
२९ वैशाख, बुटवल । पूर्वसभामुख ओनसरी घर्तीले कुनै पनि पार्टीको एकलौटी निर्णयले प्रदेशको राजधानी घोषणा नहुने ठोकुवा गरेकी छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ अध्यक्षसमेत रहेकी उनले प्रदेशको राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पारिन् ।
उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामाकरणको टुंगो लगाउने बताइन् ।
आइतबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै घर्तीले प्रदेश सभाका सदस्यहरुले जनताको राय लिएर मात्रै राजधानीको टुंगो लगाउने धारणा राखिन् ।
मुलुक नयाँ संरचनाको अभ्यासमा रहेकाले प्रदेश राजधानीको टुंगो लाग्न समय लागेको उनको भनाइ छ ।
घर्तीले नेपालको साधनस्रोतमा नेपाली जनतालाई मालिक बनाउने प्रयास स्वरुप सरकारले नीति कार्यक्रम सार्वजनिक गरेको बताइन् । ‘शिक्षा, स्वास्थ्य, रोजगारी पर्यटनलगायतका क्षेत्र समेटेका छौ, प्रतिपक्ष दलको हैसियतले आलोचना गर्नु स्वभाविक हो,’ उनले भनिन् ।
विगतमा लामो समयसम्म वेथिती अनियमिता भएकाले अहिले सरकारले त्यसको सुधारका लागि योजनावद्ध ढंगले काम गरिहरेको स्पष्ट पारिन् ।
बिपक्षीका कारण दिनप्रतिदिन सरकारको आलोचना बढेको भन्दै उनले तत्काल सरकारको नेतृत्व फेरबदल नहुने समेत प्रष्ट पारिन् ।
सरकारले ल्याएको मिडिया बिधेयकबारे पत्रकारले राखेको जिज्ञासामा उनले मिडियामाथि अंकुश लगाउने सरकारको नियत नभएको धारणा राखिन् । उनले पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने भन्दै बिधेयकमा त्रुटि भए सच्चाएर जान सकिने बताइन् ।
अर्काे प्रशंगमा अध्यक्ष घर्तीले निर्मला पन्तको हत्या प्रकरणमा सरकारले दोषि पत्ता लगाउन तत्काल तत्परता देखाउन नसकेको बताइन् । घटनालाई सरकारले सामान्य ढंगले हेरेकैले समस्या निम्तिएको उनको भनाइ छ ।
प्रतिक्रिया 4