Comments Add Comment

एथलेटिको मड्रिड छाड्ने ग्रिजम्यानको घोषणा

१ जेठ, काठमाडौं । विश्व विजेता फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यानले एथलेटिको मड्रिड  क्लब छाड्ने घोषणा गरेका छन् । यो सिजनको अन्त्यसँगै एथलेटिको मड्रिड छाड्ने उनले घोषणा गरेका हुन् ।

ला लागिअन्तर्गत आगामी शनिबार लेभान्टेसँगको खेलपछि उनले स्पेनिस क्लब एथलेटिको मड्रिड छाड्ने बीबीसीले लेखेको छ ।

२८ वर्षीय ग्रिजम्यानले ट्वीटरमा एक भिडियो पोष्ट गर्दै भनेका छन्, ‘मलाई धेरै माया दिएका दर्शकहरुलाई यो जानकारी दिन चाहान्छु कि अहिले म यो क्लब छाड्न लागेको छु । अरु कुरा हेर्न र अरु चुनौती लिन ।’
उनले थप भनेका छन्, ‘सत्य यो हो कि यो निर्णय लिन गाह्रो थियो । तर यो त्यही निर्णय हो जुन मलाई सही लाग्यो र मलाई आवश्यक थियो । यी वर्षको अवधिमा मलाई तपाईंहरुले जुन माया दिनुभयो त्यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु ।’

ग्रिजम्यान रियल सोसिडाडबाट सन् २०१४ मा एथ्लेटिको मड्रिडमा आएका थिए । यो पाँच वर्षको अवधिमा उनले अहिलेसम्म एथ्लेटिको मड्रिडका लागि २५६ खेल खेलेका छन् र १३३ गोल गरेका छन् । उनी पछिल्ला पाँच सिजनमा क्लबका सर्वाधिक गोलकर्ता हुन् । उनले युरोपा लिग, स्पेनिस सुपर कप र युइएफए सुपरकप पनि जिताएका छन् ।

पाँच वर्ष एथलेटिको मड्रिडमा बिताएपछि गत वर्ष जुन महिनामा उनले फेरि सम्झौता नवीकरण गरेका थिए । तर, उनले बीचमै क्लब छाड्ने घोषणा गरेपछि उनको अन्तर्राष्ट्रिय फुटबल जगतमा चर्चा भइरहेको छ ।

ग्रिजम्यान एथलेटिको मड्रिडबाट बार्सिलोनामा जान सक्ने चर्चा छ । गत वर्ष नै बार्सिलोनाले उनलाई भित्राउन खोजेको थियो । तर, त्यतिबेला उनले अस्वीकार गरेका थिए । उनलाई भित्राउन चाहने क्लबले एथलेटिको मड्रिडलाई कम्तिमा १२० मिलियन युरो तिर्नुपर्ने बीबीसीले लेखेको छ ।

यो समर सिजनमा एथलेटिको मड्रिड छाड्न लागेका ग्रिजम्यान तेस्रो हाईप्रोफाइल खेलाडी हुन् । यसअघि डिफेन्डर लुकास हर्नान्डेजले वायर्न म्युनिख जान सहमति जनाएका थिए । साथै लामो समयको सेवापछि कप्तान डिएगो गोडिनले पनि एथलेटिको मड्रिड छाड्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment