Comments Add Comment

अस्पतालको चरम लापरबाही, शल्यक्रियापछि १०० सिकिस्त

सार्वजनिक जग्गा दुरुपयोग, वैदेशिक रोजगार, नेकपाको एकताको विषयमा आजका दैनिक पत्रिकाहरु केन्द्रित भएका छन् । त्यस्तै, त्रिवि सेवा आयोग परीक्षा अनियमितता, प्रदेश २ को सञ्चार विधेयक, एसिड आक्रमणलाई पनि पत्रिकाहरुले प्राथमिकताका साथ कभरेज गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षाको अनियमितता आज कान्तिपुरले केलाएको छ । कान्तिपुरका अनुसार, छोरी परीक्षार्थी रहेको परीक्षामा बाबु परीक्षक रहेको पाइएको छ । त्रिवि सेवा आयोगका प्रशासकीय प्रमुख परशुराम कोइरालाले परीक्षक बनेर छोरी नमितालाई अधिकृतको लिखित परीक्षा उत्तीर्ण गराएका हुन् । त्रिवि सेवा आयोग अध्यक्ष चैतन्य शर्माले भतिजी पार्वती सापकोटालाई उत्तीर्ण गराएका छन् ।

त्रिभुवन विश्वविद्यालयले गत वैशाख १४ गते उपप्रशासकदेखि सवारीचालक तहसम्मका विभिन्न पदमा लिखित परीक्षा सञ्चालन गरेको थियो । लिखित परीक्षाको पारदर्शितामाथि प्रश्न उठिरहेका बेला त्रिवि सेवा आयोगका पदेन सदस्यसमेत रहेका लोकसेवा आयोग सदस्य व्रह्मदेव रायले परीक्षा प्रक्रियामा सामेल हुन नसक्ने भन्दै असन्तुष्टि जनाएका छन् । परीक्षा प्रक्रिया स्वच्छ र मर्यादित नभएको भन्दै रायले आपत्ति जनाएपछि शाखा अधिकृतको परीक्षा प्रक्रिया अवरुद्ध बनेको छ ।

विराट नर्सिङ होम विराटनगरले शल्यक्रिया गरेका १०० बिरामी सिकिस्त बनेको तथ्य कान्तिपुरले उधिनेको छ । असोजयता पित्तथैली, एपेन्डिसाइटिस र पाठेघरका शल्यक्रिया गराएका बिरामीहरू संक्रिमत बनेका हुन् ।

दूरविनबाट गरिएको शल्यक्रियापछि रोग निको हुनुको साटो बल्झिएपछि सय जना उपचारका लागि पुनः धाइरहेको कान्तिपुर समाचारमा उल्लेख छ ।

पछिल्लो समय दूरविनबाट गरिएका शल्यक्रियामा एटिपिकल माइक्रो व्याक्टेरिया इन्फेक्सन देखापरेको शल्यक्रिया गर्ने चिकित्सक डा. सावुले स्वीकारे ।

दिल्लीमा नेपाली महिला सामूहिक बलात्कारमा परेको खबर पनि कान्तिपुरमा छ । भारतको राजधानी नयाँदिल्ली हिँडेकी २२ वर्षीया नेपाली महिला सामूहिक बलात्कारमा परेकी हुन् । दिल्लीको द्वारकामा चारजनाले उनीमाथि सामूहिक बलात्कार गरेको कान्तिपुर समाचारमा उल्लेख छ ।

वर्षमा सवा लाख मजदुर जाने मलेसिया १ वर्षदेखि ठप्प भएको भन्दै नयाँ पत्रिकाले चिन्ता व्यक्त गरेको छ । मजदुरको ५ अर्ब ठग्नेहरु अदालतबाट १० लाखमा धरौटीमा छुटे पनि निर्दोष मजदुरको भने रोजगारी खोसिएको नयाँ पत्रिका समाचारको सार छ ।

एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको नयाँ पत्रिकाले लेखेको छ । नेपाल ल क्याम्पसमा बीएएलएलबी पाँचौं वर्षमा अध्ययनरत एक विद्यार्थीका लागि परीक्षा सार्न कलेजले विश्वविद्यालयलाई पत्राचार गरेको हो ।

नेकपाका २२ जनसंगठनले नेतृत्व पाएकोदेखि केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवतीको उद्धारसम्मका खबर नयाँ पत्रिकाको पहिलो पृष्ठमा छ ।

नागरिकले जुम्लाको ५९० रोपनी सरकारी जग्गा मालपोत अधिकृतले परिवारको नाममा दर्ता गराएकोलाई मुख्य समाचार बनाएको छ । जसबारे अनलाइनखबरले बिहीबार नै समाचार प्रकाशित गरेको थियो ।

अन्नपूर्णले नेकपा एकताको १ वर्षको अवसरमा यसबारे समीक्षा गरेको छ भने अदालत–भूमाफियाको कनेक्सनले झापाको पाँच बिघा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको खबर राजधानीमा छ ।

सरकारी मुखपत्र गोरखापत्रले नेकपाको जनवर्गीय संगठनमा बनेको सहमतिलाई मुख्य समाचार बनाएको छ । विश्वविद्यालयको जागिर छाडेर गाउँको विद्यालयमा सेवा गर्न फर्केका एक शिक्षकको प्रेरणादायी कथा पनि गोरखापत्रमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment