिर्ता बोलाउने बारे प्रष्ट प्रावधान नरहे पनि बारको बैठकले सिफारिस गरेका व्यक्तिलाई बारकै बैठकबाट फिर्ता बोलाउने निर्णय गरेपछि नैतिक रुपमा पदमा बस्न नमिल्ने एकजना बरिष्ठ अधिवक्ताले बताए ।

यसअघि न्यायाधीश नियुक्ति विवादकै सन्दर्भमा बारले आफ्नो प्रतिनिधि उपेन्द्रकेशरी न्यौपानेलाई छलफलका लागि पत्र काटेपछि उनले राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment