Comments Add Comment

तिलगंगा गुह्येश्वरी सडक बन्द गराउन सुरक्षा माग

१ जेठ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगंगाबाट गुह्येश्वरी निस्कने सडक बन्द गर्न अवरोध भएको भन्दै सुरक्षा माग गरेको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले सडक बन्द गराउन पर्खाल लगाउने काम गरिरहेका ठेकेदारको काममा अवरोध भएको बताए ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले ७ वर्षअघि नै यो सडकमा सवारी आवागमन नरोकिएमा विश्वसम्पदा सूचीबाट हटाउने चेतावनी दिएको र सर्वोच्च अदालतले पनि युनेस्कोको मापदण्ड विपरीत बनेका संरचना हटाउन आदेश दिएको भन्दै पशुपति क्षेत्र विकास कोषले तिलगंगा ताम्रगंगा सडक सधैंका लागि बन्द गरेको छ । यसको विरोधमा स्थानीयले ठेकेदारको काममा अवरोध गरेपछि कोषले सुरक्षा माग गरेको हो ।

२०६४ सालमा तिलगंगाबाट गुह्येश्वरीसम्मको जंगलमा खोलिएको ६ सय ७५ मिटर लामो कच्ची सडक बन्द गर्न पर्खाल लगाउने गरी विकास कोषले ठेक्का लगाइसकेको छ । तर आवाजावतमा समस्या हुने भन्दै स्थानीय जनप्रतिनिधिले मंगलबार ठेकदारलाई काम गर्नबाट रोक्ने प्रयास गरेका थिए ।

यो सडकबाट दैनिक ट्रक, टिपर र पानी बोक्ने ट्यांकसहितका सवारी गुड्ने गरेका थिए । बालुवायुक्त सडकमा भारी सवारी गुड्दा यसले पशुपति क्षेत्रका सम्पदामा क्षतिको जोखिम बढाएको थियो ।

यही सडकमा कारण श्लेष्मान्तकमा भूक्षय बढेको निश्कर्ष विज्ञहरुले नै निकालेका थिए । यस्तो भूक्षयले विश्वरुपा मन्दिर नै चर्किन थालेको छ । यही भूक्षय रोक्ने भन्दै माथिबाट कुलो खन्न खोजिएको थियो ।

प्राचीन स्मारक संरक्षण ऐन र अदालतको आदेश विपरीत सञ्चालनमा रहेको सडकलाई बन्द गरिएको र सो कार्यमा थप अवरोध नहोस भन्नका लागि सम्बन्धित निकायमा अवगत गराएको सदस्य–सचिव ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment