Comments Add Comment

भारतीय टोलीद्वारा बाँकेको प्रहरी चौकीमा आक्रमण प्रयास, ६५ राउन्ड हवाई फायर

प्रदेश सांसदलाई चार घण्टा घेराउ

Photo Credit : नरैनापुर-५ स्थित भगवानपुर इलाका प्रहरी कार्यालय । तस्वीर: रेडियो सदभाव

४ जेठ, बाँके । प्रहरीले चरेस ओसारपसारको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेपछि बाँकेको नरैनापुर क्षेत्र शुक्रबार रातभर तनावग्रस्त भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ६५ राउण्ड हवाई फायर गर्नु परेको छ ।

पाँच किलो चरेसहित पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाव दिँदै एक समूहले नरैनापुर गाउँपालिका ५ स्थित भगवानपुर प्रहरी चौकी घेराउ गरेको थियो । सो समूहले प्रदेश सांसद कृष्णा केसी ‘नमूना’सहितको टोलीमाथि पनि आक्रमण प्रयास गरेको थियो ।

डिएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीले साँझ पाँच बजेतिर भारतीय नागरिक देवीविन विश्वकर्मालाई सीमा क्षेत्र नरैनापुरबाट चरेससहित पक्राउ गरेर ल्याएको थियो । त्यसको विरोधमा भारतीय नागरिकहरुको ठूलो समूह चौकी घेर्न आएको थियो ।

चौकी घेराउसँगै तोडफोड र ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ६५ राउण्ड हवाई फायर गर्नुपरेको बाँके प्रहरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । प्रहरीले हवाई फायर गरेपछि सो समूह तितरवितर भएको थियो । प्रहरी नायब उपरीक्षक सापकोटाका अनुसार शुक्रबार राति १२ बजेदेखि स्थिति नियन्त्रणमा आएको छ । यद्यपि थप घटना हुन सक्ने आशंकामा उच्च सतर्कता अपनाइएको छ ।

विश्वकर्मालाई नियन्त्रणमा लिएपछि मुचुल्का उठाउन गएको प्रहरी टोलीलाई भारतीय युवाको समूहले घेरा हालेको थियो । सो समूहले इलाका प्रहरी कार्यालय भगवानपुरको एउटा गाडी र मोटरसाइकल तोडफोड समेत गर्‍यो । त्यहाँ प्रहरीको उपस्थिति कमजोर देखेपछि थप युवाको समूह बढ्दै गएर चौकी नै घेराउ गर्न आएको थियो । स्थिति गम्भीर बन्दै गएपछि नेपालगञ्जबाट सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीसमेत नरैनापुर प्रहरी चौकीलाई साथ दिन पुगेका थिए ।

गत साता भारतीय समूहले एक तस्करलाई नरैनापुर चौकीबाटै छुटाएर लगेका थिए । ‘शुक्रबार पनि त्यस्तै गर्ने उद्देश्यले आएका थिए, तर उनीहरुको प्रयासलाई सफल हुन दिएनौं,’ सापकोटाले भने ।

आफ्नो निर्वाचन क्षेत्रमा गएको बेला प्रदेश सांसद कृष्णा केसीको टोलीलाई समेत भारतीयको समूहले चार घण्टासम्म घेरा हालेर राखेको थियो । उनको गाडीमा आगजनीको प्रयाससमेत भएको थियो । तर, सशस्त्र प्रहरीको सहयोगमा प्रहरीले कडा सुरक्षा दिएर सांसद केसीसहितको टोलीलाई उद्धार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment