Comments Add Comment

पोखरामा सडकका सालिक ढालिए, शहीद पार्क कहिले ?

२७ बैशाख, पोखरा । पोखरा महानगरपालिकाका चोकहरुमा विभिन्न व्यत्तित्वका सालिक छन् । ती कुनै शहीदका छन् भने कुनै अन्य व्यक्तित्वका । प्राय चोकहरु सालिक रहेकै व्यक्तिको नामबाट परिचित छन् ।

महानगरले सडकको आकार बढाउनुपर्ने भन्दै ती सालिकले ओगटेका ‘आइल्यान्ड’ धमाधम भत्काउन सुरु गर्‍यो । आइल्यान्ड भत्काउँदा जनस्तरबाट धेरै विरोध पनि आए । महानगरले सबैलाई ‘अर्को ठाउँमा शहीद पार्क बनाउँछौं र त्यहीं सबै सालिक पुनर्स्थापना गर्छौं’ भनेपछि सहमति भएको थियो ।

पोखरा पृथ्वीचोकमा रहेको शहीद लखन थापाको सालिक भत्काउँदा मगर समुदाय महानगरमाथि खनिएका थिए । उनीहरुको आरोप थियो, ‘शहीदको सम्मान गर्नुपर्ने ठाउँमा उल्टै हटाइयो । मगर समुदायलाई मात्रै तारोमा पारिएको छ ।’

आन्दोलित मगर समुदायलाई महानगरले पछि शहीद पार्क बनाउने र त्यतै सालिक सार्ने बताएपछि विवाद मिल्यो । महानगरले पछि सालिक सार्ने गरी त्यहाँ लखनको सालिक पुन राख्यो ।

महानगरले पोखरा जिरो किलोमिटरमा रहेको योगेन्द्रमान शेरचन, अमरसिंह चोक, विरौटा चोक, हरि चोक, पृथ्वीचोक मुस्ताङ चोकको आइल्यान्ड भत्काइसकेको छ ।

धमाधम आइल्यान्ड भत्काएर सडक फराकिलो बनाएको महानगरको योजना थियो – सडकको मापदण्ड ओगटेर बनेका सालिकलाई पोखरा १८ सराङकोट, जामुनबोटमा शहीद पार्क बनाउने र सबैलाई त्यहीँ राख्ने । जामुनबोटमा अहिले ५६ रोपनी क्षेत्रफलमा पार्क बनाउन ‘प्रारम्भिक चरण’ को काम सुरु गरेको महानगरले बताएको छ ।

‘अहिले पार्कका लागि प्रारम्भिक काम गरिरहेका छौं । ठाउँ सम्याउने, भ्यू टावर राख्ने ठाउँ बनाउने, योगास्थान बनाउने, फुटट्र्याक बनाउने लगायतका काम गरिरहेका छौं,’ महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले भने, ‘प्रारम्भिक चरणको काम यही आर्थिक वर्षमा सक्ने योजना बनाएका छौं ।’

महानगरले पार्क बनाउन चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रारम्भिक चरणकोे काम सक्न करिब ४५ लाख लाग्ने महानगरको भनाइ छ । ‘महानगरले पहिलो चरणको काम आफैं काम गरिरहेको छ । पार्कको विस्तृत डीपीआर बनिसकेको छैन,’ सूचना अधिकारी सुवेदीले भने । डीपीआर तयारी भइसकेपछि पार्क २ वर्षमा बनाइसक्ने महानगरको योजना छ ।

पार्कमा पोखरा तथा आसपासका क्षेत्र दृश्यावलोकन गर्न ४० फिट अग्लो भ्यू टावर पनि बनाइने महानगर मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले सुनाए । ‘पार्क घुम्न आएका पर्यटकले हिमालदेखि तालतैलयासम्म एकै नजरमा हेर्न पाउँछन्,’ उनले भने, ‘कम्तीमा ६ महिनाभित्र पार्कमा पर्यटक आउने वातारण बनाउने भनेर काम अघि सारेका छौं ।’

भ्यू टावर राख्न महानगरले निजी कम्पनीसँग साझेदारी गर्ने बताएको छ । टावरको छेउमा पृथ्वीनाराण शाहको सालिक राख्ने र त्यसपछि सँगसँगै अन्य शहीद तथा राष्ट्रिय विभूतिको सालिक राख्ने महानगरको योजना छ ।

पार्कमा करिब २० वटा शहीद तथा राष्ट्रिय विभूतिको सालिक राख्ने योजना बनाइरहेको स्वकीय सचिव तिमिल्सिनाले जानकारी दिए । ‘यही आर्थिक वर्षमा ३ वटा नभए कम्तीमा एउटा सालिक राख्ने गरी काम अघि बढिरहेको छ । अर्को आर्थिक वर्षदेखि सडकका बीचमा रहेका सबै सालिक पार्कमा व्यवस्थापन गरिसक्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment