Comments Add Comment

अर्थमन्त्रीलाई कांग्रेस नेताको सुझाव : बजेट बनाउँदा राजनीतिक पूर्वाग्रहबाट माथि उठ्नुस्

२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक पूर्वाग्रहदेखि माथि उठेर बजेट बनाउन अर्थमन्त्री डा. युवराज खतिवडालाई सुझाव दिएका छन् ।

बजेटका सिद्धान्त र प्राथमिकतामाथि आइतबार संसदमा धारणा राख्दै उनले मुलुकको अर्थतन्त्रको चाबी बोकेको अर्थमन्त्री राजनीतिक पूर्वाग्रहबाट माथि उठ्न नसकेमा अर्थतन्त्रले सही बाटो लिन नसक्ने टिप्पणी गरे । सरकारले अन्धाधुन्ध कनिका छरेझैं बजेट छरेर भोटको राजनीति गर्न खोजेको भन्दै नेता कार्कीले यसप्रति सचेत हुन आग्रह गरे ।

बजेट सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रको चुनौती भन्दा पनि गत वर्षका सामान्य उपलब्धीको बढाई चढाईमात्र गरिएको उनको दावी छ । पूर्वमन्त्री कार्कीले बजेट खर्च हुन नसक्ने कार्यक्रममा बजेट विनियोजन गर्ने गत वर्षको चलन यसवर्ष नदोहोर्‍याउन पनि सुझाव दिए ।

‘चालु आर्थिक वर्षको अन्त्यसम्म ब्यापार घाटा १४ खर्ब ३० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । बजेट हाराहारीको ब्यापार घाटा हुनु समग्र अर्थतन्त्रको लागि ठूलो चुनौती हो’ उनले भने ‘अहिलेसम्म रेमिट्यान्सले यो खाडललाई पूर्ति गरेको छ । तर यो दिगो र स्थायी समाधान होइन । यसमा समस्या आयो भने हाम्रो अर्थतन्त्र कता जाला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment